आत्मविश्वासले दिएको सफलता


प्रकाशित मिति :2018-03-22 14:09:56

सन्देश सुब्बा

पाँचथर । ‘कोसिस गर्नेहरु कहिल्यै हार्दैनन् ।’ यो भनाई कल्पना योङहाङ लिम्बू जीवनमा लागु हुन्छ । कल्पना काठमाडौंको गोर्णमा रहेको द हाइल्याण्ड आर्ट कल्पना ढाका तथा बुटिक उद्योगका सञ्चालक हुन् ।

आफ्नो उद्योगमा कल्पना ।

कल्पनाले दश वर्ष अघि उद्योग सुरु गरेकी थिईन् । लगानी थियो १५ हजार रुपैयाँ । आफूसँग भएको त्यही थोरै रकम लगानीमा कल्पनाले व्यवसाय थालेकी थिईन् ।

तर, उनका सुरुआती दिन निकै कष्टकर भयो । बजार खोज्न समस्या पर्यो । उत्पादन गरेको सामग्री बिकाउनै हम्मे भयो उनलाई । भन्छिन्, ‘कहिलेकाही लाग्थ्यो व्यवासय नै छोडिदिउँ ।’ तर, हारिनन् । संघर्षलाई निरन्तरता दिइन् । अन्ततः जीत आफ्नो हातमा छ ।

लिम्बू जातिको मौलिक पहिरन तागावा र मेख्ली बन्छ द हाइल्याण्ड आर्ट कल्पना ढाका तथा बुटिक उद्योगमा । त्यस्तै ढाकाजन्य सबै प्रकारका सामग्री पनि बन्छन् । एकैठाउँ विभिन्न पहिरनहरुको डिजाइन र उत्पादन हुन्छ ।

अहिले उनको उत्पादन भारत, सिंगापुर, हङकङ, अमेरिका, मलेशिया र युरोपियन मुलुक नेदरल्याण्ड लगायतका देशमा बिक्री–वितरण हुन्छ । जसमध्ये अधिकांश स्थानमा शाखा समेत छन् । नेपालका विभिन्न बजार त छँदैछ ।

१५ हजार लगानीमा सुरु गरेको १० वर्षपछि हाइल्याण्ड आर्ट कल्पना ढाका तथा बुटिक उद्योगको पूँजी तीन करोड मूल्य बराबरको पुगेको छ ।

यो सफलतालाई आफ्नो अबिचलित व्यवसायिक यात्राको उपज ठान्छिन् कल्पना । भन्छिन्– ‘संघर्षले सफलतासम्म पुर्याउँछ, तर बीच बाटोबाट फर्किनु हुँदैन, मैंले गरेको कर्मले मलाई यहि पाठ सिकायो ।’

आफ्नो डिजाइन तथा उत्पादनका तागावा र मेख्लीमा सजिएका मोडलहरुको माँझमा कल्पना

उनको उद्यागले अहिले वार्षिक २५ लाख बढी आम्दानी गर्छ । दुई सय जनालाई रोजगारी दिलाएको छ ।

यसबीचमा कल्पनाले ढाकाबिदको उपाधि हाँसिल गरिन् । २ हजार २ सय बढी महिलाहरुलाई ढाका बुनाईमा दीक्षित गराइन् । उनको जीवनी समेटिएको डकुमेन्ट्री ‘थाक् थाक्मा’ (तान बुन्नु) निर्माण भएको छ । अब ढाकाको इतिहास र आवस्यक ज्ञान–सिप प्रदान गर्ने पुस्तक प्रकाशनको तयारीमा छिन् ।

मौलिक लिम्बू पहिरन तागावा र मेख्लीको परम्परागत डिजाइनमा केही परिमार्जन गरेर कल्पनाले नयाँ डिजाइन दिइन् । त्यो काम गर्दा उनले मौलिकता बिगारेको भन्दै आलोचना समेत खेप्नुपर्यो । तर लिम्बू विज्ञहरुसँगको लामो छलफल र परामर्शबाट त्यो काम गरेकी हुन् कल्पनाले । जसले तागावा र मेख्लीको प्रवद्र्धन र लोकप्रियतामा नयाँ आयाम थपिएको कल्पनाको दाबी छ ।

मिस नेपाल २०१४ सुविन लिम्बूले मिस वल्र्डमा सहभागि हुँदा लगाएको मेख्लीको डिजाइन हाइल्याण्ड आर्टमै गरिएको थियो । मिस वल्र्डमा सहभागी नेपाली सुन्दरी लिम्बू पहिरनमा सजिएको त्यो नै पहिलो हो ।

मिस मंगोल २०१६ मा हाइल्याण्ड आर्टको डिजाइन तथा उत्पादनका पहिरनमा सजिएका प्रतिस्पर्धीहरु

व्यवसाय गर्नलाई अन्य पनि थुप्रै विकल्पहरु थिए । कसरी ढाका व्यवसाय अंगाल्न पुगिन त ? पूर्वी पहाडी जिल्ला पाँचथरको याङवरक गाउँपालिका–४, थर्पु गाउँमा उनको जन्म भयो । उनलाई सम्झना हुँदासम्म गाउँघरको प्रायः प्रत्येक लिम्बू घरमा तान बुन्ने संस्कार थियो । घरमा बुनेको तानले झण्डै ८० प्रतिशत गर्जो टथ्र्यो । उनको घरमा पनि आमाले तान बुन्थिन् । उनले आमासँगै तान बुन्न सिकिन् ।

दिनभर तान बुन्नु, रातभर रुवाबाट धागो बनाउनु, लिम्बू समाजमा परिवारको भविष्य र सपना बुन्नु मानिन्छ । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य समेत रहेकी कल्पना भन्छिन्– ‘तान बुन्ने संस्कारसँग लिम्बू जातिको गहिरो सम्बन्ध छ । हाम्रो मुन्धुम (वेद) मै युमा? (लिम्बू समुदायको आदिम महिला) ले तान बुन्ने गरेको कथा वर्णन गरिएको छ ।’

अहिले सबै समुदायका महिलाहरुका लागि यो काम आयआर्जनको गतिलो माध्यम बनेको छ । यसलाई राज्यले थप प्रबद्र्धन गरे धेरै महिला आत्मनिर्भर बन्नेछन् उनको बुझाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: