गर्भवतीको मृत्युपछि पीडित पक्ष र छानबिन समितिबीच सहमति
मृतकको काजक्रियाका लागि एक लाख रुपैयाँ दिइयो
– महिला खबर –
काठमाडौं । सप्तरीको सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा गर्भवतीको मृत्युपछि आन्दोलनरत आफन्त र छानबिन समितिबीच सहमति भएको छ ।
विष्णुपुर गाउँपालिका १ पिप्राहिकी २५ वर्षीया अनिता यादवको बिहीबार राति १ बजे मृत्युभएसँगै मृतक महिलाका आफन्तले अस्पतालको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै आन्दोलन शुरु गरेका थिए ।
घटनाको वास्तविकता पत्ता लगाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति समेत गठन गरिएको थियो ।
समिति र पीडित पक्षबीच बिहीबार सहमति भएको छ । मृतकको काजक्रियाका लागि एक लाख रुपैयाँ नगद दिने, मृतकका छोरा र छोरीको पढाइ राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकाले मिलाउने, स्वास्थ्य उपचार अस्पतालले गर्ने, मृतकका पतिलाई दैनिक ज्यालादारीमा अस्पतालमा नियुक्ति दिने, घटनाको छानबिन गरी कारवाहीका लागि सिफारिस गर्ने र १० लाख रुपैयाँ क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने सहमति भएको नगरपालिकाका उपमेयर साधना झाले महिला खबरलाई जानकारी दिइन् ।
उपप्रमुख झाले मृतकका परिवारलाई काजक्रियाका लागि एक लाख रुपैयाँ बिहिबार नै दिइसकिएको बताइन् । सहमतिसँगै महिलाको शव बिहीबार साँझ नै आफन्तले बुझेका छन् भने आन्दोलनका कार्यक्रम समेत फिर्ता लिइएको छ ।
यो पनि हेर्नुहोस्
Comment Here!