३० प्रतिशत कैदी महिलामा मानसिक रोग


प्रकाशित मिति :2018-04-20 14:34:32

-सन्दिप वि.क- 
ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यामकली एकोहोरो टोलाउँछिन् । आफ्नै सुरमा हिँडिरहन्छिन् । कहिले फोहोर टिप्दै हिँड्छिन् । उनी एक वर्ष अघि नेपालगञ्ज कारागारबाट केन्द्रीय कारागार ल्याएदेखि नै त्यस्तै व्यवहार देखाउँदै आएकी छिन् ।

उनले असामान्य व्यवहार देखाउन थालेपछि जाँच गर्दा मानसिक रोगी भन्ने थाहा भयो । ३५ वर्षकी श्यामकमलीलाई जाँच पछि एक वर्षदेखि नै मानसिक रोगको औषधी सेवन गर्न डाक्टरले सिफारिस गरेका छन् । उनलाई जिल्ला अदालत बाँकेले कर्तव्य ज्यान मुद्दा फैसला गरेदेखि नै उनलाई मानसिक समस्या देखिएको कारागार अस्पताल शाखाका सिनियर अहेव दुर्गाप्रसाद शर्माले बताए ।

जाजरकोटकी निर्मलाको समस्या श्यामकलीको जस्तै छ । कर्तव्य ज्यान मुद्दामा नै कैद भुक्तान गरिरहेकी निर्मलालाई मानसिक रोगकै कारण जाजरकोटबाट केन्द्रीय कारागार ल्याइएको थियो । उनी पनि मानसिक रोग नियन्त्रण गर्ने औषधी सेवन गरिरहेकी छिन् ।

माथिका दुई महिला जस्तै केन्द्रीय कारागार काठमाडौंमा पछिल्लो समय मानसिक रोग भएका महिलाको संख्या बढेको छ । अहेव शर्माका अनुसार कारागारमा गएको भदौ महिनासम्म मानसिक रोग भएका १३ जना महिला थिए । चैतसम्म यो संख्या झण्डै तेब्बर बढेको छ । अहिले ३२ जना महिलाले मानसिक रोगको औषधी सेवन गरिरहेका अहेव शर्माले बताए ।

अहेव शर्मामा अनुसार चैत महिनामा कारागारमा रहेका महिला कैदी बन्दीमध्ये पाँच जनामा नयाँ मानसिक रोगी थपिए । जसमध्ये एक जनामा डिप्रेसन, एक जनामा एन्जाइटी, एक जना न्यूरोसिस, २ महिला मानसिक इनलेशको समस्या देखिएको थियो । फागुनमा १२ महिलामा मानसिक रोगको समस्या देखिएको थियो । जसमध्ये तीन महिला डिप्रेसनका थिए ।

कारागार अस्पताल शाखाको तथ्यांक अनुसार माघमा ७, पुसमा ७, मंसिरमा ८, कात्तिकमा ४ महिलामा मानसिक रोग देखिएको थियो । असोजमा ९ महिलामा मानसिक रोग देखिएको थियो भने भदौमा १२ र साउनमा २१ जनामा महिलामा मानसिक रोगको समस्या देखिएको थियो ।

कर्तव्य ज्यान मुद्दाका महिला बढी मानसिक रोगी

कारागारमा कर्तव्य ज्यान मुद्दाका महिलाहरु बढी मानसिक रोगी हुने गरेका पाइएको छ । अस्पताल शाखा अन्तरगत कैदी प्रमुख सरिता खनालका अनुसार मानसिक रोगको औषधी प्रयोग गर्नेमध्ये २० जना भन्दा बढी कर्तव्य ज्यान मुद्दाका महिला छन् । यस्तै दोस्रोमा लागू औषधका महिला छन् ।
कारागारमा हाल ३ सय २२ महिला कैदी बन्दीमध्ये कर्तव्य ज्यान मुद्दाका कैदी र बन्दी गरी ८० महिला रहेका छन् । जसमा एक जना विदेशी महिला समेत रहेकी छिन् ।

२५ देखि ३० प्रतिशत मानसिक रोगी

कारागार अस्पतालका प्रमुख डा.कृष्ण गौतम भन्छन्, ‘कारगारमा २५ देखि ३० प्रतिशत महिला मानसिक रोगी छन् ।’ उनका अनुसार मानसिक रोगीमध्ये कोही अर्को कारागारबाट उपचारका लागि ल्याइएको छ भने कोही केन्द्रीय कारागारमै जेल भुक्तान गरिरहेका छन् ।

मानसिक रोगको विशेषज्ञ समेत रहेका डा.गौतमले कारागारमा रहेका महिलाहरुमा आफूले गरेको अपराधको पश्चातापका कारण पनि मानसिक समस्या देखिने गरेको बताए । ती मानसिक रोगीमा झोक्राउने, तर्सिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उनले बताए ।

कारागार व्यवस्थापन विभागका अनुसार सन् २०१७ मा नेपालभर जेल जीवन भुक्तान गरिरहेका रहेका महिला थुनुवा र कैदी गरी एक हजार २ सय ९० जना रहेका थिए । जसमा सबैभन्दा बढी केन्द्रीय कारागार काठमाडौंमा ३ सय ३६ जना महिला रहेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: