प्रसूति गृहको बिजोगः हैरान व्यहोर्दै गर्भवती


प्रकाशित मिति :2018-03-29 17:18:15

–कल्पना भट्टराई–

मितिः २०७४ चैत १४ गते , बुधबार ।

स्थानः परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली

ओपिडी ब्लकको भूँईतला गर्भ जाँचको रिपोर्ट लिनेको भीडले खचाखच छ । भीडबाट अल्लि वर कुनामा छिन् निशा माझी । ९ महिनाकी गर्भवती निशा पनि रिपोर्ट लिनेमध्येकै एक हुन् ।

बिहान ७ बजे गर्भको भिडियो एक्सरे गरेर रिपोर्ट कुरिरहेकी छिन् । दिउँसोको २ बजिसकेको छ । उनी थाकेकी देखिन्छिन् । भनिन्, ‘२\३ घण्टामा रिपोर्ट आउँछ भनियो । अहिलेसम्म आएको छैन ।’

बैशाख ४ गतेलाई डाक्टरले सुत्केरी हुने मिति तोकिदिएको छ । काठमाडौं चावहिलकी १८ वर्षीया निशा पहिलो पटक आमा बन्न लागेकी हुन् ।

उनी बसेको देब्रेतिर शौचालय छ । एकातिर शौचालयको गन्धले त्यो ठाँउमा बसिसक्नु थिएन, अर्कोतिर मान्छेको भीड उस्तै बाक्लो । त्यसमा पनि पालो कुर्नु पर्ने बाध्यताले निकै दिक्क थिइन् उनी ।

उनी मात्रै होइन अस्पतालमा रिपोर्ट लिन कुरेका महिलाहरू शौचालयको गन्धले हैरान थिए । बुढानिलकण्ठ, चपली बस्ने २५ वर्षकी स्वस्तिका रुम्बा पनि बिहान ६ बजे भिडियो एक्सरे गर्न आएकी रहिछन् । दिउँसोको दुई बजिसक्दा पनि रिपोर्टको पालो आएको थिएन । त्यसै त वाकवाक लाग्ने, उल्टी हुने, झर्को लाग्ने, रिस उठ्ने गर्भावस्थाका महिलाहरू अस्पतालको शौचालयबाट निस्केको दुर्गन्ध, अव्यवस्थित भिडले झनै ठूलो हैरानी व्यहोरिरहेका थिए ।

उनले भनिन्, ‘रिपोर्ट नआएर हैरान छु ।’ सुत्केरी गराउने अस्पतालमा फोहर देखेर उनी झनै दिक्क छिन् । ‘सरकारी अस्पताल सफा हुनुपर्ने । तर कसैलाई वास्ता नै छैन ।’ ५ महिनाकी गर्भवती स्वस्तिकाले थपिन्, ‘ट्वाइलेटमा प्याड नै प्याड छ । छिर्नै सकिँदैन । जताततै दिसापिसाव छ । भित्र पस्यो की उल्टी आउँछ ।’ शौचालयको अवस्था देख्दा दिसा पिसाब नै रोकेर बस्नु परेको उनले बताइन् ।

प्रसूति गृह गरिबहरूको अस्पताल हो । सरकारी लगानीमा खुलेको अस्पतालले झन गुणस्तरीय सेवा दिनुपर्ने हो । तर, यहाँको भताभुंग व्यवस्थापनले गर्दा गर्भवतीलाई गेटबाटै छिर्नै सकस छ ।

सानोठिमी भत्तपुरबाट गर्भ जाँच गराउन अस्पताल पुगेकी ८ महिनाकी गर्भवती अस्मिता कार्की यताउता गरिरहेकी थिईन् । मान्छेको भिडमा उनले बस्ने ठाउँ पनि पाएकी थिईनन् । भिडियो एक्सरेको रिपोर्ट कुरेर बसिरहेकी कार्कीले भनिन्,‘बस्ने ठाउँ पनि नपाईने । यस्तो पनि अस्पताल ।’

उनले अस्पतालमा डाक्टर पनि नभेटिने गरेको गुनासो गरिन् । ‘अस्पतालको सबै सेवा सुस्त छन् । अस्पताल आउँदा गर्भवतीलाई त झन सजिलो हुनुपर्ने । यहाँ त झनै बिरामी परिएला झैं हुन्छ’ उनले भनिन् ।

बस्ने ठाउँ पनि छैन

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा सुत्केरी गराउन आएका महिलाहरूका आफन्तहरूलाई बस्ने ठाउँ पनि छैन । अस्पतालमा बस्ने ठाउँ नभएपछि उनीहरू भुइँमै बस्ने गरेका छन् ।

काठमाडौंको डल्लुकी तराना खान सुत्केरी व्यथा लागेपछि अस्पतालमा भर्ना भएकी छन् । उनीका श्रीमान, आमा र नन्द भने अस्पतालको चिसो भुईंमा बसेर तरानालाई कुरिरहेका थिए ।

बस्ने ठाउँ नहुँदा सुत्केरी महिलाका कुरुवाहरू मात्रै होइन स्वयम् गर्भवती महिलाहरूलाई पनि निकै समस्या हुने गरेको छ । गर्भवती अवस्थाका ती महिलाहरू चिसो भुईंमा बसेर पालो कुर्न बाध्य छन् ।

अस्पतालको ४ सय १५ बेड मध्ये २ सय ७० बेड भूकम्पमा भत्कियो । अस्पतालमा गर्भवती सुत्केरी महिलाको चाप बढ्दै छ । त्यसमा पनि एक ४५ बेडमा सुत्केरी गराउनु पर्ने बाध्यताले अस्पताल साँघुरिएको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए ।

उनले भने ‘पुरानो अस्पताल भत्काएर नयाँ बनाउन थालेकाले पनि ठाउँ साँघुरो भएको हो ।’ उनले शौचालयमा भएको फोहोरबारे भने आफूले बुझ्नुपर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: