महिलाले धानेको रुम्जाटारको राडी पाखी


प्रकाशित मिति :2018-02-27 12:29:11

–शिवप्रसाद ढुंगाना–

रुम्जाटार । रुम्जाटारकी सिता दाहालले यसअघि गुरुङ समुदायमा बुनेको देखे पनि आफैले राडी बुन्ने तानमा कहिल्यै हात हालेकी थिइनन् । उनलाई यो पेशा गुरुङ समुदायको मात्र हो जस्तो लाग्थ्यो । तर, उनी दुई महिनादेखि आफै राडीपाखी बुन्ने सिप सिकिरहेकी छन् । ‘सिप सिके आफैलाई हो भनेर सिकेकी हु’ उनले भनिन् । ‘जानियो भने फुर्सदको बेला घरमै बसेर बुन्ने रहर छ, पहिले गुरुङका घरमा मात्रै राडीका तान देखेकी थिएँ’ दाहालले विगत सम्झिइन् ।

रुम्जाटारकै छलकुमारी दाहाल पनि सीतासँगै लहरमा मिसिएर राडीपाखी बुन्ने सिप सिकिरहेकी छन् । गाउ“कै गुरुङ समुदायले राडी बुन्ने गरेको भए पनि उनले आफ्नो समुदायका कसैले बुनेको देखेकी थिइनन् । तर यसपाली आफैले सिक्ने रहर जागेर तालिममा सहभागी भएको उनले बताइन् ।

सीता र छलकुमारी मात्रै होइनन्, अहिले २० जना महिलाहरू राडी पाखी बुन्ने तालिममा व्यस्त छन् । यो राडी पाखी बुन्ने तालिममा सहभागी अधिकांश महिलाहरू गुरुङ समुदाय भन्दा बाहिरका छन् ।

तालिममा सिप सिकिरहेका सबै महिलाहरूले बुढेसकालमा जीविकोपार्जन गर्न कडा श्रम गर्न नपर्ने र घरैमा बसेर काम गर्न सकिने भएकाले राडी बुन्न सिकेको बताए । ‘अब छोराछोरी जागिरे भए, गाउँमा बस्दैनन्, आफू घा“स बोक्न, वस्तु पाल्न सकिन्न’ राडी बुन्न तानमा बसेकी मिनकुमारी दाहालले भनिन्, ‘यो काम जानियो भने यसो बुढेसकालमा घरैमा बसेर आँखाले देखुन्जेल गर्न सकिन्छ भनेर सिकेकी हुँ ।’

राडीपाखी बुन्ने तालिमका प्रशिक्षक तथा भेडा विकास समिति रुम्जाटारकी अध्यक्ष पदमकुमारी गुरुङले राडी पाखी बुन्न अहिलेका पुस्तामा आकर्षण नभएकाले तालिम नै संचालन गर्नु परेको बताइन् । उनले तालिममा सहभागीहरू उत्साहित भएकाले राडी पाखी उत्पादन गर्न सहज हुने विश्वास व्यक्त गरिन् । ‘सबैले तालिममा सिक्ने मात्र होइन, ऊन लगेर आ–आफ्नै घरमा पनि बुनिरहनुभएको छ’ अध्यक्ष गुरुङले भनिन् ।

राडी पाखी उद्योग संरक्षण गर्न वस्तु विकास केन्द्र

विगतमा रुम्जाटारको राडी पाखी देशमै चर्चा कमाएको उत्पादन थियो । तर यो पेशा संकटमा पर्ने स्थिति बनेपछि लोप हुन नदिन दुई वर्षदेखि निरन्तर तालिम दिन थालिएको हो । राडी पाखी उद्योग बचाउन यहाँ ‘वस्तु विकास केन्द्र’ पनि स्थापना गरिएको छ । उद्योग मन्त्रालय र उद्योग विभाग अन्तर्गत घरेलु तथा साना उद्योग विकास समितिले दुई वर्षअघि ‘वस्तु विकास केन्द्र’ स्थापना गरेको हो ।

वस्तु विकास मार्फत हालसम्म १ सय २० जनाले राडीपाखी बुन्ने तालिम लिईसकेका छन् । एक आर्थिक वर्षमा ४० जनालाई तालिम दिने गरेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत कपिल अधिकारीले बताए । ‘मुख्य उद्देश्य भनेकै राडी पाखी उद्योगलाई बचाउने र उद्योग प्रवद्र्धन गर्ने हो’ प्रमुख अधिकारीले भने, ‘स्थानीय स्रोत साधनको उपयोग गरि परम्परागत सिपको सदुपयोगबाट उद्योग स्थापना गरि रोजगारी दिने लक्ष्य हो ।’

तालिम दिने मात्र नभएर तालिम प्राप्त गर्नेहरूका लागि घरेलु उद्योगले आवश्यक सामाग्री पनि छुट रकममा उपलब्ध गराउने गरेको छ । चर्खा, तान, कोरेसो जस्ता सामाग्रीमा ६० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराएको उद्योग अधिकृत अधिकारीले बताए । तालिममा सहभागीले तालिम लिइसकेपछि उद्योग दर्ता गराएर राडी पाखी घरघरै उत्पादन गर्ने लक्ष्य रहेको अधिकारीको भनाइ छ ।

मासिदै भेडि गोठ

राडी पाखीका लागि कच्चा पदार्थ भेडाको उन हो । तर, आजभोली भेडा पालन व्यवसाय लोप हुन लागेपछि उन पर्याप्त पाइन छाडेको छ । पाइए पनि महंगो पर्छ । ‘पहिले भेडी गोठहरू घरघरै पाल्ने चलन थियो, अहिले चरिचरणको अभाव, युवा पुस्ता विदेशिने कारणले भेडिगोठ घटेको छ’ रुम्जाटारका पूर्व गाविस अध्यक्ष सिताराम गुरुङले भने ।

एक दशक अघिसम्म चार पाँच हजारका संख्यामा रुम्जाटारेलीहरूले भाडा पाल्ले गरेका थिए । अहिले बल्ल ५\६ वटा भेडिगोठ रहेका छन् । भेडि गोठ आजभोलि ह्वात्तै घटेकाले जेनतेन रुम्जाटारका उद्योगलाई उन धानिरहेको भेडा विकास समितिका अध्यक्ष पदमकुमारी गुरुङले बताइन् । उनले भनिन्, ‘पहिले रुम्जाटारले राडी पाखीसँगै उन पनि निर्यात गर्दथ्यो, अहिले यही पुग्न धौ–धौ छ ।’ अध्यक्ष गुरुङले सामुदायिक वनमा चरिचरन बन्द भए पछि भेडि गोठ लोप हुन लागेकाले भेडाको चरनको छुट्टै व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरिन् ।

देशैभर जिल्लाको पहिचान गराउन सफल व्यवसायमा एक जना पनि पुरुष सहभागि छैनन् । भेडा चराउन मात्रै पुरुष जाने गरेका छन् । राडी बुन्न घरघरै तानमा महिला मात्र बसेका देखिन्छन् ।

जोगाउन संरक्षित उद्योग’

देशमै नाम कमाएको उत्पादन राडी पाखी व्यवसाय संरक्षण गर्न अब स्थानीय सरकारले ध्यान दिनु पर्ने सरोकारवालाहरूले बताएका छन् । सिद्धिचरण नगरपालिकाको पहिचान समेत राडी पाखीले धानेकाले संरक्षित उद्योगका रुपमा राडी पाखीलाई राखिनु पर्ने पूर्व अध्यक्ष गुरुङले बताए । नगरपालिकाको गुरु योजनामा राडी पाखी उद्योगलाई प्रोत्साहन गर्ने गरि योजना समावेश गर्न रुम्जाटारेलीहरूको माग छ ।

सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले रुम्जाटारको राडी पाखी उद्योगलाई संरक्षण र विस्तारका लागि योजना निर्माण गर्ने बताए । ‘रुम्जाटारको राडी पाखीले देशमै ओखलढुंगालाई चिनाएको छ’ उनले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: