–महिला खबर–
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले न्याय र मानवअधिकारको सवालमा महिलाले इज्यत, मानप्रतिष्ठका नाममा सधै कम्प्रोमाइज गरिरहनुपरेको बताएकी छन् । महिलाका अधिकार र समस्या कागजी रुपमा सम्बोधन भए पनि व्यवहारमा लागू नभएको भन्दै उनले महिलालाई हेर्ने सोच बदल्न जरुरी रहेको बताइन् ।
महिला शक्ति विकास केन्द्रको १० औं बार्षिकउत्सवलाई आइतबार काठमाडौंमा सम्बोधन गदै उनले पितृसत्तात्मक सोचकै कारण महिला जति सक्षम भए पनि राज्यको महत्वपूर्ण स्थानमा नेतृत्व गर्ने अवसर नपाएको बताइन् । ‘महिलालाई घरको सुरक्षा गर्न दिइन्छ भने राज्यको सुरक्षा गर्न किन दिइदैन ? समस्या सोचमा छ, यसलाई बदल्न जरुरी छ ।’
अर्थ, गृह, स्थानीय विकास, परराष्ट्र, सुरक्षा जस्ता मन्त्रालय महिलालाई विरलै मात्र दिने गरेको भन्दै उनले महिलाको समस्या अब दस्तावेजमा नभएर मानसिकतामा रहेको उल्लेख गरिन् ।
सो अवसरमा केन्द्रकी संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक कविता गुरुङले हालसम्म संस्थाले ४५ हजार भन्दा बढी महिलालाई सशक्तिकरण तालिम दिएको जानकारी दिइन् ।
आफ्ना सदस्य मध्ये १२५ जना स्थानीय तहको विभिन्न पदमा आउन सफल भएको समेत उनले बताइन् । महिलालाई राजनीतिक र सामाजिक रुपमा मात्र नभएर आर्थिक रुपमा पनि सशक्त बनाउन जरुरी रहेको भन्दै केन्द्रले बीउ पु“जीका रुपमा ३ करोड तथा सदस्यहरूले करिब ३ करोड रुपैया जम्मा गरि आयआर्जनमा परिचालन गरिएको समेत उनले जानकारी दिइन् ।
सो अवसरमा संस्थाका सस्थापक समेत रहेकी प्रमुख अतिथि मोहना अन्सारी, पूर्व सचिव अप्सरा चापागाई, निर्वतमान अध्यक्ष सरस्वती श्रेष्ठ र निवर्तमान सचिव कविता महर्जनलाई अध्यक्ष रेविका जोशीले दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
Comment Here!