ह्वीलचेयरको सहाराले पसल संचालन


प्रकाशित मिति :2018-02-25 13:12:31

–अमर सुनार–

दैलेख । दैलेखको नारायण नगरपालिका–६ बिजौराकी कविता थापा गाई भैसीको लागि रुखबाट घाँस झार्दा लडेर घाइते बनिन् । घाइते कवितालाई माया र सहारा दिनुको साटो श्रीमान हस्तबहादुर थापाले सौता भित्राए । औषधी उपचार समेत गरेनन् । उनलाई शरीरको चोट भन्दा श्रीमानले दिएको चोट सहन गाह्रो परेको थियो । दश बर्ष अघि श्रीमानले दिएको चोट सम्झिदा अहिले पनि भक्कानिन्छ उनको मन ।

कविता भन्छिन्, ‘श्रीमानले त्यस्तो अवस्थामा साथ छाडे पनि मावलीको माया र सहयोगले अगाडि बढेकी छु ।’ रुखबाट लडेपछि उनी ह्वीलचीयरको सहायताले भित्र बाहिर गर्छिन् । शरीर अशक्त्त भए पनि उनमा काम गर्ने जोस र हिम्मत हुँदा किनारा पसल सहित नास्ता पसल पनि सञ्चालन गरेकी छन् उनले ।

उनको यो कामलाई छोरी बविताले पनि साथ दिएकी छन् । पसल गरेरै छोरी पनि पढाएको कविताले बताइन् । १९ वर्षीया बविताले २९ महिने कृषि तथा भेटेनरी जेटीए कोर्ष पूरा गरी घरमा आमालाई सघाउँदै आएकी छन् ।

अपांगता भएपछि सौता भित्र्याएका श्रीमानले छाडे पनि छोरी बविता एक मात्र सहारा बनिरहेकी छन् उनको ।

त्यसो त कविताको बाल्यकाल पनि सुखद थिएन । ६ महिनाको हुँदा बुबा बितेपछि ५ वर्ष हुँदा आमा अर्कैसँग विवाह गरेर गइन् । उनी भन्छिन्, ‘मामाघरमै हुर्किए, विवाह पनि मावलीबाटै भयो ।’

विवाहको केही समय खुसीसँगै बिते । रुखबाट लडेर काम गर्न नसक्ने भएपछि श्रीमानले पनि छाडे । लडेर घाइते भई अस्पतालमा भर्ना के कस्तो छ भनेर बुझ्न समेत श्रीमान आएनन् । कविताले विगत सम्झिदै भनिन्, ‘जीवन भर साथ दिने वाचा गरेको मान्छेबाटै यस्तो व्यवहार खेप्नुपर्दा दुख लाग्दो रहेछ ।’

रुखबाट लडेपछि २ वर्षसम्म बिस्तराबाट उठन समेत नसक्ने भएकी उनी ६ महिना लामो अस्पतालको उपचारपछि ह्वीलचीयरमा बस्न सक्ने भइन् । त्यसपछि मावलीे घरमा बस्दै आएकी उनले मावलीले बनाइदिएको दुइ कोठे घरको एउटा कोठामा किराना र नास्ता चलाइरहेकी छन् । आमाछोरी सुत्ने कोठा अर्को छ । बस्ने ठाँउ थोरै भए पनि जेनतेन जीवन निर्वाह गर्न समस्या छैन उनलाई ।

‘मावलीले औषधीपोचार र बस्ने व्यवस्था नगरिदिएको भए ठूलै दुख झेल्थ्यौं होला । मावली भगवान भइदिए मेरो लागि’ उनले भनिन् ।

२१ वर्षको उमेरमा ९ कक्षा पढ्दापढ्दै विवाह गरेकी कविताका श्रीमान कान्छि श्रीमतीसँग सुर्खेतमा बस्दै आएका छन् । श्रीमानले आफू र छोरीलाई कुनै वास्ता नगरेको उनले बताइन् ।

शारीरिक अपांगताका बाबजुद पनि दुख कष्ट झेलेर कविताले छोरीलाई भेटनरी पास गराएकी छन् । भन्छिन्, छोरीको भविष्य राम्रो हुँदा मेरा पनि सुखका दिन आउने आसा गरेकी छु ।’

एभरेष्ट युवा क्लवले गरिबी निवारण कोष मार्फत संचालन गरेको कार्यक्रमबाट ४५ हजार ऋण लिएर सानो पसललाई ठूलो बनाएकी उनले पसलबाटै आएको आम्दानीले आमा छोरीको जीवन चलिरहेको बताइन् ।

कविता भन्छिन्, ‘हिम्मत हारेको भए जीवन कष्टकर हुन्थ्यो । दुख गरेर केही गर्छु भन्ने आँट बटुले । पसल गरे । छोरी पढाए । आँखिर अपांगता भएका व्यक्तिले पनि गर्न नसक्ने केही रहेनछ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: