निर्वाचनमा महिला र दीगो विकास लक्ष्यहरू


प्रकाशित मिति :2018-03-15 16:02:13

निर्वाचन र नेपालको संविधान २०७२

नेपालकै इतिहासमा २०७४ साल निर्वाचन नै निर्वाचनको वष बन्यो । नेपालको संविधान २०७२ को भाग–५ मा उल्लेख भए अनुरुपको राज्यको संरचना संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गर्न यी तीनै तहको निवार्चन एकै वर्षमा सम्पन्न भएका छन् ।

                   –शान्ता लक्ष्मी श्रेष्ठ-

निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । यसमा सहभागि हुन पाउनु महिला, पुरूष, र विभिन्न लिङ्गका सबै नागरिकहरूको अधिकार हो । आ—आफनो प्रतिनिधि स्वइच्छाले स्वतन्त्ररुपले चुनिन र चुन्न पाउनु सबै नागरिकको नागरिक र राजनैतिक मानव अधिकार हो । सवै लिङ्ग, सवै जातजाती, धर्म, वर्ण, विभिन्न भौगोलिक स्थिति र स्थानको, विभिन्न उमेरका, सबैले आ—आफ्नो सवाल उठान आ—आफ्नो ठाउँवाट गर्न, नीति निर्माण, कार्यान्वयन, अनुगमण र मुल्यांकण गर्ने स्थानमा सहभागी हुने अवसर पाउने हुनु, कुनै एक लिङ्ग, वर्ग, जातजाती, धर्म र भौगोलिक क्षेत्रको मानिसहरूको मात्र अधिपत्य नहुनु, सबैले समानरुपले समानुपातिक र समावेशिरुपले नीति निर्माणको पुरै चक्रमा सहभागि हुने स्थिति श्रृजना गर्नु लोकतन्त्रको दरिलो र दिगो जग हो ।

दक्षिण एसियामै महिला मैत्री संविधान भनि कहलिएको यस संविधानले स्थानीय तहमा महिला सदस्यको समावेशि सहभागिता तिनै तहको राज्य संरचनामा कम्तीमा एक तिहाई अनिवार्य गरिएको छ । यसर्थ यस व्यवस्थालाई कार्यान्वयनका लागि गर्नुपर्ने निर्वाचन विगतको भन्दा महिलामय भई नेपालमा मात्र होइन दक्षिण एसिया र विश्वमा नै एक नबिन उदाहरण बन्न सफल भएको छ ।

स्थानीय निर्वाचनमा महिला

स्थानीय निर्वाचन खास गरेर बडा समितिको लागि भएको निर्वाचन महिलामय भएको थियो । नेपालको इतिहासमा पहिलो पटक वडा समितिमा एकजना दलित महिलासहित दुई महिला वडा सदस्य अनिवार्य गरिएको र अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको पदमा एकै लिङ्गको ब्यक्तिलाई दलहरूले उम्मेदवारी दिन नपाउने व्यवस्था संविधानले गरेका हुनाले पनि निर्वाचन महिलामय हुन गएको थियो । कति दलहरूले त दलित महिला सदस्यका लागि उम्मेरवार नै दिन सकेनन् । जेहोस् नेपालको संविधान २०७२ कोे भाग–५ मा उल्लेख भए अनुरुपको राज्यको संरचना गर्न र संविधानको भाग १७ मा व्यवस्था भएअनुरुप भएको निर्वाचन महिलाको अत्यधिक सहभागीताका साथ सम्पन्न भई विभिन्न दलहरूबाट गरी करिब ४१ प्रतिशत महिला निर्वाचित भएका छन् ।

नेपालको संविधान २०७२ लागु भए पश्चात सम्पन्न भएको यो निर्वाचनले लैङ्गिक उत्तरदायी शासन व्यवस्थाका लागि एक आधार तयार गरेको छ र संघीयताको प्रथम खुड्किला निर्माण भएको छ । स्थानीय तहमा यति महिला निर्वाचित हुनु भनेको एक प्रकारको छलाङ्ग मार्नु नै हो ।

