—महिला खबर—
ललितपुर । कैलालीमा भएको ‘बोक्सी’काण्ड मा पक्राउ परेका तीन आरोपीलाई प्रहरीले ‘बोक्सी आरोप (कसूर र सजाय) ऐन, २०७२ अनुसार मुद्दा चलाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका—५, की १८ वर्षीया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेका रामबाहादुर चौधरी, स्मारिका चौधरी र किस्मती चौधरी बिरुद्द सो मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
प्रहरीले जिल्ला अदालत कैलालीमा २५ गते शुक्रबारदेखि लागु हुनेगरि २७ गते मुद्धा दायर गरेको हो । ‘बोक्सी आरोप (कसूर र सजाय) ऐन २०७२’ अन्तर्गतको पनि कुन दफा मागदाबी गर्ने हामी अनुसन्धान गर्दै छौं’ कैलालीका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले भने, ‘हामी जिल्ला न्यायाधिवक्तासँग पनि छलफल गर्छौं ।’
उनले नेपाल सरकारले कुरीति अन्त्यको लागि ‘बोक्सी’ प्रथा विरुद्ध विशेष ऐन नै ल्याएकोले ज्यान मार्ने उद्योग वा अन्य कानून अन्तर्गत मुद्धा नचलाइएको पनि बताए ।
बोक्सी आरोप सम्बन्धी कसुर गर्ने व्यक्तिलाई कसुर हेरि ६ महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिवाना न्यूनतम र अधिकतम पाँच वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
प्रहरीले सोमबार थप ३ जनालाई पक्राउ पनि गरेको छ । घटनामा संलग्न भएको भन्ने अनुसन्धानबाट खुल्न आएकोले रामबहादुरका आमा सीतारानी चौधरी, वेदप्रसाद चौधरी र चनकलाल चौधरीलाई पक्रउ गरिएको पनि डिएसपी बोहराले बताए ।
Comment Here!