–उमा पौडेल–
सिन्धुली । गोरो, हँसिलो अनुहार, मिजासिलो स्वभाव । ५४ वर्षकी पुर्नीमाया लामा सिन्धुलीको मरिण गाउँपालिका ६, की जेष्ठ महिला सदस्य । फरासिली पुर्नीमायासँग कुराकानी थालेपछि घन्टौं बितेको पत्तो हुन्न ।
स्थानीय तह निर्वाचनमा चुनाब जितेपछि त उहाँसँग नजिक हुने र कुरा गर्नेहरुको लर्को नै लाग्न थालेको छ । निर्वाचित भएपछि उनलाई एक दर्जन बढी कार्यक्रममा सहभागि हुने मौका मिलिसक्यो । वडा सदस्य जितेपछिको १० महिनामा ५३ वर्षसम्म सिक्न नसकेको धेरै कुरा जानेको अनुभव लामासँग छ ।
मान्छेको अगाडि नडराई बोल्नुपर्छ भन्ने सुनेकी उनले नडराएर बोल्न जानेको ५ महिना जति मात्रै भयो । ‘जनप्रतिनिधी भनेर धेरै कार्यक्रममा बोलाउनुहुन्छ । जनताको नेता भनेर चुनिएपछि आफै निष्कृय भए अब मेरो ठाउँको महिलाको सवालमा कसले बोल्छ ?’ आफू निडर हुनुको कारण खोलिन् । लामा थप्छिन्, ‘यो उमेरमा आएर धेरै काम गर्ने जाँगर पलाएको छ ।’
उनले पढ्न चाहि साउँ अक्षर मात्रै जानेकी छिन् । बल्ल–बल्ल आफ्नो नाम लेख्न सक्छिन् । पढ्न नजानेकाले उनलाई बेला–बेलामा पढ्न जाउँ–जाउँ हुन थालेको छ ।
सीता बराईलीको आँट पनि पुर्नीमायाको भन्दा कम छैन । श्रीमानको निकै सहयोग र उत्प्रेरणापछि उम्मेदवार बनेकी उनी मरिण गाउँपालिका ३ की वडा सदस्य चुनिइन् । त्यसअघि घर धानेर मात्रै बसेकी थिईन् । अहिले बराईलीलाई घर पनि धान्दै सामाजिक काममा खटिन सजिलो भने छैन ।
वर्षौंदेखि ढिला उठ्ने बानी निर्वाचित भएपछि ठ्याक्कै फेरिएको छ । दिउँसोको धेरैजसो सामाजिक काम भ्याउन पनि सीता सबेरै उठ्छिन् ।
एक हल गोरु, दुहुनो भैँसीको काम उज्यालो भईनसक्दा सकाउँछिन् । त्यतिमात्रै हैन शिक्षक श्रीमानलाई ९ बजेअघि नै खाना तयार गर्नुपर्ने जिम्मेवारी पनि उनकै काँधमा छ ।
”स्थानीय तहमा जनप्रतिनिधी बनेपछि सिन्धुलीको मरिण गाउँपालिकाका १५ जना महिलाले आफूलाई परिवर्तन गरेका छन् । कोहि निर्धक्कसँग सुन्दर गाँउपालिकाको बलियो योजना सुनाउन सक्छन् । त कोही महिलाको स्तर अभिबृद्धिमा डटेर लड्ने प्रतिबद्धता जनाउँछन् ।”
मरिण गाउँपालिका ६ कै अर्की सदस्य पञ्चमाया थिङको जीवनमा त झन् चुनावपछि कायापलट नै भयो । वर्षौंदेखि बोलचाल बन्द भएका सासू ससुरासँग उनको सम्बन्ध सुध्रियो । थिङ भन्छिन् ‘अहिले त कान्छी छोरीले भन्दा बढी माया पाएकी छु ।’
‘आफुले सही बाटो रोजेमा एकदिन सबैले मान्ने रहेछन् ।’ सदस्य निर्वाचित भएपछिको छोटो अवधिमा उनले अनुभव गरेको तथ्य । काठ चिर्ने, हलो जोत्ने लगायत कथित समाजले लैंगिक दृष्टिकोणबाट छोरीले गर्नुहुन्न भनिएका थुुप्रै काम गरिसकेकी उनीसँग अबको ४ वर्षमा ‘महिलाले अवसर पाए जस्तोसुकै काम पनि गर्न सक्छन्’ भन्ने पुष्टि गरेर छाड्ने अठोट छ ।
सोहि गाउँपालिका ७ की सदस्य पद्मकुमारी विकले त आफ्नो नाम लेख्न निर्वाचित भएपछि नै सिकेकी हुन् । तर मान्छेको अगाडि बोल्न भने अझै धक् लाग्छ । केहि बोले बिग्रन्छ कि भन्ने डर अझै मनमा आउँछ । बिस्तारै आफुलाई परिवर्तन गर्ने विश्वास भने उनीसँग छ ।
यी केहि प्रतिनिधी उदाहरणहरु मात्रै हुन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधी बन्ने अवसर पाएका सिन्धुलीको मरिण गाउँपालिकाका १५ जना महिलाहरुले छोटो अवधिमै धेरै सिकेका छन् । आफूलाई परिवर्तन गरेका छन् । कोहि निर्धक्कसँग आफूले कल्पना गरेको सुन्दर गाँउपालिकाको बलियो योजना सुनाउन सक्छन् । त कोही महिलाको स्तर अभिबृद्धिमा डटेर लड्ने प्रतिबद्धता जनाउँछन् ।
पाको उमेरकाहरुलाई पनि आफै मोटर चलाएर हिँड्ने जोस पलाएको छ । वर्षौंदेखि सासु ससुरा, श्रीमान्, छोराछोरीको हेरचार, लालनपालन मात्रै बाँधिएका केही महिलाहरुले स्थानीय तहमा चुनिएपछि सामाजिक कामको अवसर पाएका छन् ।
तथापी प्रमुख र निर्णायक तहको जिम्मेवारी निभाउने मौका भने कमले मात्रै पाएका छन् । जेहोस् आफूले पाएको अधिकारलाई उनीहरुले कामले पुष्टि गर्न सके अवसर पाएभने महिलाहरु हरेक काममा सक्षम छन् भन्ने पुष्टि हुन सक्थ्यो ।
Comment Here!