‘क्षतिपूर्ति चाहिँदैन, टाउको र छातीमा गढेका गोलीका छर्रा निकालिदेउ’


प्रकाशित मिति :2018-03-26 17:12:29

–सन्देश सुब्बा–

१६ वर्ष अघि ‘मरे एउटा ज्यान, जीते सिंगो देश’ भन्दै युद्धमा होमिएकी उनको अनुहारमा कुनै चमक थिएन । बादल लागेको आकाश जस्तो उदास र धुम्म थियो उनको चेहरा । मानौं त्यसबाट बर्षात् हुन लागेको छ । युद्धमा जस्तो कोही, कसै प्रति आक्रोश र खेद पनि थिएन । कुनै बेलाकी निखुर क्रान्तिकारी उनी कसरी यति शालीन बनिन् ? सायद उनैलाई पत्तो छैन ।

नाम उनको अनुपा राई । वर्ष ३१ । जन्म घर ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीर । तर कर्मले डो¥याएर अहिले उनलाई पाँचथरको हिलिहाङ गाउँपालिका–७, सुभाङको एकचेपा गाउँ पु¥याएको छ । युद्धकालमै छापामार विवाह गरेका उनका श्रीमान मनकुमार राई चार वर्षदेखि मलेसियाको एक कम्पनिमा ओल्डिङको काम गर्छन् । छोरा १२ वर्ष पुगे । सदरमुकाम फिदिमस्थित नयाँ नमुना माविमा पढ्दैछन्– कक्षा सातमा । अनुपा सुभाङको एकचेपा गाउँमा सासुआमासँग बस्छिन् ।

२०५८ सालमा अनुपा टिनएज पार गर्दै गरेकी कल्कलाउँदो किशोरी थिइन् । भर्खरै आठ कक्षा पास गरेर नौ कक्षा पढ्दै थिइन्– कुइभीर माध्यमिक विद्यालयमा । माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोह उत्कर्षमा पुग्दै थियो । एकदिन विद्यालयमै माओवादीले कार्यक्रम ग¥यो । नेताहरूले भाषण गरे– गरीब, दुखीको मुक्तिको खातिर युद्ध लड्नु परेको हो । अनुपाको अपरिपक्क मस्तिष्कमा पनि गरीबको मुक्तिका लागि युद्ध लड्ने हुटहुटि चल्यो । अन्ततः अनुपासहित १५ जना सहपाठी एकैपल्ट मुक्तिको यात्रामा सामेल भए ।

पत्रकार महासंघ पाँचथर शाखा कार्यालयमा आफ्नो पीडा सुनाउँदै अनुपा

केही समय पछि अनुपा माओवादीको शैन्य फाँटमा पुगिन् । सँगैका साथीहरूलाई कहाँ–कहाँ खटाइयो, थाहा पाइनन् । त्यसपछि सुरु भयो अनुपाको छापामार जीवन । १० मंसीर २०५८ मा सोलुखुम्बुमा उनले पहिलो युद्ध लडिन् । त्यसपछि क्रमशः २२ माघ २०५८ मा काभ्रेको भकुण्डे, २४ बैशाख २०५९ मा भोजपुरको चैनपुर, २२ भदौ २०५९ मा सिन्धुलीको भिमान आक्रमणमा लडिन् । १० कार्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटर आक्रमण उनले लडेको अन्तिम युद्ध बन्यो । युद्धकालमा दुस्मनसँग छलिँदै भोकै–तिर्खै हिँडेका दिन–रात, साँच्चिकै अप्ठ्यारा परिस्थिति र दुस्मनलाई सिध्याउँन अपनाएका अनेक तरिकाहरू सम्झिँदा अनुपालाई अहिले सपना जस्तै लाग्छ ।

लीलबहादुर क्षेत्रिले कतै भनेका छन्– संयोगै संयोग त रहेछ जीवन । अनुपाको जीवन पनि संयोगै–संयोगले यहाँसम्म आइपुगेको छ । चैनपुर आक्रमणमा उनलाई गोली लाग्यो । गम्भीर घाइते भइन् । ‘आक्रमण गर्दै जाने क्रममा म सेनाको बङ्करमा पुगेछु’ उनले कहालीलाग्दो बिगत सम्झिन् ‘सात दिन जंगलमै बिताएँ । २१ दिन पछि पार्टीको सम्पर्कमा पुगेकी थिएँ ।’ उक्त आक्रमणमा ‘अनुपा मरेर गाडेर आयौं’ भन्ने रिपोर्ट युद्धमा सहभागी उनका साथीहरूले कमाण्डरकहाँ पु¥याएछन् । त्यसपछि अनुपालाई सहिद घोषणा गरियो । त्यो खबर अनुपाको घरमा पनि पुग्यो । तर बाबु–आमाले छोरी जीउँदै छ भन्ने आसामा काजकिरिया भने गरेनन् । पछि सम्पर्कमा पुग्दा कमान्डर छक्क परे ।

त्यही आक्रमणमा टाउको र छातीमा बिझेको छर्रा अनुपाले अझैसम्म बोकेर हिँडेकी छिन् । आजकल अनुपाको देब्रे पाटो चल्न गाह्रो हुन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौंको लाइफ केयर अस्पतालसम्म पुगिन । तर छर्रा निकाल्न सकिएन । द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर पार्टीको जिल्ला कार्यालय आएर फाराम पनि भरिन् । तर अहिलेसम्म कहीँ कतैबाट पनि क्षतिपूर्ति पाएकी छैनन् । क्षतिपूर्ति भन्दा पनि शरीरको छर्रा निकाल्न पाए हुन्थ्यो भन्ने छ उनलाई । आफ्नो उपचारका लागि कहाँ पुग्नुपर्छ, कति खर्च लाग्छ त्यो पनि थाहा नभएको अनुपा बताउँछिन् ।

युद्धकालको बेलाकी छापामार अनुपा

अनुपा पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा अझै आशावादी छिन् । ‘हामीले लडेको युद्धकै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो । फेरि पनि पार्टी सत्तामा पुगेको छ । म र म जस्ता युद्धपीडित भएकालाई पार्टीले हेर्नुपर्छ’ गत शुक्रबार आफ्नो समस्या बताउँन नेपाल पत्रकार महासंघको पाँचथर शाखा कार्यालयसम्म आएकी अनुपाले कारुणिक भावमा भनिन् ‘मेरो कुरा तपाईंहरू मार्फत पार्टीका ठूला नेतासम्म पुग्छ भन्ने विश्वास लिएकी छु, त्यसैले यहाँसम्म आएकी हुँ ।’

माओवादी केन्द्रका एक जिल्ला स्तरीय नेताका अनुसार सुरुमा पार्टीले द्वन्द्वपीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुट्न गएकाले उनलाई राज्य तर्फबाट कुनै सेवा–सुबिधा उपलब्ध गराउँन नसकिएको हो । ती नेताका अनुसार अनुपाको जसरी पनि उपचार गराएर छाड्ने अठोट पार्टीले लिएको छ । यद्यपि युद्धमा त्यती ठूलो त्याग र समर्पण गरेकी योद्धालाई पार्टीले अहिलेसम्म पनि केही गर्न नसक्नु दुर्भाग्य र विडम्बना हो । घाइते भएपछि पनि भिमान र रुम्जाटार युद्ध लडेकी अनुपालाई छोराको आमा बनेपछि पार्टीले शैन्य फाँटबाट बिदा दिँदा धेरै दुःख लागेको थियो रे ! उनले भनिन्– ‘लड्छु भन्दाभन्दै पार्टीले बिदा दियो । बीचैमा मोर्चा छोड्नुपर्दा रोएकी थिएँ ।’ अहिले श्रीमानको कमाईसँगै खेतिपाति र बनीबुतो गरेर गुजारा चलाइरहेकी अनुपाले युद्धमा लाग्दा देखेको मुक्तिको सपना भने पूरा भयो कि भएन ? उनै जानुन् ।

अनुपाको कुरा सुनिसकेपछि लाग्यो– पाइतालामा एउटा सानो काँडा बिझ्दा त हामीलाई चरम पीडाको अनुभव हुन्छ । उनले डेढ दशकदेखि कसरी शरीरमा छर्रा बोकेर हिँड्दै होलिन् ? जुन पीडाको हामी सायदै महसुस गर्न सक्छौं । आज पनि अनुपा जस्तै युद्धकालको गोली र छर्रा बोकेर बाँच्न विवशहरू थुप्रै छन् । सरकार ! उनीहरूले शरीरमा बोकेर हिँडेको गोली र छर्रा चाँडै निकालिदेउ ! मुलुकको यो परिवर्तनको हकदार उनीहरू पनि हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: