हारले दिलाएको ‘हाइट’


प्रकाशित मिति :2018-03-30 17:18:24

–कल्पना भट्टराई–

‘महिला आरक्षण खोज्छन्, प्रतिस्पर्धी बन्न चाहँदैनन्’ राजनीतिमा लागेका महिलालाई लाग्ने आरोप हो यो । राजनीतिमा लागेका महिलाहरू चाहिँ यो आरोप खण्डन गर्छन्, ‘महिलालाई हार्ने ठाउँमा टिकट दिइन्छ ।’ राजनीति गर्ने महिलाहरूको यो भनाइलाई पुष्टि गर्ने बलियो आधार हुन्, – पार्वती रावल ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य पार्वती रावलले तीन पटकसम्म प्रत्यक्षमा निर्वाचन हारिन् । २०६४ साल जतिबेला देश माओवादीमय भएको थियो, त्यतिबेला चितवनको निर्वाचन क्षेत्र ४ बाट पार्टीले टिकट दियो । एकीकृत नेकपा माओवादीका उम्मेदवार चित्रबहादुर श्रेष्ठसँग रावल पराजित भइन् ।

२०७० सालको अर्को संविधानसभा निर्वाचनमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालासँग हार्ने निश्चित हुँदाहुँदै पार्वती रावललाई पार्टीले टिकट दियो । तर, पार्वती रावल पछि हटिनन् । चुनाव लडिन् । यद्यपि निर्वाचनमा पराजय भोग्नुपर्यो ।

दुई क्षेत्रबाट विजयी भएका कोइरालाले चितवनको ४ नम्बर क्षेत्र छाडेपछि पनि उनी नै उम्मेदवार बनिन्, पराजित पनि । ‘चितवनको निर्वाचन क्षेत्र नम्बर ४ नेपाली काँग्रेसको गढ मानिन्छ । पराजय त निश्चित जस्तै थियो ।’ पार्वती भन्छिन्, ‘पार्टीले टिकट दिएपछि मैदानबाट भाग्नु कायरता प्रदर्शन गर्नुसरह थियो ।’

सायद कम आँटिला महिला थिए भने पटक–पटकको पराजयबाट विचलित हुन्थे होलान् । पार्वतीलाई भने पटक–पटकको पराजय चुनावी अनुभव बटुल्ने र अब्बल राजनीतिज्ञ बन्ने दरिलो आधार बनिदियो । भन्छिन्, ‘निर्वाचनमा पराजित भएपछि पनि पार्टीको काम र सामाजिक काममा सँधै लागिरहें ।’ तीन–तीन पटक निर्वाचन हारिसकेपछि पनि विचलित नभएकी पार्वतीले चौथो पटक भने जितेरै छोडिन्, –राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर ।

पार्टीले क्षमता भए पनि महिलाको नेतृत्व सजिलै विश्वास नगर्ने उनको अनुभवले बताउँछ । ‘हामी प्रतिस्पर्धी बन्न तयार छौँ । तर, महिलालाई प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने वातावरण बनाइनु पर्छ’ उनले भनिन् ।

राजनीतिक यात्रा

२०४६ सालमा पञ्चायत विरुद्ध आन्दोलन चर्किएको थियो । त्यतिबेला पार्वती पाँच कक्षामा पढ्ने स्कूले विद्यार्थी थिईन् । त्यही समय पञ्चायती शासनको विरुद्धमा गरिएको एक कार्यक्रममा सहभागी हुने अवसर पाइन् ।

माथिल्लो कक्षामा पढ्ने एक दिदीले पञ्चायतको विरुद्धमा गरेको भाषण सुनेर उनी दंग परिन् । त्यसअघि उनलाई लाग्थ्यो, भाषण त केटाहरूले मात्रै गर्छन् । किनकी उनले केटाहरूले मात्रै भाषण गरेको देखेकी थिइन् ।

त्यहि दिनदेखि पार्वतीले बुझिन्, राजनीति महिला पुरुष दुवैले गर्न सक्ने रैछन् । अनि उनलाई पनि राजनीतिले तान्यो । उनले मनमनै सोचिन् ‘केटीले पनि यति राम्रो भाषण गर्न सक्ने रहेछन् ।’ त्यहिबेलाको राजनीति भोक आजसम्मको यात्रामा अविरल छ ।

चितवनको खैरहनी नगरपालिका ४, मा जन्मिएकी पार्वतीले २०५१ सालमा एसएलसी पास गरिन् । एसएलसी पछि चितवनकै रत्ननगरस्थित शहिद स्मृती बहुमुखी क्याम्पसमा भर्ना भइन् । क्याम्पसमा अनेरास्ववियु प्ररारम्भिक कमिटीको सह–संयोजक भएर काम गर्ने अवसर पाइन् । उनले सो कमिटीको संयोजकको पनि भूमिका निर्वाह गरिन् ।

स्ववियु निर्वाचनमा नेविसंघले मात्रै जित्ने गरेको सो क्याम्पसमा उनी कमिटीको संयोजक भएपछि पहिलो पटक स्ववियू सभापतिमा अखिलले जित्यो ।
उनी राजनीतिमा अझ हौसिइन् । जनवर्गीय संगठनबाट पार्टी राजनीतितर्फ यात्रा लम्किन थाल्यो । २०५५ सालमा पार्टीको वडा सचिव भएर काम सुरु गरिन् ।

राजनीतिक यात्राले उनलाई नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको पहिलो महिला जिल्ला अध्यक्ष बन्ने अवसर पनि दिलायो । ‘आँट गरे सफल हुन सम्भव छ’ भन्ने उक्ति उनको जीवनसँग मेल खान्छ ।

आम बुझाइमा युवा संघ भनेको लड्ने भिड्ने युवा दस्ता हो । महिलाले त्यसको नेतृत्व कसरी गर्न सक्लान् ? भन्ने थियो । पार्वती भन्छिन्, ‘त्यसैले महिला भएकोले सहजै अध्यक्ष हुन दिएनन् ।’

पार्वतीले आँटिन् । अन्ततः २०६३ सालमा युवा संघ नेपालको पहिलो महिला जिल्ला अध्यक्ष बनिन् । अध्यक्ष भएपछि जिल्लामा संघको संगठन विस्तार गरिन् । उनको यो कामले पार्टीलाई उनीप्रति विश्वास गर्न कर लाग्यो । त्यसपछिको खुसी, ‘पार्टीले नगदसहित सम्मान ग¥यो ।’

त्यसपछि पार्वती पार्टीको जिल्ला संगठन सदस्य, उपसचिव हुँदै हाल नेकपा एमाले चितवनको पार्टी सचिवको जिम्मेवारीमा छिन् ।

समाजशास्त्र बिषयमा स्नातकोत्तर पार्वती अहिले राष्ट्रियसभा सञ्चालन नियमावलीको सदस्य पनि हुन् । उनको अनुभवले भन्छ, ‘राजनीतिमा इमान्दारिता र धैर्यता गर्न सकियो भने एक दिन अवसर पाइन्छ ।’

सामाजिक यात्रा

गाउँ वरपर मात्रै होइन, जिल्लामा महिलामाथि अन्याय भएको कुनै घटना भए अधिकांशले सम्झिने नाम हो – पार्वती रावल । महिलाको न्यायको लागि उनी जिल्लाका अधिकारकर्मीमाझ ‘साझा नेता’ को रुपमा परिचित छिन् ।

चितवनमा लामो समयदेखि महिला अधिकारका क्षेत्रमा क्रियाशील मीना खरेल भन्छिन्, ‘महिला बालबालिकाको न्यायको लागि उहाँ सबैले स्वीकार गर्ने साझा नेता हुनुहुन्छ ।’

खरेलका अनुसार नेकपा एमालेको दलीय प्रतिनिधि हुँदाहुँदै पनि हिंसा विरुद्ध राजनीतिक पार्टी, स्वार्थभन्दा माथि उठ्छिन् ।

रावल आफै पनि आफ्नो सामाजिक न्यायको यात्राको विश्लेषण गर्दै भन्छिन्, ‘चितवनमा सबै राजनीतिक दलका महिलामाथि हुने हिंसाको विरुद्ध लड्ने वातावरण बनाउन समेत पहल गरें, गरिरहनेछु ।’

२०६८ सालमा स्थानीय विकास मन्त्रालय अन्तर्गतको महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर पनि काम गरिन् उनले । सबै पार्टीका महिलाहरूको प्रतिनिधित्व रहेको सो समितिमा उनले महिलाको सवालमा अगाडि बढ्ने वातावरण समेत बनाएकी थिइन् ।

पार्वती भन्छिन्, ‘चितवनमा असहाय बालबालिकालाई पुनस्र्थापनाका लागि भवन निर्माण काम पनि मेरै नेतृत्वमा सुरु गर्यौं ।’

चितवनको माडीमा कथित बोक्सीको आरोपमा जीउँदै जलाइएकी ढेगनी देवी महतोका आरोपीलाई सजाय दिलाउन लागि परेकी थिइन् । उनका दुई छोराछोरीलाई एसो.एस. बालग्राममा पढ्ने र बस्ने व्यवस्था समेत गरिदिएको पार्वतीले बताइन् ।

आमा सांसद

पहिलो सन्तान जन्माएको १३ वर्षपछि सात महिनाअघि पार्वतीले दोस्रो छोरा जन्माइन् । गर्भावस्थामा स्थानीय तह निर्वाचन र सुत्केरी अवस्थामा प्रदेश र संघको निर्वाचनमा जिल्ला सचिवको हैसियतले एमालेलाई पहिलो पार्टी बनाउने जिम्मेवारी थियो, उनको काँधमा ।

गर्भावस्थामा स्थानीय निर्वाचनमा व्यस्त भइन् । २०७४ साउन १६ गते दोश्रो सन्तानको रुपमा छोरालाई जन्माइन् ।

सुत्केरी अवस्थामा नै प्रदेश र संघको निर्वाचन थियो । मंसिर २१ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर ३ मा कार्यकर्ता परिचालन उनको जिम्मेवारी थियो ।

‘गर्भवती र सुत्केरी अवस्थामा पनि पार्टीको जिम्मेवारी निर्वाह गरें ।’ गौरवका साथ उनले सुनाईन् ।

पहिलो सन्तान पनि ०६२\०६३ को जनआन्दोलन ताका जन्माएकी थिइन् । आन्दोलनले सडक तातेको थियो । मन थाम्न नसकेर आन्दोलनमा होमिइन् । सुत्केरी बेथा लागेपछि सडकबाटै उनलाई अस्पताल पु¥याइयो । छोरा जन्माइन ।

पारिवारिक सहयोग

३९ वर्षीया पार्वती यतिबेला छोरा हुर्काउँदै राष्ट्रियसभा सांसदको जिम्मेवारी निर्वाह गर्दैछिन् ।

निरन्तरको राजनीतिक यात्रालाई श्रीमान् दिनेशकुमार थापाले सहयोग गरेका छन् । सासूससुराले समेत घर धानिदिएर पार्वतीलाई नेता बनाउन उत्तिकै सघाएका छन् ।

‘पारिवारिक सहयोग भएकै कारण राजनीतिमा टिकिरहन सकेको छु’ पार्वती भन्छिन्, ‘तीन पटक निर्वाचनमा पराजित भए पनि श्रीमान र परिवारले गर्ने सहयोग भने कहिल्यै कम भएन ।’

उनले राजनीति सुरु गरेको २५ वर्ष पुगिसक्यो । २५ वर्षे राजनीति कालमा उनले बुझेको कुरा भनेको राजनीति सेवा हो । तर, अहिले राजनीति पेसा बन्दा यसप्रति नागरिकको विश्वास गुमेको उनको बुझाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: