चिया बगानका जुझारु महिला (फोटो फिचर)


प्रकाशित मिति :2018-04-18 11:38:23

ललितपुर । श्रीलंकाको करिब पाँच प्रतिशत जनसंख्या अरबौं डलरको कारोबार गर्ने चिया उद्योगमा कार्यरत छन् । उनीहरु पहाडी भेगमा चियाको पातहरु टिप्ने र कारखानाहरुमा चियापत्तीको प्रशोधन गर्ने काममा संलग्न छन् ।

सिलोन चिया अन्तर्राष्ट्रिय बजारमा नाम चलेको उत्पादन हो । सन् १८६७ देखि चिया खेती र कालोपत्ती बिक्री गर्ने व्यवसायले त्यहाँका अनगिन्ती पुस्ताहरुको जीवन धानिरहेको छ ।

चिया बगानहरु श्रीलंकाको पहाडी क्षेत्रको भिरालो ठाउँमा छन् । बगानका कामदारहरुलाई तल्लो भेगमा बासस्थानको व्यवस्था गरिएको छ ।
त्यहाँका झाडीहरुबाट चियाका पातका कोपिलाहरु छिप्पिनु अगाडि नै हातले नै प्रत्येक सातदेखि १४ दिनभित्र टिप्नुपर्छ ।

यस कारणले गर्दा काम गर्ने ठाउँ दिनै पिच्छे फरक हुन्छ । कुन ठाउँका कोपिलाहरु छिट्टै टिपिनुपर्ने छ भन्ने प्राथमिकताले कामदारको कार्यस्थल निर्धारण गर्छ ।

टिपिएका चियाका पातहरु हलुका सामाग्रीले बनाइएका झोलाहरुमा राखिन्छन् । एउटा कामदारले १८ किलो पातहरु टिप्न सक्यो भने एक दिनमा करिब ४०० नेपाली रुपैयाँ कमाउँछ । उनीहरुले तोकिएको कोटा पूरा गर्न सकेनन् भने उनीहरुले एक दिनमा करिब १९० नेपाली रुपैयाँ मात्र पाउँछन् ।

केही चिया बगानले फरक किसिमको पारिश्रमिकको व्यवस्था गरेका छन् । उनीहरुले कार्मचारीलाई एक महिनामा पारिश्रमिक वितरण गर्छन् । उनीहरुलाई अस्थायी ऋणको सुविधा पनि दिएका हुन्छन् ।

त्यहाँका अधिकांश चिया बगानका कामदारहरु भारतीय मूलका तमिल समुदायका हुन् । उनीहरुलाई बेलायतीहरुले बगानमा काम गराउन धेरै वर्ष पहिले ल्याएका थिए । उनीहरु श्रीलंकाको उत्तरी भेगका जाफ्ना तमिलहरु भन्दा भिन्न समुदायका हुन् ।

कामदारहरु बस्ने ठाउँबाट चिया बगानसम्म पुग्न धुलाम्य र हिले बाटोको प्रयोग गर्नुपर्छ । पुराना कामदारहरुको हातको छाला कडा हुन्छन् । उनीहरुका हत्केलाहरुमा गिर्खा र फोकाहरु भेटिन्छन् । कडा शारीरिक परिश्रम गर्नुपर्ने भएकोले यो काममा युवा पुस्ताको कमी देखिन्छ ।

धेरै महिला चिया बगानमा भन्दा लत्ताकपडा कारखानाहरुमा काम गर्न चाहन्छन् । यो काममा सहभागी हुनुभन्दा उनीहरु विदेश गएर भएपनि घरेलु कामदार हुन चाहन्छन् ।

कामदारका परिवारहरुले आफ्ना सन्तान बगान उद्योगले दिएका रङ्गीचङ्गी घरहरुमा हुर्काउँछन् । ती गाउँका कतिपय घरहरु बेलायतीहरुले सन् १९२० मा बनाइदिएका थिए ।

त्यतिबेला चिया बगानका कामदारहरुलाई बस्न करिब २० हजार कोठा भएको बस्ती तयार पारिएको थियो ।

धेरै घरहरुमा एक दिनमा केही घण्टाको लागि मात्र बिजुली आउँछ । धारामा पानी पनि थोरै समयको लागि मात्र आउँछ । कतिपयमा त यो पनि सुविधा छैन ।

 

दैनिक सरसफाइ जस्तै लुगा धुने र नुहाउने कामहरु खोलानालाहरुमा गरिन्छ । बगानका कामदारहरु बिहान साढे सात बजेदेखि काम थाल्छन् ।

उनीहरुका बाच्चाहरु विद्यालय जान धेरै टाढासम्म हिंड्नुपर्छ ।

चियाका पात टिप्ने कामदारहरुको ज्याला अरुको दाँजोमा कम हुने भएकोले केही कामदारका परिवारका सदस्यहरु विदेशमा वा श्रीलंकाका अरु शहरहरुमा काम गर्न गएका छन । उनीहरुले घरमा पैसा पठाउँछन् ।

चिया बगानका महिला मजदुरहरुले खाना पकाउने, सफा गर्ने र बच्चाहरुको हेरचाह जस्ता आफ्नो घरका दैनिक कामको जिम्मेवारी पनि निभाउँछन् ।

उनीहरुले टिपेका ताजा चियाका पातहरु प्रशोधन गर्न कारखानामा लगिन्छ । प्रशोधन गर्ने मेसिनहरु सय वर्ष पुराना पनि छन् । प्रशोधन गरिएका चियालाई पत्तिका आकार अनुसार छुट्याएर ठूला झोलाहरुमा राखिन्छ र राजधानी कोलोम्बोमा बिक्रीको लागि पठाइन्छ ।

सिलोन चिया निर्यातको लागि मात्र उत्पादन गरिंदैन । यो श्रीलंकाको दैनिक जीवन शैलीको अभिन्न अंग हो । कार्यलयका कार्मचारीदेखि मजदुर र विद्यार्थीसम्म सबैले चिया पिउने गरेका छन् ।

साभारः–बीबीसी 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: