–पार्वती पाण्डे–
कपिलवस्तु । कपिलवस्तु नगरपालिका १२, सौरहालाई बाल बिवाह मुक्त वडा घोषणा गर्ने अभियान सफल बनाउन ५ दिने व्यक्तिगत घटना दर्ता शुरु गरिएको छ ।
वडा कार्यालयको आयोजनामा यहि चैत ९ गते बालविवाह मुक्त वडा घोषणा तयारीको लागि व्यक्तिगत घटना दर्ता अभियान थालिएको हो ।
अभियानको पहिलो दिन आइतबार सौराहामा सम्पन्न दर्ता अभियानमा ३८ जनाले जन्मदर्ता, ७ जनाले विवाह दर्ता र २ जनाले मृत्यु दर्ताको प्रमाणपत्र लिएको वडा सचिव मदन प्रदान घिमिरेले जानकारी दिए ।
अभियान अन्र्तगत सौराहा, बिढुवा, पिपरहवा, बेलभरिया र अकबरपुरमा नागरिकको घरघरमै पुगेर सो सेवा दिने योजना रहेको सचिव घिमिरेले बताए ।
वडालाई बालबिवाह मुक्त घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको जानकारी दिँदै मुक्त अभियानको सुचकहरुलाई पुरा गर्ने उद्देश्यले व्यक्तिगत घटना दर्ताको अभियान अघि बढेको वडा अध्यक्ष ओमप्रकाश पाण्डेयले बताए ।
अभियान अन्र्तगत हालसम्म सुचक निर्धारण, तथ्याङ्क संकलन, वस्तीस्तरीय निगरानी समिति गठन र प्रशिक्षण, विद्यालयस्तरीय निगरानी समिति गठन, प्रचारप्रसार, कानुनी सचेतना प्रवाह लगायतका कार्य गरिएको पाण्डेयले जानकारी दिए ।
व्यक्तिगत घटना दर्ता अभियान शुक्रवारसम्म चल्ने वडा सचिव मदन प्रसाद घिमिरेले जानकारी दिएका छन् ।
Comment Here!