आवेगमा विहेः फुर्सदमा पछुतो


प्रकाशित मिति :2018-03-22 16:07:47

– बिनु सुवेदी –

काठमाडौं । निश्चल अनुहार, चञ्चल भावभंगी, ठीक र बेठिकबीचको फरक र त्यसले पार्ने असरबारे खास जानकारी छैन । तर, सिउँदोमा सिन्दुर भरिएको छ, गलामा मंगलसुत्र । उनी हुन् पूर्वी नेपालको पाँचथर चिलिङदिङकी विस्मिता तिरुवा ।

उमेरले भर्खरै १५ मा चल्दै गरेकी विस्मिता पाँच महिने बालककी आमा हुन् । उनलाई स्वभाविक प्रश्न थियो ‘यति छिटो विवाह किन गर्नुभयो ?’ बिना छलकपट जवाफ दिईन्, ‘देखभेट भो, चिनजान भो, के भो के भो विहे गरियो ।’

उमेर नपुग्दै विहे गर्दा यसले आफ्नै जिन्दगीका थुप्रै सपनामा ‘ब्रेक’ लगाउँछ भन्ने उनलाई थाहा छ । सबैभन्दा पहिलो ‘ब्रेक’ त उनको पढाइमा लगिसक्यो । उनकै खेल्ने, खाने र रमाउने उमेर सन्तानको स्याहार सुसारमा बितिरहेको छ ।

‘खुसी हुनुहुन्छ ?’ हल्का मुस्कुराउँदै भन्छिन्, ‘श्रीमान्को मायाले त खुसी छु । तर पढाई पुरा गर्न नपाएकोमा पछुतो छ ।’ विस्मिता मात्रै होइन चिलिङदिङका अधिकाशं बुहारीहरू १७ वर्ष मुनीका छन् । धेरै आमाहरू १९ वर्ष कटेका छैनन् ।

बिनु सुबेदी

बाग्लुङ, तमानखोला गाउँपालिकाकी सीमा छन्त्याल १५ वर्षकी भइन् । उनी विवाहित हुन् । आठ कक्षा पढ्दैमा प्रेम गरिन् । नौ कक्षाको सुरुआतमै बिहे भयो ।

उनको लक्ष्य बढिमा एसइइ पास गर्ने हो । तर अनिश्चित छ । विहे गर्ने बित्तिकै आमा बन्नुपर्छ भन्ने धारणा गाउँमा अरुको जस्तै सीमाको पनि छ । उनले बुझेकी पनि त्यति छन् ।

तमानखोला गाउँपालिकाकै चमेली छन्त्याल (नाम परिवर्तन) चौध वर्ष नहुँदै पत्रमित्रता मार्फत प्रेममा परिन–दाङका ‘मित्र’ सँग । प्रेम गहिरियो । आकांक्षा चुलियो । देख्नु न भेट्नु विहे गर्न तयार भइन् ।

यस्तो विवाहमा गाउँका धेरैको असहमति थियो । तर, उनकै जिद्दीका अघिल्तिर ठूलाबडाको असहमतिले हार खायो । उनलाई विहे गर्ने अनुमति दिइयो । पश्चिम बाग्लुङको भिरपाखा र डाँडाकाँडामा हुर्केकी चमेली समथर दाङको सौम्यता सुमसुम्याउने हुटहुटीसहित राप्ती पुल तरेकी थिइन् ।

पाल्पाको सिद्धबाबामा सिन्दुर हालेपछि दाङ हानिएकी चमेलीको चमक त्यतिबेला हरायो, जब उनले ‘घर’ ठानेर पाइला टेकेको घरमा पहिल्यै दुइ सौता र ४ जना बालबच्चा रहेको चाल पाइन् ।

भन्छिन् ‘त्यहीदिन कुँडिएको मन फेरी फर्किएन ।’ आफ्नो पहिलो प्रेमको निसानी एउटी छोरी लिएर उनी उही माइती घर फर्किइन् । हिजोआज उनलाई आफ्नो वर्तमान भन्दा पनि छोरीको भविष्यले पिरोल्छ । जो आवेगमा विहे गरेर फुर्सदमा पछुताइ रहेका छन् ।

बाजा बज्नै छोड्यो

पहिले–पहिले कुरा अर्कै थियो । छोरीहरू पढ्न मन गर्थे । सानै उमेरमा बिवाह गर्न मान्दैनथे । तर अभिभावकको करकापमा अभिभावकले नै हेरेको केटासँग बिहे गरेर जानुपथ्र्याे । तर अहिले परिस्थिति बदलिएको छ । छोरा समान छोरीलाई पनि पढाउनुपर्छ भन्ने कुरामा अधिकाशं अभिभावक सचेत छन् ।

विहे २० वर्ष पारी नै गर्नुपर्छ भन्नेमा सहमत छन् । तर स्कुल पठाएका छोरीहरू स्कुलको स्कुल आफै भागेर जान्छन् । आफूखुसी बिहे गर्छन् । उनीहरूले पढ्न चाहे भने रोक्ने कोही पनि छैन । तर किशोरावस्थाको स्वभाविक चाह र चञ्चलताका कारण धेरै किशोरीहरूले बिहेलाई सजिलै अंगालिरहेका छन् ।

‘छोरीहरूले आफै बिहे गर्न थालेपछि आजकल गाउँमा जन्ति आउँदैनन् । बाजा बज्दैन्’ बाजुरा मार्तडीकी नन्दा ऐडीले भनिन् ।

तथ्याङ्क के भन्छ ?

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा अहिले १५ वर्षदेखि १९ वर्षका किशोरी मध्ये २७ दशमलम एक प्रतिशत किशोरीले बिवाह गरिसकेका छन् ।

जबकी यो उमेरका विवाह गर्ने किशोर ६ दशमलम ४ प्रतिशत छन् । विवाह भएका २७ दशमलव १ प्रतिशत किशोरी मध्ये ० दशमलब १ प्रतिशत किशोरीको सम्बन्ध विच्छेद भइसकेको छ । भने ० दशमलव २ प्रतिशत श्रीमान्सँग अलग भइसकेका छन् ।

तर त्यही तथ्याङ्क अनुसार महिला भन्दा पुरुष कम्तीमा चार बर्ष ढिलो बिहे गर्छन् । यही तथ्याङ्क अनुसार महिलाको विवाह गर्ने औषत उमेर १७ दशमलब ९ छ भने पुरुषका लागि २१ दशमलब ७ छ । १७ वर्षको उमेरमा बिहे गरेर सन्तान जन्माउन महिला शारीरिक र मानसिक दुवै रुपमा तयार भइसकेका हुँदैनन् । यसैगरी अहिले १७ प्रतिशत किशोरी आमा छन् । २०११ मा पनि यही तथ्याङ्क थियो । यसले किशोरी विवाह र मातृत्वको भयावह चित्र दिन्छ ।

दीर्घकालिन असर

१० देखि १९ वर्षसम्मको उमेरलाई सुनौलो वर्षका रुपमा पनि लिइन्छ । यही उमेरमा जिन्दगीका धेरै सपनाहरूको जग बस्छन्, सुनौलो भविष्यको महत्वपूर्ण खम्बा मानिएको पढाई मध्यतिर पुगिरहेको हुन्छ । तर, हतारको विवाहले जिन्दगीको सबैभन्दा सुनौला वर्षहरू नै गुमाउनुपर्छ भन्छन्, सिविन नेपालका धुब्र गौतम ।

उनका अनुसार २० वर्ष भन्दा पहिले महिलाको शरीर सन्तान जन्माउनका लागि पूर्ण रुपमा विकसित भइसकेको हुँदैन । त्यसैले किशोरी आमाले जन्माएका सन्तानको मानसिक र शारीरिक विकास अरु उमेर पुगेका आमाबाट जन्मिने बच्चाको जस्तो हुँदैन ।

त्यतिमात्रै होइन, आमा स्वयंले पनि आफ्नो पढाई पुरा गर्न सक्दिनन् । पढाइ पुरा गर्न नसकेपछि आउने थुप्रै अवसरहरूबाट वञ्चित हुनुपर्छ र समग्र आर्थिक विकासमा समेत असर पु¥याउँछ ।

अर्काे तर्फ घरमा कमाउने एकजनामात्रै हुँदा श्रीमान् र श्रीमती एकअर्काका भरथेग हुने बाचासहित किशोरावस्थामै गरेको विवाह सार्थक नबन्न पनि सक्छ । सधैभरी श्रीमान् र श्रीमान्को परिवारको भरमा बाँच्नुपर्दा यसले घरेलु हिंसा समेत निम्त्याउन सक्छ ।

सामाजिक रुपमा अरुभन्दा कमजोर भइन्छ र शरीर पनि उमेरभन्दा छिटै थलिन थाल्छ । र, किशोरावस्थामै विवाह गरेपछि देखिने यस्ता असरहरूले किशोरी र केही हदमा किशोरलाई पनि आफ्नो पुरानो निर्णय प्रति हिनताबोध हुँदै गइरहेको सिविन नेपालको अध्ययनले देखाएको छ ।

त्यसैले आर्थिक, सामाजिक, शारीरिक र मनोवैज्ञानिक चारै किसिमले कमजोर बनाउने गरेर विवाह गर्नुभन्दा बरु प्रेम बसेकै छ भने पनि त्यसलाई थाति राखेर उमेर पुगेपछि मात्रै विवाह गर्न उपयुक्त हुने विज्ञहरूको सुझाव छ ।

(पत्रकार बिनु काठमाडौंबाट पत्रकारिता गर्नुहुन्छ )

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: