– महिला खबर–
ललितपुर । सुरक्षित मातृत्व दिवसको अवसरमा आज सोमबार देशभर विभिन्न कार्यक्रम गरि मनाइदैँछ । स्वास्थ्य मन्त्रालयका अनुसार २०७३ साउनदेखि ०७४ असारसम्म करिब तीन लाख गर्भवती महिलाले असुरक्षित रुपमा बच्चा जन्माएका थिए ।
नेपालमा ३ हजार २ सय जिल्ला अस्पताल र त्यसभन्दा तलका स्वास्थ्य संस्थामा प्रसूती गराउने दक्ष जनशक्ति छ । तालिम प्राप्त एक स्वास्थ्यकर्मीको भागमा ७५ गर्भवती महिला पर्ने गरेको तथ्यांक छ ।
दुर्गमका कतिपय स्वास्थ्य संस्थामा प्रसूति गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले भने सन् २००६ मा प्रतिहजार जीवित जन्ममा ३३ जना रहेको नवजात शिशु मृत्युदर अहिले २१ मा झरेको देखाएको छ । सहस्राब्दी विकास लक्ष्य पूरा गर्न २१ लाई १७ मा झार्नुपर्ने चुनौति कायमै छ ।
नेपालमा प्रतिवर्ष ७ लाख ५८ हजारको हाराहारीमा महिला गर्भवती हुने अनुमान छ । यसमध्ये करीब १० प्रतिशतले गर्भपतन गराउने वा गर्भ तुहेर जानेजस्ता समस्या छ ।
गर्भवती भएको अवस्थामा सम्बन्धित महिलाले कम्तीमा चारपटक आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ । प्रसूती हुन समयमै स्वास्थ्य संस्थामा जान प्रोत्साहित गरिएको छ ।
यस्तै स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालका ४१ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको पाइएको छ । सर्वेक्षण अनुसार ५७ प्रतिशत महिला मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था जाने गरेका छन् ।
बाँकी २ प्रतिशत महिलाले भने बाटोमा, काम गर्न जाँदा खेतबारी लगायतका ठाउँमा बच्चा जन्माउने परिवार स्वास्थ्य महाशाखाकी प्रजनन् स्वास्थ्य प्रमुख डा. पुण्या पौडेलले जानकारी दिईन् । सर्वेक्षणमा सन् १९९६ मा ८ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्माउने गरिएको थियो भने सन् २०१६ मा बढेर ५७ प्रतिशत पुगेको बताएको छ ।
Comment Here!