–पार्वती पाण्डे–
कपिलवस्तु । सीमा निगरानीका क्रममा शान्ति पुनस्र्थापना गृहले कपिलवस्तुको कृष्णनगरबाट ५ किशोरीको उद्धार गरेको छ ।
जागिरको सिलसिलामा भारतको पञ्जाब लुदियाना जान लागेका किशोरीहरूलाई पीआरसीले सम्पर्कमा ल्याएको हो । उनीहरूसँगै पहिला घर चितवन बताउने हाल भारत पञ्जाब लुदियाना बस्दै आएकी २४ वर्षीया मीना पोख्रेललाई समेत सम्पर्कमा ल्याएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
मीनाले ती किशोरीहरूलाई लुदियानाको होजियारी कम्पनीमा जागिर लगाइदिने प्रलोभनमा पारी भारत लैजान लागेकी थिइन् । ‘इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा संस्थाले दाङको घोराही उपमहानगरपालिका ८ का पाँच किशोरीहरूको उद्धार गरेको हो’ शान्ति पुनस्र्थापना गृहका संयोजक भट्टराईले भने ।
उद्धार गरिएका किशोरीहरूमा १५ वर्षीया रमा नेपाली, १६ वर्षीया वर्षा परियार, १६ वर्षीया प्रमिला नेपाली, वर्ष १८ की स्नेहा परियार, वर्ष १८ की शर्मिला नेपाली रहेका छन् । उद्वार गरिएका किशोरीहरूलाई थप अनुसन्धानको लागि दाङ पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुभाष कुमार गैह्रले जानकारी दिए ।
संस्थाले सोही दिन प्रहरीको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिकाकी १५ वर्षीया सुधा नेपालीलाई समेत उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानको सूचनाको आधारमा शान्ति पुनस्र्थापना गृहले ईलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा किशारीको उद्वार गरेको संयोजक भट्टराईले जानकारी दिए ।
उद्धार गरिएकी किशोरीलाई आफ्नै मामा रिम बहादुर सुनारले भारतमा उपचारको लागि लैजाने भनि किशोरीको घर परिवारमा समेत थाहा नदिइ भारतको गंगानगर लैजान लागेका थिए ।
पुनर्मिलनले स्तब्ध बन्यो माहोल
चार वर्ष पछि सानीआमासँगको पहिलो भेटमा उनी निकै भावुक भइन् । जब सानीआमाले उनलाई अगाँलो मारेर धरधरी रुन थालिन्, उनले पनि आफूलाई सम्हाल्न सकिनन् । दुवै जना अंगालो हालेर भक्कानिए । उनीहरूको पुनर्मिलनले एकछिन त माहोल नै स्तब्ध बन्यो ।
२०७० सालदेखि परिवारबाट बिछोडिएकी कपिलवस्तु शिवराज नगरपालिकाकी १६ वर्षीया एक किशोरी पहिलो पटक परिवारसँग पुनर्मिलन हुँदा माहोल यस्तो बनेको हो । परिवारसँग विछोडिएर भारतको इलाहाबाद पुगेकी सिमा ( नाम परिवर्तित) लाई विशेष सुचनाको आधारमा शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले २०७२ को जेठमा उद्धार गरेको थियो ।
आमाको मृत्युले टुहुरो बनेका तीन दिदी बहिनीमध्ये उनी माइली हुन् । जेठी दिदीको विवाह भइसकेको र बुबाको यातना सहन नसकी उनी मावल जान भनी घरबाट भागिन् । तर उनलाई कुनै अपरिचित व्यक्तिले मामाघर पु¥याइदिने भन्दै भारतको इलाहाबाद पुर्यायोे ।
विशेष सुचनाका आधारमा सिमालाई उद्धार गरेको शान्ति पुनस्र्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
सिमाको उद्धारपछि बुवाको जिम्मा लगाउन असुरक्षित भएपछि उनलाई पुनस्र्थापना गृह ललितपुर पठाइएको कार्यक्रम संयोजक भट्टराईले बताए ।
ललितपुरस्थित एक अंग्रेजी बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत उनले माध्यमिक शिक्षा परिवारसँगै बसेर पूरा गर्ने इच्छा देखाएपछि पीआरसीले परिवारसँग पुनर्मिलन गराएको हो ।
शिवराज नगरपालिका ५ चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा ल्याई शान्ति पुनस्र्थापना गृहका जिल्ला संयोजक भट्टराईले सिमालाई परिवारको जिम्मा लगाई घर फिर्ता गराएका हुन् ।
(समाचारमा उल्लेख सबै किशोरीका नाम काल्पनिक हुन् ।)
Comment Here!