युरोपको गरिब देशहरूमा पर्ने युक्रेनमा अरुको “कोख” भाडामा लिएर आफ्नो बच्चा जन्माउन चाहने मान्छेहरूको घूईंचो छ । धेरै पैसा पाइने कारण त्यहाँका धेरै युवती कोख बेच्ने काममा आकर्षित भइरहेका छन् । तर उनीहरू शोषणमा पर्न सक्ने संभावना पनि छ ।
(परिवर्तित नाम) अना १८ वर्षकी हुँदा एउटा टेलिभिजनमा प्रशारण भाएको समाचारबाट कोख किनबेच (सरोगेसी) बारे थाहा पाईन् ।
अनाले विद्यालयको माध्यमिक तह सकिने बित्तिकै एउटा सानो पर्यटकीय शहरको होटलमा काम गर्ने योजना बनाएकी थिईन् । त्यहाँ पुराना महलहरू र दरबारहरू हेर्ने पर्यटकहरू आउँथे । उनले थाहा पाईन् होटलमा काम गर्दा महिनाको २०० डलर कमाउन सकिन्थ्यो भने अरुको बच्चा आफ्नो गर्भमा राखिदिए बापत २० हजार डलरसम्म पाउन सकिन्छ ।
स्थानीय जीवनस्तरसँग दाँज्दा अनाको परिवारलाई गरिब भन्न मिल्दैन । उनकी आमा लेखा अधिकृत हुन् र उनलाई भरथेग गर्छिन् । तर अनालाई धेरै पैसा चाहिएको थियो । त्यसैले उनलाई कोख भाडामा दिने काममा रुचि हुन थाल्यो । अनाको सपना महंगो घर, गाडी र भौतिक सुविधाका सरसामानहरू किन्नु थियो ।
युक्रेनमा सयौं महिलाले कोख भाडामा दिएर कमाउने गरेका भएपनि यो विषयमा खुलेर कुरा गर्दैनन् ।
सन् २०१५ देखि यो देशमा सरोगेसी सेवा लिने विदेशी जोडीहरूको ओहिरो लाग्न थालेको छ। यसै समयमा एसियाका केही देशहरूमा यो उद्योगले शोषण गरेको समाचार र प्रतिवेदनहरू आइरहेका थिए । यो सेवा भारत, नेपाल र थाईल्याण्डमा प्रतिवन्ध गरिएको थियो ।
युक्रेनमा संयुक्त राज्य अमेरिकामा भन्दा ज्यादै कम खर्चमा सरोगेसी सेवा लिन सकिन्छ ।
‘हाम्रो देशमा सन्तान नभएका धेरै जोडीहरू आउँछन् । यो ढुवानी केन्द्र जस्तो भएको छ,’ अना भन्छिन् ।
केही वर्ष होटलमा जागिर खाएपछि २१ वर्षको उमेरमा अनाले ‘कोख बेचेर’ आमा बन्ने निधो गरिन् । युक्रेनको कानूनले एउटा बच्चको आमा भइसकेकालाई मात्र यो काम गर्ने अनुमति दिएको छ ।
अनाको एउटी छोरी थिईन् । उनले सरोगेसीको काम गर्न वेबसाइटमा धेरै विज्ञापनहरू हेरिन्, स्वास्थ परीक्षण गराईन् र स्लोभेनीयाका सन्तान नभएका जोडीको लागि आफ्नो कोख भाडामा दिएर त्यो जोडीको भ्रूण आफ्नो पाठेघरमा प्रत्यारोपण गर्न तयार भईन् र एउटा सम्झौता पत्रमा हस्ताक्षर गरिन् ।
गर्भधारण गरेपछिको उनको यात्रा सहज भएन किनभने उनले उचित सेवा र परामर्श त्यहाँका स्वास्थ्य संस्थाहरूबाट पाउन सकिनन् । तैपनि उनले सकुशल एक स्वस्थ शिशुलाई जन्म दिईन् ।
‘युक्रेनमा सरोगेसीको माग विगत दुई वर्षमा झण्डै एक हजार प्रतिशतले बढेको छ,’ साम एभरिङ्गम भन्छन् । उनी सिड्नीस्थित एउटा परोपकारी संस्थामा आवद्ध छन् । सो संस्थाले बाबुआमा बन्न गइरहेकाहरूलाई सल्लाह र सुझाव दिन्छ ।
युक्रेनमा सरोगेसीले कानूनी मान्यता पाएको छ । यहाँ महिलाले आफ्नो कोखको मूल्य आफै निर्धारण गर्न सक्छिन् ।
साभारः–बिबिसी
Comment Here!