–कल्पना भट्टराई–
ललितपुर । सशस्त्र द्वन्द्वकालमा रोल्पाकी प्रेमकुमारी पुन गाउँकै लामिडाँडा प्राविमा पढाउँथिइन् । उनका श्रीमान देवप्रसाद पुन पनि सोही विद्यालयका स्थायी शिक्षक थिए ।
द्वन्द्वकालमा सरकारको सुराकी भन्दै माओवादी पक्षले मानसिक यातना दिन थाले । उनीहरु दुबै जना जागिर सँगसँगै गाउँ छोड्न बाध्य भए ।
विस्तापित भएको झन्डै दुई वर्षपछि प्रेमकुमारीले दाङको घोराही उप–महानगरपालिकास्थित नयाँ बजारमा अल्लो धागो तथा तयारी पोशाक उद्योग सञ्चालन गरिन् ।
प्रेमकुमारी भन्छिन्, ‘द्वन्द्वकालमा सरकारी जागिरे भएकै कारण माओवादी पक्षले मानसिक यातना दियो । जागिरै छोडेर हामी विस्तापित हुन पुग्यौँ । बाँच्ने आधार अरु केही नभएपछि व्यवसाय सञ्चालन गर्ने सोच आयो ।’ आफ्नी आमाले सानैमा सिकाएको सीपबाट व्यवसाय गरेको उनले बताइन् ।
२१ वर्ष शिक्षण पेशामा बिताएकी प्रेमकुमारीलाई आफू उद्यमी बन्छु भन्ने सोचेकी पनि थिइनन् । उनी भन्छिन्, ‘जागिर स्थायी भए पनि जीवन भने अस्थायी भयो ।’
एक्लै उद्योग चलाउन समस्या भएपछि उनले अन्य महिलाहरुसँग साझेदारी गरी प्रेमनिस नाम दिएर उद्योग चलाइन् । २०६९ सालमा चिनारी साझेदारी अल्लो उद्यमी समूह गठन भयो । समूह गठन भएसँगै घरेलु उद्योगमा उद्योग दर्ता गर्न सहज भयो । उनी अध्यक्ष रहेको उक्त उद्योगमा २१ महिला छन् । सो उद्योगको कूल पुँजी अहिले २९ लाख ८० हजार रुपैयाँ छ । उद्योगमा ७१ जना कामदार छन् ।
घरेलु उद्योग विकास समिति दाङले आफूहरुलाई समय–समयमा सिपमूलक तालिम समेत उपलब्ध गराउने गरेको प्रेमकुमारीले बताइन् । घरेलु उद्योग विकास समितिले नै उद्योगमा कम मुल्यमा मेसिन उपलब्ध गराएको छ ।
उद्योगबाट अल्लोको कपडा, जुत्ता, झोला, टोपी लगायतका सामाग्री बनाएर स्थानिय बजारमा बिक्रीका लागि पठाउने गरेको उद्योगकी अध्यक्ष प्रेम कुमारीले बताइन् । उद्योगमा कपडासँगै धागो पनि बिक्री गरिन्छ ।
उनी भन्छिन्, ‘पहिले बजार पाउन असहज थियो । तर अहिले उद्योगले राम्रो बजार लिएको छ । उद्योगबाट उप्पादन भएका सामाग्री स्थानीय स्तरमै खपत हुने गरेको छ ।’ उद्योगबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताइन् । उनी भन्छिन्, ‘निरन्तर काम गर्दा एक दिन सफल भइने रहेछ ।’
Comment Here!