-गोमा खत्री-
सिन्धुपाल्चोक । महिलाहरुलाई अदालती प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले सिन्धुपाल्चोक जिल्ला अदालतले न्यायिक संवाद कार्यक्रममको आयोजना गरेको छ ।
जिल्ला अदालत सिन्धुपाल्चोकले आयोजना गरेको महिलाहरुका लागि न्यायिक संवाद कार्यक्रममा सहभागी हुन आएका विभिन्न क्षेत्रका महिलाहरुले अदालतमा हुने मुद्दाको प्रक्रिया र न्याय प्राप्तीका बारेमा जिज्ञासा राखेका थिए ।
महिला हिंसाबाट पीडित हुने भएपनि अदालती प्रक्रियाको बारेमा अधिकांश महिलाहरु अनभिज्ञ हुने भएकाले न्याय प्राप्तीको विषयमा महिलाहरुलाई अधिक जानकारी गराउने उदेश्यले न्यायिक संवाद कार्यक्रम गरिएको जिल्ला अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।न्यायिक संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेतृहरुको सहभागीता थियो । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पारजुली लगायतका महिला नेतृहरुले महिलाहरुलाई अदालती प्रक्रियाको बारेमा स्थानीय स्तरमा पुगेर जानकारी गराउने बताएका थिए ।
न्यायाधीश र अदालतका कर्मचारीसँग सवाल जवाफ मात्रै होइन अदालतका विभिन्न फाँटहरुमा पुगेर कुन फाँटबाट के सेवा पाइन्छ त्यो पनि बुझेका थिए ।
महिलाहरुले एउटा अदालतबाट फैसला भएको मुद्दा पनि अरु अदालतले उल्टयाउने कारण के हो ? तारेखमा वारेस राख्ने भनेको के हो? कस्ता मुद्दाहरुमा वारेश राख्न पाइन्छ ? लगायतका अदालती प्रकृयाका बारेमा प्रश्न गरेका थिए ।
उनीहरुको जिज्ञासाको न्यायाधीश दिपक खनालले जवाफ दिएका थिए । जिल्ला खनालले महिला हिंसाका मुद्दाहरु १५ दिन भित्र अदालतबाट टुंगो लगाउने जनाए ।
अदालती प्रकृया ढिला हुन्छ भन्ने महिलाहरुको गुनासो मेटाउँदै अबका दिनमा कुनै पनि प्रकृतिका मुद्दाहरु ढिलामा एक वर्ष भित्र टुंगोमा पुर्याउने न्यायधीश खनालले प्रतिबद्धता व्यक्त गरे ।
Comment Here!