पुरुषलाई सारी !


प्रकाशित मिति :2018-03-28 17:24:20

–सुशिला बुढाथोकी–

केही दिनअघि अनायासै मनमा खुल्दुली चल्यो ।

किन केटीले मात्रै सारी लगाउँछन्, केटाले लगाउँदैनन् ?

पुरुषले सारी लगाउँदैनन्, र कसैले किन लगाउँदैनौ भनेर सोधेको आजसम्म मैले सुनेकी छैन । पुरुषप्रधान समाजमा यस्तो प्रश्न सोध्ने दुस्साहस कसैले गर्दैनन्, किनकी यसले पहिरन होइन, महिलासित पुरुषलाई दाँज्छ, उनीहरूको मर्दाङ्गीलाई आघात पर्छ । आफूलाई महिलाभन्दा अब्बल र सक्षम ठान्ने भएकोले महिला हुनु पुरुषका लागि लज्जाको विषय हो । त्यसमाथि, समाजले महिलालाई निर्बल र कमजोर मानेको छ । महिला भन्दा बहादुर र बलवान् भइरहन पनि उनीहरू महिलासँग दाँजिन मञ्जुर छैनन् । कसैले सोधिहाल्यो भने पक्का छ, त्यो प्रश्न गर्ने पिटिनेवाला छ । यत्ति साह्रो रिस उठ्छ पुरुषलाई महिला हुने ‘अपमान’ सहँदा !

सुशिला बुढाथोकी

सारी त एउटा उदाहरण मात्र हो । पुरुषको अपमान महिलाको पहिरनले मात्रै होइन, महिलाको भनेर चिनिएका कतिपय सन्र्दभ र व्यवहारले पनि हुने गर्छ । महिलाको कुनै पनि कुरा पुरुषसँग दाँजिनु हुँदैन । खासगरि, छिट्टै रुने वा लजालु स्वाभावका पुरुषले महिला भएको ‘अपमान’ भोग्नु नौलो हुँदैन । सानो स्वर भएका, धेरै हाँस्ने र हाँस्दा हातले मुख छोप्ने लगायतका हाउभाउ कुनै पुरुषले देखाउँछ भने बुझौं, उसले महिला भएको ‘अपमान’ भोगेकै छ ।

अझैपनि समाजमा पुरुषले बहादुरी देखाउन नसक्दा कस्तो आइमाई जस्तो लाछी रहेछ, हातमा चुरा लगाएर बस् भन्ने जस्ता महिलाको मानमर्दन हुने खालका आरोप लगाइन्छ । यस्तो ‘महिलामय’ हुनै नहुने समाजमा पुरुषले महिलाको ठाउँमा आफू हुने कल्पना समेत गर्दैन र, गरेपनि उसले देखाउन चाहँदैन । त्यसैले, कुनै पनि समय महिला जस्तो नदेखिनेमा पुरुषहरू सजग छन् ।

आफ्ना संवेदना, भावना र आवेगलाई समेत ‘महिलाको’ ठान्दा पुरुषहरूले मनको वह समेत कसैलाई सुनाउन सक्दैनन् । पुरुषहरू आँखाभित्रै आँसु सुकाउँछन् । विभिन्न कारणले पीडित हुँदा समेत आफू फलानोबाट पीडित छु भन्न बडो सकस हुन्छ, उनीहरूलाई । अझ, पीडक चाँहि महिला परिन् भने उनीहरू बोले पो ! फेरि, उनीहरूले आफू कुनै महिलाबाट पीडित छन् भनेर भनिहाले पनि त्यसले जग हँसाउने बाहेक केही पनि गर्दैन । त्यहिकारण, बरु आडम्बर देखाएरै भए पनि पुरुष ‘पुरुष’ नै भइरहन्छन् ।

जन्म र कर्मले पुरुष र महिलालाई फरक बनाएकोले एकअर्काबिच वैमनस्यता हुनु, मित्रता हुनु, एकले अर्कोजस्तै बन्ने चाहना राख्नु वा एकापसमा आर्कषण हुनु सामान्य हो । यस्तै, दुवैमा धेरै मानवीय गुणको पनि समानता हुन्छ । तर, महिलाभन्दा जहिले पनि, हरेक कुरामा आफूलाई ठूलो, भिन्न ठान्ने कतिपय पुरुषका कारण महिला मानव नभएर केवल ‘महिला’ भएका छन् । उनीहरूका आवश्यकता, माग, पहिचान र सार्मथ्य ‘महिलाका कुरा’ मा संकुचित भएका छन् । अनि, धेरै महिला आफ्नो कामले चिनिन सकेका छैनन् ।

महिलालाई कमजोर मानेर गरिने हिंसाका फेहरिस्त झन् भनिसाध्य छैन । छोरा जन्माउन छोरीको भ्रुण हत्या गर्नेदेखि, बच्चैदेखि छोरालाई मात्र विशेष भएको अनुभूति दिलाइरहने सामाजिक चलनले महिलालाई सानैदेखि विभेद सहन र पुरुषलाई सो विभेदको साक्षी बनाइरहेको हुन्छ । यस्तो सामाजिक संस्कारविच हुर्केका पुरुषले महिलालाई आफू सरह कसरी ठान्न सक्छन् ?

अर्कोतिर, छोरीलाई दिइने शिक्षा, संस्कारमा पुरुषलाई आफूभन्दा ठूलो मान्नुपर्ने सिकाइन्छ । घरभित्र, बाहिर, सडकदेखि सदनसम्म पुरुषकै वर्चस्व हुँदा आम महिलाले कहिल्यै आफूलाई अधिकार र योग्यतामा पुरुष सरह ठान्दैनन् । महिलालाई जहिल्यै पुरुषको संरक्षणमा बस्नुपर्छ । आज पनि हाम्रै समाजमा कतिपय महिलाले श्रीमान्सँगै बसेर खान, घरका अन्य पुरुष सदस्यलाई सीधा आँखाले हेर्न र राम्रो संवाद गर्न सक्दैनन् । त्यसमाथि, महिलाले आफ्नो पहिचान र अधिकार समेत पुरुषले दिएपछि मात्रै पाउने भएकोले पुरुषले आफूलाई सर्वोपरि ठान्नु जायजै देखिन्छ ।

तर, आजका महिला यस्तो असमान सम्बन्धका बावजुद आफ्नो योग्यता र सामथ्र्यलाई तिर्खान चाहन्छन् । संसारमा कुनै पनि त्यस्ता काम छैनन्, जुन महिलाले नगरेका हुन् । सेना, प्रहरी, डाक्टर, इन्जिनियर, वकिल, पाइलट, वैज्ञानिक लगायत पुरुषहरू मात्र हुने संसद र देशको उच्च पदस्थ पदमा समेत महिलाहरू पुगेका छन् । सामान्य तहमा पुरुषहरूले मात्र गर्दै आएका प्लम्बिङ, ड्राइभिङ, पेन्टिङ, कार्पेन्टिङ, वाइरिङ, मेकानिक्स, इलेक्ट्रोनिक्स, मिस्त्री लगायत खतरनाक र साहसिक मानिएका धेरै काममा उनीहरू संलग्न देखिन्छन् ।

महिलाले आफूलाई परम्परागत भन्दा भिन्न काममा संलग्न बनाउन चाहेको सकरात्मक नै भएपनि धेरै क्षेत्रका पुरुष सहपाठीहरू भने उनीहरूलाई ‘पुरुष’ हुन खोजेको आरोप लगाउँछन् । त्यसैले त, कुनै पुरुष डाक्टरलाई ‘तपाइँ फलानो महिला डाक्टर जस्तै जेहन्दार हुनुहुँदो रहेछ’ भनेको कत्ति पनि मन पर्दैन । अनि, कुनै पुरुष प्लम्बरको अगाडि महिला प्लम्बरको तारिफ गर्नुस्, भोलिदेखि तपाइँको काम नै रोकिनेछ ।

पुरुष हुँदैमा सक्षम, बलवान हुने र महिला हुँदैमा पीडित, कमजोर हुने हुँदैन । अनि, महिला अघि बढे भन्नुको अर्थ पुरुष पछाडि परे भन्ने पनि होइन । महिला र पुरुष दुवै सक्षम हुनुपर्ने आजको युगमा सक्षम जो छ, उसले अर्कोलाई सहयोग गर्नुको विकल्प छैन ।

महिलाले गर्दै आएका काम झन् पुरुषले गर्ने कुरै भएन । पत्नी दिनभर कार्यालयमा आफू सरह खटिएपनि पुरुषले घरधन्दा नर्गने कारण यहि हो । घरको सरसफाई, बालबच्चाको हेरचाह\सरसफाई, किनमेल, भान्छाको काम लगायत ‘महिलाको’ मानिएका कुनै पनि काममा पुरुषको रुचि नहुनुको अरु कुनै कारण छैन । पुरुष अहम्का कारण पत्नीको माया भए पनि उसले घरधन्दामा सघाउन सक्दैन । घरधन्दा मात्र होइन, महिलाले गर्दै आएका सिलाई बुनाई, हस्तकला, खेतीपाती लगायतका काममा पनि पुरुषले खासै रुचि देखाउँदैनन् । समाजले समेत महिलाले गर्दै आएका कामलाई हेयको भावले हेर्ने र पत्नीसँग मिलेर काम गर्नेलाई जोइटिङग्रेको उपमा दिने भएकोले यस्ता काममा पुरुष अगाडि सर्दैनन् ।

आर्थिक, सामाजिक, बौद्धिक, शारीरिक आदि विभिन्न कुरामा समान नठानिएकैले पुरुषले महिलालाई कहिल्यै पनि प्रतिस्पर्धीको रुपमा लिँदैनन् । लिंगका आधारमा कसैलाई सबल र सक्षम ठान्नु वा कमजोर ठान्नु एक खालको विभेद नै हो । मानिसको सक्षमता जाँच्ने विभिन्न कडी हुन्छन्, जुन समय र परिस्थिती अनुकूल परिवर्तित हुन्छन् । पुरुष हुँदैमा सक्षम, बलवान हुने र महिला हुँदैमा पीडित, कमजोर हुने हुँदैन । अनि, महिला अघि बढे भन्नुको अर्थ पुरुष पछाडि परे भन्ने पनि होइन । महिला र पुरुष दुवै सक्षम हुनुपर्ने आजको युगमा सक्षम जो छ, उसले अर्कोलाई सहयोग गर्नुको विकल्प छैन ।

साँच्चै, पुरुषहरू सारी लगाएर हिँड्दा कस्ता देखिँदा हुन् ? के पुरुषले कहिल्यै सारी लगाउनेबारे सोचेका छन् ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र व्यथा लुकाएर ओठमा

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: