बोक्सीको आरोपमा कुटपिट गर्ने विरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति :2018-03-10 16:41:31

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलिया गाउँकी युवती बोक्सीको आरोपमा कुटिएकी छिन् । गत बिहीबार किसान जोखन चौधरीकी १८ वर्षीया छोरी राधा घर नजिकै गोठमा गोबर सोहोरेर घर फर्किदै गर्दा ६-७ जनाको समूहले उनलाई चर्को स्वरमा कराउँदै यही हो बोक्सी, समात्, समात् भन्दै कुटपिट गरेका हुन् । उनीहरूले युवतीलाई जबरजस्ती लछारपछार गर्दै ‘भोलेबाबा’को आश्रमतिर लगेका बताइएको छ ।

भोलेबाबा रामबहादुर चौधरीको घरमा छरछिमेकीहरु चारैतिर घेरा बनाएर बसेका थिए । करिब २० मिनेटको पैदल दुरीमा रहेको भोलेबाबाको घरमा घिसार्दै राधालाई पु¥याइएको थियो । उनलाई गाउँलेको माझमा राखेर भोलेबाबाकी सहयोगी ‘पार्वती माता’ ले निर्घात कुटपिट गरेको जनाइएको छ ।

भोलेबाबा र पार्वती माताको कुटपिटपछि बेहोस भएकी राधालाई केही व्यक्तिले एक बजेपछि उद्दार गरेर एम्बुलेन्सबाट घोडाघोडीस्थित सुखड इलाका प्रहरी कार्यालयमा पुर्‍याएका थिए । उनीहरुले कुटपिटमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका थिए । तर प्रहरीले कुटपिट गर्नेलाई पक्राउ नगरेको युवतीका आफन्तले बताएका छन् ।

युवती राधाकी आमा फूलकेसरीले बिहीबार नै भोलेबाबाविरुद्ध सुखड प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोज्दा प्रहरीले उजुरी लिन नमानेको बताइएको छ । उनले प्रहरी, गाउँले कसैले पनि सहयोग नगरेको बताइन् ।

कुटपिट गम्भीर घाइते भएकी राधाको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ । राधाको स्वास्थ्य अवस्था खतरामुक्त रहेपनि मानसिक समस्या भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । राधा स्थानीय राष्ट्रिय उच्च माविमा कक्षा ११ मा अध्ययरत छिन् ।

घोडाघोडी अस्पतालमा उपचार गराइरहेकी राधालाई शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग धनगढीका निमित्त निर्देशक दीपकजंगध्वज कार्कीसहितको अधिकारकर्मीको टोलीले उद्धार गरी धनगढी ल्याइएको छ ।

यता बोक्सी आरोप लगाई कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई प्रहरीले शुक्रबार प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको छ भने घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिए । कुटपीट गर्नेविरुद्ध युवतीका बुबा जोखन चौधरीले सुखड इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: