–महिला खबर–
ललितपुर । सञ्चारमाध्याममा लैङ्गिक समानता र अवसर विषयक लेखनवृत्ती पुरस्कर तीन पत्रकार महिलालाई प्रदान गरिएको छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरिएको ‘सञ्चारमाध्याममा लैङ्गिक समानता र अवसर विषयक अन्त्तरक्रिया तथा पुरस्कार वितरण’ कार्यक्रममा लेखनवृत्ती पुरस्कार प्रदान गरिएको हो ।
नारिखबर डटकमकी सम्पादक गगनशिला खड्का, प्रयास साप्ताहिककी नानी मैंया बिष्ट र जनचेतना सप्ताहिककी मन गैरेलाई १० हजार नगद र कदर पत्रसहित सो लेखनवृत्ती पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा पत्रकार मन गैरे अनुपस्थित थिइन्।
सञ्चारमा लैङ्गिक समानता र अवसर बिषयका १७ लेख र फिचर महासंघमा प्राप्त भएका थिए । तीमध्ये छनौट समितिले छनौट गरेका उत्कृष्ट तीन पत्रकारलाई पुस्कृत गरिएको महिला समिति संयोजक लक्ष्मी पुनले बताइन् ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, न्यूनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले संयुक्त रुपमा सो पुरस्कार प्रदान गरेका थिए ।
नेपाल पत्रकार महासंघ महिला समितिले सो कार्यक्रमको आयोजना गरेको हो ।
सञ्चार प्रतिष्ठान स्थापना गर्ने लक्ष्य
सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सञ्चार क्षेत्रमा पत्रकार महिलाको समान सहभागिता बनाउनकालागि सञ्चार प्रतिष्ठानको स्थापना गर्ने बताएका छन् ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरिएको ‘सञ्चारमाध्याममा लैङ्गिक समानता र अवसर विषयक अन्त्तरक्रिया तथा पुरस्कार वितरण’ कार्यक्रममा मन्त्रालयका सचिव अधिकारी यस्तो कुरा बताएका हुन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लैङ्गिक समानताको विषयमा महिला र पुरुषबीच रहेको विभेद हटाउनका बहस चलाउने बताए । सहज वातावरण बनाउकालागि पत्रकार महासंघ लागि पर्ने अध्यक्ष आर्चायले बताए ।
पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूको आवश्यकता रहेको भन्दै महासंघले सक्षम, दक्ष पत्रकार उत्पादन गर्ने विषयमा बहस तथा तालिम चलाउनु पर्नेमा जोड दिए ।
महासंघका उपाध्यक्ष विपुल पोखरेलले नेपालको पत्रकारिता क्षेत्रमा विगतको तुलनामा महिला पत्रकारको संख्या बढेको बताउदै समाजमा रहेका समस्यालाई सञ्चार माध्यमबाट उजागर गरि समाजिकीकरण गर्न पत्रकारलाई आग्रह गरे ।
न्यूनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रामिक समयानुकुल बनाउनका लागि समिति सक्रिय रहेको बताए ।
सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले व्यवसायिक पत्रकारिताले मात्रै सञ्चार क्षेत्रमा महिला पत्रकारको संख्या बढ्ने बताइन् ।
Comment Here!