–महिला खबर–
ललितपुर । बोक्सी आरोपमा कसुर गर्नेलाई कारबाही गर्न नेपालमा विशेष कानून नै छ । २०७२ सालमा ‘बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ बनेको हो ।
ऐनले बोक्सी आरोप लगाउनेलाई फौजदारी कसुर मानेको छ । ऐनले ‘बोक्सीको आरोप’ भन्नाले कुनै व्यक्तिलाई बोक्सा, बोक्सी वा यस्तै अन्य नामबाट लाञ्छना लागउने कार्यलाई मानेको छ । बोक्सी आरोप सम्बन्धी कसुर फौजदारी भएकोले यो ऐनमा सरकार आफै वादी भएर मुद्धा चलाउनुपर्छ ।
बोक्सीको आरोप सम्बन्धी कसुरको दफा ३ को उपदफा १ मा कसैले कुनै व्यक्ति उपर ‘बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली बेइज्जती गर्ने, बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्य प्रति अपमानजनक व्यवहार गर्नेलाई बोक्सी आरोप मानेको छ ।
बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने, बोक्सीको आरोपमा बसोबास गरेको ठाउँबाट निकाला गर्ने, धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफक वा यस्तै अन्य कुनै माध्यमबाट बोक्सीको आरोप लगाउनेलाई पनि ऐनले बोक्सी आरोप सम्बन्धी कसूर मानेको छ ।
त्यस्तै बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाक्ने, पोल्ने वा रासायनिक, विषलु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रुर अमानवीय वा अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा अंगभंग गर्ने, बोक्सीको आरोपमा कसैले सम्पत्ति तोडफोड, हिनामिना वा हानी नोक्सानी गर्ने कार्यलाई बोक्सी आरोप सम्बन्धी कसूरको रुपमा व्याख्या गरेको छ ।
बोक्सी आरोप सम्बन्धी कसुर गर्ने व्यक्तिलाई कसुर हेरि ६ महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिवाना न्यूनतम र अधिकतम पाँच वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
ऐनको दफा ४ ले बोक्सी आरोपमा गरिएको कसुरको मौखिक रुपमा भएपनि प्रहरीले उजुरी लिनुपर्ने व्यवस्था गरेको छ । भने बोक्सी आरोप लगाएको मनासिब कारण देखिने बित्तिकै आरोपीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने व्यवस्था पनि ऐनमा छ ।
बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको कानून पूरा हेर्न यहाँ बोक्सीको-आरोप-सम्बन्धी-कसूर-तथा-सजाय-सम्बन्धी-ऐन-नेपाल-राजपत्र-२०७२-साउन-१८-भाग-२ क्लिक गर्नुहोस् ।
Comment Here!