–महिला खबर–
ललितपुर । रक्षा मन्त्री इश्वर पोखरेलले महिलाको अंश र वंशमाथिको अधिकार समान हुनुपर्ने बताएका छन् ।
नेपालका विशिष्ट महिलाको ऐतिहासिक फोटो प्रदर्शनीको आज काठमाडौंमा उद्घाटन गर्दै रक्षा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
महिला हिंसा विरुद्धको दृष्टिकोणमा एक ठाउँमा उभिन सक्नुपर्ने भन्दै पोखरेलले त्यसो भए मात्रै महिला समानता कायम हुन सक्ने बताए । ‘यी चिजहरुमा हामी एक हुन नसक्ने, परम्परावादी हुने । तर समानताको कुरा चाहिँ कति बुझेर, कति नबुझेर त्यसको वकालत गरिरहने परिपाटीले निश्कर्षमा पुग्न सकिन्न’ पोखरेलले भने ।
‘महिला समानताको गाँठी कुरा अंश माथिको अधिकार, वंशमाथिको अधिकार र हिंसाको विरुद्धमा समान बुझाइ हो । यो चिजमा हामी एक ठाउँमा उभियौं भने, हामी महिला हिंसा अन्त्य गर्न सक्छौ’ पोखरेले भने, ‘यी कुराहरुमा हाम्रो ध्यान दृष्टि नपुग्ने तर, अरुअरु तपशिलका कुरामा हाम्रो ध्यान जाने हो भने चुरो कुरामा हामी पुग्न सक्दैनौं ।’
साँस्कृतिक संग्रहालय नेपालले फोटो प्रदर्शनी आयोजना गरेको हो । नेपालका २ सय ५० भन्दा बढी विशिष्ट, प्रथम र साहसिक महिलाहरूको फोटो राखिएको अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी दिए ।
Comment Here!