-महिला खबर-
काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि आज बिहानबाट मतदान शुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्य लागि बेग्लाबेग्लै स्थानमा मतदान भइरहेको छ ।

राष्ट्रपति चुनावको मतदानको लागि लाइनमा बसेका माओवादी केन्द्रका महिला सांसदहरु ।
मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा पुगि सकेका छन् । राष्ट्रपतिका लागि वाम गठवन्धनले निवर्तमान राष्ट्रपति भण्डारीलाई उम्मेबार बनाएको छ भने नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ ।
निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ
मतदानको समय अपराह्न तीन बजेसम्मका लागि तोकिएको छ । त्यसलगत्तै मतगणना गरेर साँझसम्म निर्वाचनको परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता छन् ।
यो राष्ट्रपतिका लागि भएको तेस्रो निर्वाचन हो । यसअघि २०६५ र ०७२ मा राष्ट्रपति निर्वाचन भइसकेको छ । पहिलो निर्वाचनमा नेपाली कांग्रेसका डा. रामबरण यादव र दोस्रोमा एमालेकी विद्यादेवी भण्डारी निर्वाचित भएकी थिइन् ।
Comment Here!