–महिला खबर–
बझाङ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका वडा नं ३ की कौशिल्या उपाध्याय श्रीमानले घर निकाला गरे बिचल्लीमा परेकी छन् ।
श्रीमान मदनराज उपाध्यायले दुई छोरालाई आफैसँग राखेर कौशिलालाई घरबाट निकालेका हुन् । उनका जेठा छोरा कक्षा १० मा र कान्छा कक्षा ४ मा पढ्छन् ।
श्रीमानले पटक–पटक शारीरिक र मानसिक यातना दिदै आएका कारण ज्यान जोगाउन आफूले श्रीमान बिरुद्ध प्रहरीमा जाहेरी दिए पछि घर निकाला हुनुपरेको कौशिल्याले महिला खबरलाई बताइन् ।
प्रहरीमा जाहेरी पछि कुटपिट नगर्ने भनि श्रीमानले प्रहरी सामु माफि मागेका कारण जाहेरी फिर्ता लिएर मेलमिलाप गरेकी उनले घर फर्के लगत्तै यातनाको श्रृंखला फेरि सुरु भएको बताइन् । ‘प्रहरीको अगाडि माफी माग्ने । तर घरमा पुग्नासाथ कुटपिट र गाली बेइजती गर्न सुरु गर्ने ।’
श्रीमानले गत वर्ष अर्की श्रीमती ल्याएर आफूलाई घरबाट निकालेपछि माइती पुगेकी उनलाई दाजुले पनि घरमा बस्न नदिएपछि अहिले आफन्तकोमा बसिरहेको उनले बताइन् ।
कौशिल्याले अंश सहित सम्बन्ध बिच्छेद गरि पाउँ भनि जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन् । उनले १० महिना अगाडि दर्ता गराएको यो मुद्दा अदालतमा चलिरहेको छ ।
श्रीमानले छोरा समेत खोसेर एक्लै छोडे पछि उनी न्यायका लागि भौतारिरहेकी छन् । मुद्दाको स्थिति बुझ्नका लागि दैनिक अदालत धाउने गरेकी उनले भनिन्, ‘मुद्दाको टुंगो कहिले लाग्छ थाहा छैन । छिटो भइदिएको भए जीवन गुजारा गर्न सहज हुन्थ्यो ।’
Comment Here!