–महिला खबर–
ललितपुर । धनुषामा बुधबार राती १३ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् ।
बुधबार राती आफ्नै घरमा सुतिरहेकी बालिकालाई सुतेको ओच्छ्यानबाटै उठाएर खेतमा लगि स्थानीय दुई जनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय यदुकूहाका इन्चार्ज इन्स्पेक्टर पवन झाले महिला खबरलाई बताए ।
इन्स्पेक्टर झाका अनुसार बालिकाका आमा बुबा बुधबार घर थिएनन् । घरमा मानसिक समस्या भएकी बालिकाकी फूपु र बालिका मात्रै थिए ।
राती १० बजे आएका दुई युवाले घरबाट एक किलोमिटर पर खेतमा लागि बालिकालाई समूहिक बलात्कार गरेका हुन् ।
‘बालिकाको शारीरिक अवस्था देखेर नै बलात्कार पुष्टि हुन्छ’ इन्स्पेक्टर झाले महिला खबरसँग भने, ‘उनको थप स्वास्थ्य अवस्थाबारे जाँच गर्न अञ्चल अस्पताल जनकपुर पठाएका छौं ।’
बालिकाले बलात्कारमा संलग्न २ जनाको नाम किटेरै प्रहरीलाई जानकारी गराएकी छिन् । प्रहरीका अनुसार किटानी जाहेरी भने दिन बाँकी रहेको छ ।
इन्स्पेक्टर झाले घटनामा संलग्न भनिएका दुबै जनाको खोजी भइरहेको जानकारी दिए ।
Comment Here!