-महिला खबर-
ललितपुर । पर्सामा एक महिलालाई परिवारले नै आगो लगाई हत्या प्रयास गरेका छन् । छिपहरमाई गाउँपालिका–४ तुलसिवर्वाकी १८ वर्षीया रविना खातुनलाई श्रीमान साविर मियाँ धोबी, सासु, ससुरा र देवरले आगो लगाई हत्या प्रयास गरेका हुन् ।
रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा निस्कन नमानेपछि उनलाई आगो लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
श्रीमान साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुन लगायतले कुटपिट गरी शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा रविनाले ठाडो निवेदन दिएकी छन् ।
घाइते रविनालाई उचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले महिला खबरलाई बताए ।
रविनाले दिएको निवेदनमा घरमा आएका श्रीमानले र परिवारले उनको सुनका गहना खोसी कुटपिट गरि शरीरमा आगो आगो लगाएको भनिएको छ । गहना खोसे लगत्तै उनका श्रीमान फरार भएका थिए ।
उनका ससुरा फरजन मिया धोवी, सासू शोभा खातुनलाई नियन्त्रणमा लिइ घटनाको विषयमा सोधपुछ भइरहेको प्रहरी नायव उपरीक्षक लिम्बुले बताए । लिम्बुका अनुसार रविनाका श्रीमान साविर कान्छी श्रीमनतीसँग भारतमा बस्दै आएका छन् ।
रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचारमा ढिलाइ हुँदा बिग्रिएको डिएसपी लिम्बुले जानकारी दिए ।
घटना चैत १३ गते भए पनि पीडितले बुधबार मात्रै प्रहरी कार्यालयमा उजुरी गरेकी हुन । शरीरमा आगो लगाएपछि ९ दिनसम्म घरमा थुनेर राखेको पीडित महिलाले बताएकी छन् । त्यस पछि उनी भाग्न सफल भएकी थिइन् ।
भारतको मतिहारी जिल्ला प्रसवाकी रविनाको तीन वर्ष अघि पर्साका साविरसँग विवाह भएको थियो । उनका श्रीमानले अर्को विवाह गरेर कान्छी श्रीमतीसँग बस्दै आएको बताइएको छ ।
Comment Here!