गर्भवतीलाई घर निकाला : प्रहरीमा नमिलेपछि न्यायिक समितिमा मिलापत्र
-महिला खबर-
ललितपुर । रुपन्देहीको सैनामैना नगरपालिका ६ की गर्भवती महिलालाई घर निकाला नगर्ने भनी उनका परिवारले प्रहरीमा दुई पटक गरेको मिलापत्र कार्यान्वयन नगरेपनि तेस्रो पटक मिलापत्र भएको छ ।
प्रहरीमा गरेको मिलापत्र नमानी पटक पटक हिंसा गरेका परिवारसँग तेस्रो पटक सैनामैना नगरपालिकाको न्यायिक समितिले मिलापत्र गराएको हो ।
साढे २ महिनाकी गर्भवती सारदा भट्टराईलाई उनको श्रीमान हिमालले मादक पदार्थ सेवन गरी कुट्ने र सासु उमाकलाले दाइजो नल्याएको भनी यातना दिने गरेको प्रहरीमा उजुरी गरेकी थिईन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख इन्स्पेक्टर दिपेश बस्यालका अनुसार प्रहरी पनि रोहवरमा बसेर तेस्रोपटक मिलापत्र गरिएको हो । उनले अब मानसिक र शारीरिक यातना नदिने भनी मिलापत्र गरेको बताए ।
सैनामैना नगरपालिकाकी उपप्रमुख तथा स्थानीय न्यायिक समितिकी संयोजक विणा रानाको अध्यक्षतामा बसेको छलफलले श्रीमानले कुटपीट नगर्ने र सासूले दाइजोको निहुँमा यतना नदिने सहमती भएको छ ।
रानाले भनिन्, ‘विहे दर्ता नागरिकता पनि छिटै बनाइदिने र कुटपिट, हिंसा नगर्ने सहमती भएको छ ।’ प्रहरीकै रोहबरमा मिलापत्र भएपनि सारदाल फेरि हिंसामा पर्नसक्ने प्रहरी निरीक्षक बस्याल बताउँछन् । बस्यालले भने, ‘उनलाई फेरि हिंसा दोहोरिने जोखिम छ । फेरि हिंसा भए हामी कानूनी प्रकृयामा लैजान्छौं ।’
Comment Here!