३६ वर्षपछि श्रीमानको माया


प्रकाशित मिति :2018-03-29 11:16:46

–गोमा केसी–

सिन्धुपाल्चोक । पातली थापा मगर जसले विवाहको ३६ वर्षमा धेरैजसो दिन श्रीमानको कुटाई खाईन् । यो अवधिमा अधिकांश समय श्रीमानको कुटाइबाट आफूलाई कसरी जोगाउने भन्ने चिन्ता खेपिन् ।

एकातिर एक्लै जिम्मेवारी लिएर छोराछोरी हुर्काउन धौ–धौ उनलाई । अर्कोतर्फ श्रीमानबाट आफ्नै शरीरको अंग जोगाउन मुस्किल थियो । कतिबेला कुन अंग भाँचिने, टुट्ने वा घाउ हुने हो त्रासमा हुन्थिन् ।

घरेलु हिंसा विरुद्ध उजुरी दिँदै पातली

तर आज त्यो चिन्ता हटेको छ । श्रीमानको माया पाएर दंग छिन् पातली । ‘श्रीमानले कुनै दिन माया गर्लान् भन्ने सोच्नै छोडेको थिएँ । अहिले त जीवनै फेरियो जस्तो लागेको छ । श्रीमानले माया गर्छन् ।’

सुनकोशी गाउँपालिका ३, पुरानकोटकी ५६ वर्षीया पातलीको विवाह २०३८ साल माघ २३ मा भएको थियो । विवाहको ३ वर्ष सगोलमा बसेपछि श्रीमान ताराबहादुर तामाङ र पातली छुट्टिएर बसे । उनीहरूको दाम्पत्य जीवन खुसीयाली नै थियो । २०३९ मा छोरा जन्मेपछि पातलीको परिवारमा खुसी थपियो, उनको व्यक्तिगत जीवनमा भने दुःख ।

जेठो पछि क्रमशः दुई छोराहरूलाई जन्म दिइन पातलीले । श्रीमान ताराबहादुरले भने उनलाई दिनहुँ विभिन्न निहु खोजेर कुट्न थाले । त्यतिबेलादेखिको कुटाई ३६ वर्षसम्म उनले सहिन् ।

यसरी मिल्यो न्याय
सञ्चारिका समूहसँगको सहकार्यमा न्याय तथा अधिकार संस्था (जुरी) नेपालले न्यायमा पहुँच परियोजना अन्र्तगत सुनकोशी गाउँपालिकाको पुरानकोटमा गएको असार १२ गते समुदायबीच छलफल चलाएको थियो ।

संयोगले त्यही तालिममा सहभागी पातलीले ३ दशक बढीको श्रीमानको यातना बारे मनको गाँठो फुकाएकी थिइन् ।

घरेलु हिंसा (कसुर तथा सजाय) ऐन २०६६ अन्तर्गत स्थानीय तहमा हिंसाको उजुरी गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप आफूमाथि श्रीमानले गर्दै आएको हिंसा विरुद्ध जुरी नेपालको सहयोगमा पातलीले वडा कार्यालयमा निवेदन दिइन् । तर, वडा कार्यालयमा भएको छलफलबाट निष्कर्ष निस्किएन । त्यसपछि पातलीले जिल्ला प्रहरी कार्यालय सिन्धुपा

न्यायमा पहुँच अन्तर्गतको छलफलमा सहभागी महिलाहरु  

ल्चोकमा श्रीमान् विरुद्ध उजुरी दिईन् । उजुरी लगतै जिल्ला प्रहरी कार्यालयले उनका श्रीमान ताराबहादुर थापा मगरलाई पक्राउ गरी हिरासतमा राख्यो ।

प्रहरी कार्यालयमा छलफल भएपछि ताराबहादुरले गल्ती स्वीकार गरे । उनले पातलीलाई कुटपिट नगर्ने प्रतिबद्धता पनि गरे । यद्यपि, पटक पटक नकुट्ने भन्दै पुनः कुट्ने गरेका श्रीमानको कुरा पातलीले पत्याइनन् । पातलीले मिलापत्र गर्न नमानेपछि उनलाई साप्ताहिक तारिखमा छाडिएको थियो । असार १८ गते उनीहरुबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएको थियो ।

अहिले दुवैको परिवारमा मिलन भएको छ । श्रीमान श्रीमती दुबै मिलेर बस्न थालेका छन् । केही समय काठमाडौं बसेका पातलीको परिवार अहिले घर निर्माणका लागि गाउँमा आएका छन् ।

पातलीले आफ्नो जीवनमा नसोचेको खुसी फर्किएको बताईन् । भन्छिन्, ‘जीवनमा यस्तो खुसी आउला भन्ने सोचेकै थिईन ।’

यस्तो थियो हिंसाको श्रृङ्खला

साविकको कालिका गाउँ विकास समिति र हालको सुनकोशी गाउँपालिका–३ कालिका, पुरानकोटकी पातली थापा मगर ५६ वर्ष भइन् ।

स्थानीय ताराबहादुर थापा मगरसँग परिवारको सहमतीमा मागी विवाह भएको थियो । ताराबहादुरले जेठो छोरा जन्मेदेखि नै उनलाई दिनहुँ विभिन्न निहुँ खोजेर कुटपिट गर्न थाले । पातली कुटिने श्रृङ्खला यसरी बढ्यो की उनका एउटा छोराको विवाह भइसक्दा पनि उनले कुटाई खाने क्रम रोकिएन ।

घरबाट काम गर्न जाँदा समेत श्रीमान्ले चरित्रमा शंका गर्थे । पातलीले मेलमिलाप अघि भनेकी थिईन्, ‘घरबाट निस्किनै हुन्न । बेलुकी कुटाई खाइहाल्नुपर्छ ।’

छोराहरू जन्मेदेखि नै ज्याला मजदुरी गरेर छोराहरू हुर्काइन् । उनका अनुसार छोरा हुर्काउने खर्च समेत कुनै दिन श्रीमान्बाट पाइनन् ।

‘मैले छोराहरू हुर्काउन धेरै दुःख गरें, श्रीमान बिहानदेखि नै पुरानकोटमा गएर रक्सी खान्थे । म भने दुधको क्यान बोकेर सुकुटे जान्थें ।’ उनले भनिन्, ‘सुनकोशीमा बालुवा झिकेर छोराहरू हुर्काएँ, धेरै दुःख गरें । तर पनि श्रीमानबाट कहिल्यै सुःख पाइन ।’ आफूले अहिले पनि सुनकोशीको बालुवा झिकेर जीवन निर्वाह गर्दै आएको पातलीले बताइन् ।

श्रीमानको सधैको कुटाइले उनको देब्रेतिरको तीन वटा करङ नै भाँच्चिएको छ । करङ मात्रै होइन मुखमा मुक्का हान्दा माथिल्लो पट्टिको दाँत भाँच्चिएको छ । उनले भनिन्, ‘दाँत नभएर साह्रो चिज चपाउन सक्दिन ।’

कुटाई सहन नसकेर २०७३ साल माघ १६ गते श्रीमान्सँग छुट्टिएर पनि बसिन् । पातली एक्लै बसे पनि श्रीमान आएर बेला बेलामा मदिरा पिएर कुट्थे ।

कुटपिटको श्रृङ्खला सुनाउँदै पातलीले भनिन्, ‘भुकम्पले घर लड्यो । राहत कार्ड मेरो नाममा बनेको थियो । सरकारको अनुदान लिन सुकुटे गएँ । ५० हजार लिएँ । तर पैसा पाउनेबित्तिकै पैसा दे भन्दै बजारमै लखेट्यो ।’

उनले थपिन्, ‘अरुले छुटाएपछि बल्ल बाँचे । राहत कार्ड दिएन भनेर विभिन्न संघ संस्थाहरूले दिएको सामग्री समेत सबै बारीमा लगेर फालिदियो ।’

कुटाई हिंसा भन्ने थाहा थिएन

‘पाले पुण्य, मारे पाप’ भनेर बाआमाले पातलीलाई ताराबहादुरको हातमा सुम्पिए । उनलाई पनि लाग्थ्यो ‘श्रीमानै उस्तो भएपछि सहनुपर्छ ।’

‘न्यायको पहुँचको छलफलमा आउनुअघि उनलाई घरेलु हिंसामा परेको छु भन्ने थाहा नै रहेनछ’ जुरी नेपालका कानुन अधिकृत भेषराम ढकाल भन्छन्, ‘हामीले समुदायमा छलफल गरेपछि उनलाई पनि न्याय पाइन्छ भन्ने थाहा भयो ।’

ढकालका अनुसार छलफलमै उनी चरम घरेलु हिंसामा परेको थाहा भएपछि जुरी नेपालले उनलाई न्यायिक प्रकृयामा आउन सहयोग गरेको थियो ।

(गोमा केसी सिन्धुपाल्चोकबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: