–ज्ञानु पंगेनी–
नवलपरासी । बालिकालाई बेच्न खोजेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ५ बेल्हानी बस्ने मुन्ना कलवारकी ७ वर्षीया छोरी नब्या कलवारलाई ललाई फकाई भारत बेच्न लान लागेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश महराजगंज जिल्ला डोमहा बस्ने ५० वर्षका धु्रव हरिजनलाई पक्राउ गरेको हो ।
हरिजनले आफ्नी छोरीलाई बेच्न लान लागेको बालिकाका बुवा मुन्ना कलवारको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख मुकुन्दराज आचार्यका अनुसार गत मंगलवार (चैत्र ६ गते) साँझ ४ बजेको समयमा आरोपित हरिजन बेल्हानी बालिकाको घरमा रहेको पसलमा रक्सी खान आएका थिए ।
हरिजन सधैँ बालिका नब्याको घरमा रहेको पसलमा रक्सी खान आउने गर्दथे । हरिजनले मौका छोपी बालिकालाई मिठाई दिई मामा घर लाने भनि ललाई फकाई गरि साईकलमा चढाएर लगेका थिए । साँझ बालिका घरमा नदेखिएपछि घरपरिवार र गाउँभर बालिकको खोजी भयो ।
बालिकालाई हरिजनले साईकलमा चढाएर लगेको एक स्थानीयले देखेको बताएपछि हरिजनको खोजी शुरु गरिएको थियो ।
हरिजनले बालिकलाई सहजै गाउँ लान नसकेपछि नजिकको भारतीय औराहा जंगलमा राती १२ बजेसम्म बाँधेर राखेको स्थानीय श्याम थापाले बताए ।
रातीको समयमा हरिजनले बालिकालाई जबरजस्ती आफ्नो गाउँ लान खोजिरहेको बेला बालिकाको खोजतलासमा निस्किएका थापासहित कमलकान्त पोख्रेल, विगुवा बनियाले उनलाई जंगलमै रहेको गेडहवँ पुलमा पक्राउ गरि राती नै प्रहरी चौकी रामनगरलाई बुझाएको थापाले बताए ।
घटना विषयमा थप अनुसन्धान गर्न हरिजनलाई ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखेको प्रहरी प्रमुख आचार्यले बताए । बालिकाका परिवारले बालिकालाई बेच्न लगेको आरोपमा जाहेरी दर्ता गरेकाले घटनाका वारेमा अनुसन्धान भईरहेको प्रहरी प्रमुख आचार्यको भनाइ छ ।
Comment Here!