जेहोस् नगरपालिकाको प्रमुख र गाउँपालिकाको अध्यक्ष जस्तो स्थानिय तहको उच्च पद (७५३) मा २ प्रतिशत र गाउँपालिकाको उपाध्यक्ष र नगरपालिकाको उपप्रमुख पदमा ९१ प्रतिशत तथा वडाध्यक्ष (६७४२) मा १ प्रतिशत र खुला वडा सदस्यहरू ( १३,४८४) मा २ प्रतिशत समेत गरी जम्मा ४१ प्रतिशत, महिला स्थानिय तहको लागि निर्वाचित भए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ मा महिला

नेपालको संविधान २०७२ मा व्यवस्था गरे अनुरुप सबै तहको निर्वाचन माघ ७ गते २०७४ भित्रै गर्नुपर्ने व्यवस्था अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पनि सम्पन्न भए । प्रदेश सभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० पद र समानुपातिक निर्वाचन प्रणालीबाट २२० पदको लागि निर्वाचन भएको थियो । उक्त ३३० संख्याका लागि भएको निर्वाचनमा केवल १४ जना (४ प्रतिशत) मात्र निर्वाचित भए । प्रत्यक्ष निर्वाचनमा महिलाको कम उम्मेदवारी दिइनु नै दुःखद कुरा हो ।

नेपालको संविधानको भाग १४ ले प्रदेशसभामा कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने वाध्यात्मक व्यवस्था गरेकाले प्रत्यक्षतर्फ महिलाले कम अवसर पाए पनि समानुपातिक निर्वाचन प्रणालीको माध्यमबाट एक तिहाइ भने पु¥याइएको छ । मुलुकको नयाँ संरचनाको प्रदेशमा महिलाको यो उपस्थितिलाई ऐतिहासिक मान्नुपर्छ र महिलाले पनि आफ्नो भूमिका अब सशक्त देखाउनुपर्छ ।

त्यस्तै प्रतिनिधिसभातर्फमा पनि महिलाको उम्मेदवारी नै कम दिइएका कारणले निर्वाचित कम भए । यद्यपि एकतिहाइ हुनुपर्ने व्यवस्थाले समानुपातिकबाट महिला आएका छन् । राष्ट्रिसभामा पनि त्यसैको अनुपातमा महिला आएका छन् । राष्ट्रियसभामा मनोनित हुने ३ जनामा पनि एकजना महिला पर्नुपर्ने व्यवस्था अनुसार परेको छ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जना सदस्य (महिला ३, दलित १, अपांगता\अल्पसख्यक १, अन्य ३) चुनिने व्यवस्था पनि लागू भइसक्यो ।

यो नेपालीको लागि गौरवको कुरा हो भने दिगो विकास एजेण्डा र सन् २०३० सम्ममा लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने दिगो विकासको लक्ष्य ५ प्राप्तीको लागि शुभ संकेत हो । दिगो विकास लक्ष्यको ५.५.१ को अन्तराष्ट्रिय सूचक ‘राष्ट्रिय व्यवस्थापिका र स्थानीय निकायहरूमा महिला सदस्यको अनुपात’ को एक अंश ‘राष्ट्रिय व्यवस्थापिकामा महिला सदस्यको अनुपात’ लाई हेर्ने हो भने नेपालले विश्वको औसत प्रगतिको तुलनामा राम्रो प्रगति गरेको छ । विश्वभरिमा राष्ट्रिय व्यवस्थापिकामा महिला सदस्यको अनुपात सन् २०१७ मा २३.४ प्रतिशत पुगेको छ । सन् २००० मा १३.२ प्रतिशत मात्र थियो । यस क्षेत्रमा प्रगति हासिल गर्न धेरै राष्ट्रहरूले (३९ प्रतिशत देशले) नेपालले जस्तै कोटा प्रणाली अपनाएका छन् ।

दिगो विकासको एजेन्डा २०३० र दिगो विकासका लक्ष्यहरू

दिगो विकासको एजेन्डा २०३० र दिगो विकासका १७ वटा लक्ष्यहरू र १६९ उद्देश्यहरू सन् २०१५ मा सम्पन्न ७०औं राष्ट्रसंघीय साधारणसभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको यो सम्मेलनलमा १९३ सदस्य राष्ट्रहरू सम्मीलित थिए । दिगो विकासको एजेन्डा २०३० सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्न “हाम्रो विश्वलाई रुपान्तरण गरौं ” (Transforming Our World)  भन्ने नारा २०३० सम्मको लागि लिएइको छ । यसै एजेन्डालाई संबोधन गर्न १७ वटा लक्ष्यहरू र १६९ उद्देश्यहरू र २३० सूचक निर्धारण गरिएको हो । हरेक राष्ट्र र व्यक्तिको दायीत्व यस एजेण्डाको वकालत गर्नु र त्यसको संवोधन गर्न आ—आफ्नो परिस्थिति अनुसार मन, वचन र कर्ममा रुपान्तरण ल्याउनु हो, रुपान्तरण गर्नु हो ।

