‘अपाङ्गता भएका व्यक्तिको हक अधिकारको सुनिश्चित हुनुपर्छ’
१३ औं विश्व डाउन सिण्ड्रोम दिवस मनाइयो
–महिला खबर–
काठमाडौं । १३ औं विश्व डाउन सिण्ड्रोम दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । डाउन सिण्ड्रोम समाज नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका २६ वडाको सहयोगमा दिवस मनाइएको हो ।
दिवसका अवसरमा ‘मेरो समुदायलाई म के दिन सक्छु’ भन्ने मूल नारासहित काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकाबाट निकालिएको ¥याली जमल, दरबारमार्ग, केशर महल हुँदै समाज कल्याण परिषदमा गएर सम्पन्न भएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले राज्यले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु हक अधिकारको सुनिश्चित गरी उनीहरुलाई सम्मानजनक रुपमा समाजमा स्थापित गराउनुपर्नेमा जोड दिइन् । उनले डाउन सिण्ड्रोम लगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता अनुसार सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
सोही मन्त्रालयका अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव केशब भट्टराईले आगामी दिनमा नेपालका ७ वटै प्रदेशहरुमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत अपाङ्गता भएका व्यक्तिहरुका लागि पुनस्र्थापना गृहको स्थापना गर्ने कार्यक्रमको तय भएको बताए ।
कार्यक्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले दिवस मनाउन थालेपछि विगतको तुलनमा डाउन सिण्ड्रोम अपाङ्गता प्रति केही सकारात्मक चेतना जागेको र आगामी दिनमा नेपाल सरकारले यो दिवसलाई सम्बन्धित मन्त्रालय मार्फत नै मनाउनुपर्नेमा जोड दिइन् ।
काठमाडौं महानगरपालिका २६ वडाका वडा अध्यक्ष खेमराज तिवारीले सबै स्थानीय निकायहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गर्नु पर्ने र काडमाडौं महानगरपालिकाले आफ्नो स्रोत साधनको आधारमा डाउन सिण्ड्रोम अपाङ्गता र अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सक्दो सहयोग गर्ने बताए ।
मन्त्री थममाया थापाले डाउन सिण्ड्रोम समाज नेपालबाट निर्माण गरिएको नयाँ वर्ष २०७५ को पात्रो र डाउन सिण्ड्रोम सम्बन्धीको स्टिकरको विमोचन गरेकी थिइन् । कार्यक्रममा डाउन सिण्ड्रोम समाज नेपाललाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई प्रसंशा पत्र समेत वितरण गरिएको थियो ।
Comment Here!