–सृष्टि शर्मा–
कान्छी छिटो उठ !
छोरी मान्छे भएर घाम झुल्किउन्जेल सुत्छन्, छिटो उठ !
ल उठ उठ !
सबेरै आमा बिस्तरामा पुगेर उठाउनु हुन्थ्यो । हरेक दिन त छोरी मान्छे होस् भन्ने आभास दिलाउनु हुन्थ्यो ।
मैले बिहान उठेर नुहाउनु, पुजाका भाँडा ठिक्क पार्नु, घर आँगन बढार्नु, तरकारी केलाउनु, खाना खाएपछी चुलो अगेनो लोटाउनु पोत्नु, मेरा नियमित काम थिए ।
मैले गर्दिन भनेर छुट पाउने काम थिएनन् यी । किनकी मैले भोलि अर्काको घरमा गरिखाने अभ्यास आजैबाट सिक्नु छ । अभ्यस्त हुनुछ । हामी पाठेघर लिएर जन्मियौ । स्वर्ग यही हो, यही नर्क छ । आमा मलाई भोलिको स्वर्ग देखाउन हरेक दिन नर्क देखाएर भयभित बनाउँनुहुन्थ्यो ।
म भन्दा माथिका दुई जना दाजुहरूको के जिम्मेवारी थियो होला ? आमाले के भन्नु हुन्थ्यो याद छैन । दाजुहरू निस्फिक्री हुन्थे । बिहान अबेला उठनु, खाना मीठो भएन भनेर घुर्क्याउनु, स्कुल गएको बहानामा फिलिम हेर्न जानु, घरबाट पैसा चोरेर लानु अनि साथीसँग मोजमस्ती गर्नु यति चै याद छ मेरा दाजुको कर्मकाण्ड । तर आमाले उनीहरूसँग कहिल्यै चर्को बोल्नु भएन, प्रश्न गर्नुभएन । किन होला अचम्म लाग्छ ।
आमा खुब डराउनुहुन्थ्यो मेरो भविष्य सम्झेर । कस्ती आमा रैछे छोरीलाई यति पनि नसिकाउने भनेर मलाई सराप्छन् नानी भन्नुहुन्थ्यो । अज्ञात भयसँग आमा भयभित हुनुहुन्थ्यो हरेक दिन । बचपनले भविष्यको जाँतो बोकेर हुर्कन्थ्यो । बिना गल्ती, बिना प्रसङ्ग, बिना प्रयोजन, छोरी हुनुको अभिशापसँग लुकामारी चलिरहन्थ्यो मेरो ।
बस्दा सपक्क बस्नुपर्छ । बोल्दा बिस्तारै । खाँदा छिटो । जो आए पनि निहुरिनु । घरमा आउने पाहुना देउता हुन् ।
चाहे त्यो मेरो अस्मितामाथि हमला गर्ने नियतले आएको किन नहोस्, म निहुरिनु पर्छ । आमाले मेरा लागि बनाउनु भएको कानुनको लामै फेहरिस्त थियो । जसभित्र म लपेटिन्थे हरेक दिन । तर म बोल्थे, म चिच्याउँथे, रुन्थे, कराउँथे । मेरो चित्कार पुरै गाउँलेले सुनेको छ, चिनेको छ । तर महसुस पटक्कै गरेको छैन ।
शनिवार घरभरीका जम्मै लुगा बटुलेर खोला जानु, लुगा धुनु मेरो ठेक्का थियो । उमेर भन्दा कति चाँडै ठुली बनाउनु भएछ मेरी आमाले मलाई ।
मेरा बा कता हुनुहुन्थ्यो अहँ था छैन । बिहान बेलुका बा घरमै हुनुहुन्थ्यो । दिउँसो आफ्नो काममा । साच्चै मेरा बा अचम्मका बा हुनुहुन्थ्यो । उहाँले कहिल्यै छोरी भनेर बोलाउनुभएन । न बा भन्न सकियो नजिकै गएर । बा भनेका अजङ्गको पहाड जस्तो भयंकर लाग्थ्यो मलाई ।
त्यसो भए मेरी आमा सारै खराब हुनुहुन्थ्यो ? अहँ होइन । मेरी आमा अति असल हुनुहुन्थ्यो । तर डर पालेर डरलाई जित्न नसक्नु मेरी आमाको ठूलो कमजोरी थियो । त्यो कमजोरीको सिकार म हुन्थे । म जस्तै अरुका छोरी हुन्थे । अरुका आमा पनि मेरी आमा भन्दा फरक भने पटक्कै थिएनन् । बिलकुल मेरी आमा जस्तै, कागले कान लग्यो भन्दा कान नछामेरै कागका पछिपछि कुद्ने । तर कति कुदे भन्नेमा सबै आमाहरू भ्रममा ।
पन्ध्र वर्षमा म मनग्य ठूली भए । अब त डरको सीमा छैन आमाको । मेरी आमालाई निन्द्रा पर्दैन अचेल । कारण सामान्य छ, म नछुने भएँ । छाती पोटीला देखिन थाले । जिउ च्याप्टो देखिन थाल्यो ।
उफ !
एकदिन बाख्रा गोठालो गएको बेला छिमेकीको छोराले हातपात गर्न खोज्यो । मैले उसको हात टोकिदिए । हातको चोक्टै गएछ । घर पुगेर आमालाई के–के भन्यो थाहा भएन । आमा मलाई खाँद्न बोरा बोकेर ठिक्क हुनुहुन्थ्यो । पानीसम्म पिउन नपाई म बोरामा खाँदिए । पिपलमा झुन्ड्याइएँ । आमालाई अङ्गालो हालेर धरधरी रुन समेत पाइन ।
अनुशासनको नाममा म भोकै भएँ । बोरामा खादिएँ । मलाई यातना दिँदा आमालाई पीडा नहुने कुरै थिएन । आमाले पनि एकथोपो पानीसम्म पिउनु भएन, मलाई था छ । तर आमाले हुर्किएकी छोरीलाई त्यस्तो किन गर्नुभयो होला ?
त्यसपछि एकाएक मैले मेरा बाआमाको अनुमती बिना उहाँहरूको घर अनि मेरो जेल छोडे । अनि शुरु भयो मेरो जीवनको नयाँ अध्याय ।
मलाई जसले प्रेम गर्यो, उनीहरूलाई नै प्रेम गरे । जसले घृणा गर्यो उसलाई वास्तै गरिन । भगवानको नाममा भविष्य सुम्पिएर हिँड्दा कति चोट लागे । कति काँडा बिझे । कति भिर टेके । कति चट्टानमा ठोक्किएँ । अति आँशु झरे तै पनि होसमा थिएँ । बेहोस भएको भए त आज कसरी हुन्थे र ?
मेरो अनुशासन, मेरो संघर्ष, मेरो जिद्दी, मेरो उत्सर्ग र मेरो सफलता एक अर्काकै परिपुरक हुन । हिजो थियो र आज छु । आज छु र त भोलि हुनेछु । जीवन यसैको नाम हो ।
जीवनमा हरेकपटक अविश्वास गर्ने मेरा बाआमा, तिरस्कार गर्ने आफन्त, बदनाम गर्ने छरछिमेकी, प्रेम गर्ने समाज र मेरो भरोसामा सर्वश्व सुम्पिने मेरा पति सबथोक चमत्कार लाग्छ । र फेरि जन्मदिने आमालाई पुलुक्क फर्केर हेर्छु, लाग्छ आमा मलाई नै हेरिरहनु भएको छ र भनिरहनु भएको छ कान्छी तलाई अन्याय गरे नि !
माफ गर है !
नजर आमामै ठोक्किन्छ र म भक्कानिन्छु । आमा भनेकै करुणा र दयाको अर्को नाम हो । म पनि आमा हुँ । तर मेरा सन्तानले मैले हिँडेको बाटो हिँड्नु पर्ने छैन । आत्मविश्वास र भरोसाको अंगालो थापेर म छु नि उनलाई पर्खिरहने ।
Comment Here!