दिगो विकासको ५ औं लक्ष्य र उद्देश्यहरू

लैङ्गिक समानता, महिला र बालिकाहरूको सशक्तिकरण २०३० सम्ममा हासिल गर्ने दिगो विकासको ५ औं लक्ष्य हो । सो लक्ष्य प्राप्तीका लागि ९ वटा उद्देश्य निर्धारण गरिएको छ । ति हुन्,

५.१ सबै महिला र बालिकाहरू विरुद्ध हुने भेदभावको अन्त्य गर्ने ।
५.२ सबै.महिला र बालिकाहरू विरुद्ध हुने हिंसा उन्मूलन गर्ने ।
५.३ सबै हानिकारक प्रथाहरू उन्मूलन गर्ने जस्तै बालविवाह ।
५.४ बिनाज्यालाको स्याहार र घरायसी कामलार्ई महत्व र पहिचान दिने
५.५.महिलाको प्रभावशाली सहभागिता र र निर्णयमा नेतृत्व सुनिश्चित गर्ने ।
५.६. यौनिक तथा प्रजनन–स्वास्थ्य एवम् अधिकारमा विश्वव्यापी पहुँच सुनिश्चित गर्ने ।
५.७ महिलालाई आर्थिक साधनस्रोतहरूमा समान अधिकार दिन सुधार कार्यसञ्चालन गर्ने ।
५.८. सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा प्रविधिको प्रयोगलाई बढावा दिने ।
५.९ नीतिहरू अङ्गीकार गर्दै त्यसलाई सबलीकृत गर्ने ।

दिगो विकासको एजेन्डा २०३० र दिगो विकासका लक्ष्यहरू र ती लक्ष्य प्राप्तीका लागि निर्धारण गरेका उद्देश्यहरू विश्वभरका राष्ट्रिय सरकारहरू, तथा लाखौँ नागरिक समुदायसँग छलफल गरी तय गरेको हुनाले यसको प्रभाव नेपालको संविधान निर्माणमै परेको भन्न सकिन्छ । केहि मात्रा मै भए पनि लैङ्गिकमैत्री संविधान बनाउन नैतिक दवाव परेको देखिन्छ । जुन सकारात्मक पनि हो ।

दिगो विकासको एजेन्डा २०३० को मूल मर्महरू ‘कसैलाई पनि पछाडि नछोड’ (Leave  no one behind), ‘सबभन्दा पछाडि पारेकामा पहिले पुगौं’ (Reaching the farthest first) जस्ता समान, न्यायपूर्ण र सुरक्षित समाज निर्माण गर्न समानतामा पुग्ने महत्वपूर्ण कसी हुन् । यो हुनुमा नागरिक समाज, अधिकारकर्मीहरू, तिनिहरूबाट संचालित सामूहिक अभियान र महिला संघसंगठनहरूको ठूलो हात छ ।

अन्तमा, नेपालको संविधान २०७२ मा तिनै तहको संरचनामा कम्तीमा एक तिहाइ महिला सदस्य रहनु पर्ने वाध्यात्मक व्यवस्था संविधानमा गर्न सघाउने सबैलाई सलाम ! नेपालको तिनै तहको राज्यको संरचनामा कम्तीमा एक तिहाइ महिलाको संख्या सुनिश्चित भएको छ । यसमा महिलाले मात्र पुरुषले पनि गौरव गर्नैपर्छ । यस उपलब्धीलाई उत्सवको रुपमा मान्दै ‘दिगो विकास’ को लक्ष्य पुरा गर्न मन, बचन र कर्मबाट अझै लाग्नुपर्नेछ ।

अध्यक्ष, बियोण्ड बेजिङ्ग कमिटी
कन्भिनर, नेपालमा दिगो विकासका लागि मुख्य महिला समूह

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: