– महिला खबर–
ललितपुर । पछिल्लो चार महिनाको अवधिमा १६ देखि १८ वर्षसम्मका किशोरीले बढी गर्भपतन गराएका पाइएको छ ।
केन्द्रीय बालकल्याण समितिले चार महिनाको अवधि (मंसिरदेखि फागुनसम्म) सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाहरूको चौमासिक विश्लेषणका क्रममा यस्तो तथ्य पाइएको हो ।
यस अवधिमा १८ वर्षमुनीको गर्भपतनसम्बन्धी ११ वटा घटना बाहिर आएका छन् । जसमा १५ वर्षमुनीको ४ जना र १६ देखि १८ वर्षसम्मको ७ जना बालिकाले गर्भपतन गराएका जनाइएको छ ।
गर्भपतन गराउनेमा कलेज पढ्ने २ जना, उमेर नपुगी बच्चा जन्माउँदा हुने समस्याका कारण ४ जना र अन्य विविध कारणले गर्भपतन गराएको पाइएको छ ।
जिल्लागत रुपमा गर्भपतनका घटनालाई हेर्दा सबैभन्दा बढी इलाम जिल्लामा ४ वटा घटना देखिएका छन् भने अन्य जिल्लाहरुमा अछामा ३, काठमाडौंमा १ र सुर्खेतमा एउटा भएको समाचार प्रकाशमा आएको छ ।
लिङ्गको आधारमा गर्भपतन गर्ने, गराउने दुवैलाई एक वर्ष कैद तोकेको छ र पनि काठमाडौं लगायत विभिन्न जिल्लामा गर्भपतन गराउनेको संख्या बृद्धि हुँदै गएको पाइन्छ । अवैध सम्बन्ध, गलत सामाजिक मूल्य मान्यता, छोराको चाहना अनि प्रविधिको गलत प्रयोगका कारण गर्भपतन गर्नेकोे क्रम बढेको जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको आर्थिक वर्ष २०७३\०७४ को तथ्याङ्क अनुसार तीन हजार भन्दाबढी २० वर्षमुनीका किशोरीहरुले गर्भपतन गराएको पाइएको छ । उक्त तथ्याङ्कलाई हेर्दा किशोरावस्थामा हुने असुरक्षित गर्भपतनसम्बन्धी समस्या गम्भिर बन्दै गएको देखिन्छ ।
कानूनले लिङ्ग पहिचानको आधारमा गर्भपतन गराउने उद्देश्यले भ्रूणको लिङ्ग पहिचान गराएमा गर्ने, गराउने दुबैलाई ६ महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गरेको छ ।
Comment Here!