पुरुष भन्दा महिलाको कमाइ राम्रो


प्रकाशित मिति :2018-04-22 14:30:03

–रुजु खतिवडा–

पाँचथर । मेची राजमार्गले छोएको फिदिम नगरपालिका ३ लालीखर्ककी ४० वर्षीया यामकुमारी राईको दिनचर्या अन्य महिलाको भन्दा फरक छ । उनी फुर्सदमा दिन बिताउन चाहन्नन् । आफ्नो घर व्यवहारको सबै काम समेत गरेर मासिक ३५ हजार बढी आम्दानी गर्छिन् ।

उनी जस्तै स्थानीय सुकरानी राई, माया राई, सुस्मिता, निर्मला राई, राईलगायत त्यस क्षेत्रका थुप्रै महिलाहरू घरमै रहेर मासिक ३० हजार रुपैयाँ भन्दा बढी कमाउँछन् । स्थानीय स्तरमा निर्मित नेपाली हाते कागज निर्माण गरेर उनीहरूले त्यस्तो आम्दानी गर्ने गरेका हुन् ।

निर्मला राईसँग एक सय जति कागज बनाउने फ्रेमहरू छन् । उनी दिनमा ४–५ पटक फ्रेमहरू फेर्छिन् र ४ सय देखि ५ सयसम्म नेपाली कागज बनाउँछिन् । यो उनको दैनिकी हो । उनले बनाएको कागज प्रतिगोटा दुई रुपैयाँ पचास पैसामा व्यापारीहरूले घरमै आएर खरिद गर्छन् । उनले मासिक ४० हजार भन्दा बढी आम्दानी गर्ने गरेको बताइन् ।

नेपाली हातेकागज बनाउँदै फिदिम ३ लालिखर्ककी निर्मला राई । 

गाउँका पुरुषहरू प्राय अन्य काममा हुन्छन् । पुरुषहरू प्राय घर बाहिरको काम गर्छन् । कागज बनाउने काममा पुरुषहरूको कुनै पनि संलग्नता हुदैन । कोहि विदेश जान्छन् । तर यहाँका महिलाहरूको यो पेशा पुस्तौदेखि निरन्तर छ ।

उनी जस्तै त्यस क्षेत्रका महिलाहरूको दिनचर्या लोक्ताबाट बनेको हाते कागज निर्माण गरेर बिक्री गर्नु हो । उनीहरू जस्तै पाँचथरको लेकाली क्षेत्रका महिलाहरूको आर्थिक समृद्धिको आधार हाते कागज बनेको छ । अर्गेलीको लोक्तालाई प्रशोधन गरेर कागज उत्पादन गर्दै महिलाहरू आर्थिक रुपमा समृद्ध बन्दै गएका छन् ।

आफ्ना बारीका कान्ला र जंगलमा भएको अर्गेलीको छाला काडेर लोक्ता निकाल्ने र त्यसलाई पकाएपछि कुटेर लेदो बनाई कागज उत्पादन गरिन्छ । ‘बारीका कान्लामा लगाएको अर्गेली काटेर ल्यायो, बोक्रा ताछ्यो, उसिन्यो, कुट्यो र झोल बनाएर त्यसवाट कागज बनायो’ निर्मलाले कागज बन्ने तरिका सुनाइन् ।

काठको फ्रेममा पुरानो ढंगबाट निर्मित फ्रेममा प्रशोधित कच्चा पदार्थ लगाउने गरेको र घाम लागेको बेला करिब २० मिनेटमै सुकेर कागज तयार हुने गरेको निर्मलाले बताइन् । उनी दिनहुँ जसो करिब ४ सय कागज बनाउँछिन् । घरको सबै काम पनि भ्याउँछिन् ।

हाते कागज बनाउन रोपिएको अर्गेलीको बोट ।

घरखर्च, छोराछोरी पढाई, औषधिपोचार, पाहुना सत्कार सबै खर्च यसैबाट धान्ने गरेका छन् उनीहरूले । त्यति मात्र हैन, यो काम गरेर पुरुषको तुलनामा यस क्षेत्रमा महिलाहरू नै बढी कमाउने गरेको राइको भनाइ छ ।

नेपाली हाते कागजको बजार माग राम्रो भएपछि बारीका कान्लामा अर्गेली लगाइएको र त्यसले आफूलाई सहजता दिएको स्थानीय महिलाहरूको बुझाइ छ ।

लोक्तालाई आधुनिक प्रविधिबाट प्रशोधन गरेर जापानमा पनि पठाउने गरेको किसानहरू बताउँछन् । लोक्ताबाटै जापान सरकारले जापानीज नोट बनाउने गरेका छन् । लालिखर्क क्षेत्रका महिलाहरूले लोक्ता कम बेच्ने गरेका छन् । उनीहरूले आफै कागज प्रशोधन गरी लोक्तामा भन्दा कागजबाटै आम्दानी लिने गरेका हुन् ।

फिदिम नगरपालिका ३ को लालिखर्क, सुम्निमाचोकदेखि कान्छि दोकान क्षेत्रका डेढ सय जना महिला यसरी नै परम्परागत ढंगबाट नेपाली हाते कागज उत्पादनमा सक्रिय छन् । उनीहरू झण्डै ५ दशकदेखि निरन्तर कागज उत्पादन गर्दै आर्थिक उपार्जन गरिरहेका छन् । उत्पादित कागज सरकारी कार्यालयमा प्रशासनिक प्रयोजनार्थ बढी बिक्री हुने गरेको छ ।

कागज उत्पादकसँगै स्थानीय संकलक समेत रहेकी यामकुमारी राईले इटहरी, विराटनगर, पोखरा, वुटवलदेखि काठमाडौंमा कागज निर्यात गरिँदै आएको बताइन् । मासिक ५ लाख बढी कागज यस क्षेत्रबाट संकलन गरेर पठाउने गरेको यामकुमारीको भनाइ छ ।

असोजदेखि जेठसम्म कागज उत्पादन बढि हुन्छ । यो समयमा घाम बढी लाग्ने भएको हुँदा फ्रेममा लगाएको कागज छिटो सुक्छ । लेकाली क्षेत्र पनि भएकोले असारदेखि भदौ अन्तिमसम्म त्यति घाम नलाग्ने हुँदा कागज उत्पादनमा कमी आउँछ ।

जिल्लाको फिदिम नगरपालिकासहित फाल्गुनन्द गाउँपालिकाका सप्तमी, सराङडाँडा, फाक्तेपको घुर्विसे पञ्चमी, फालेलुङ गाउँपालिका र मिक्लाजोङ गाउँपालिकाका थुप्रै वडाहरूमा महिलाहरूले यसरी नै नेपाली हाते कागज उत्पादन गर्दै आएका छन् ।

जिल्लाको दाजुभाई जडिबुटी सहकारी संस्थाका अध्यक्ष होमराज थाम्सुहाङले अर्गेली खेतीले राम्रो आर्थिक आम्दानी गर्न सकिने बताए । उनले लोक्तालाई प्रसोधन गरी जापान पठाउने काममा समेत लागेको बताए । उनले अर्गेलीको बोक्रा निकालेर त्यसलाई प्रसोधन गरेर जापान पठाउँदा यहाँको भन्दा निकै राम्रो दाम हात लाग्ने भन्दै किसानलाई सहकारी मार्फत अभिप्रेरित गर्ने गरेको बताए ।

सुकाइराखेको हाते कागज । 

थाम्सुहाङले आफू संलग्न संस्था मार्फत फालेलुङ गाउँपालिकाको सिदिन, प्राङबुङ, मेमेङसँगै रानिटारको सुकेटार क्षेत्रमा अर्गेली रोपणमा किसानलाई प्रेरित गर्दै आएको बताए । उनले कागजसँगै गुणस्तरीय लोक्ताको बजार राम्रो रहेको बताए । ‘लेकको खाली जमिनमा अर्गेली लगाउन किसानलाई प्रेरित गरिनुपर्छ, सम्भावना छ’ उनले भने, ‘हजारौँलाई रोजगार सिर्जना हुन्छ, म आफैले १५ जनालाई रोजगारी दिएको छु ।’

किसानहरूका अनुसार अर्गेलीलाई स्याहार पटक्कै गर्नु पर्दैन । एक पटक रोपेपछि बर्षौसम्म काट्दै लोक्ता निकाल्न सकिन्छ । लेकाली क्षेत्रको जस्तोसुकै ठाउँमा अर्गेली हुन्छ । एउटै झ्याङमा कम्तीमा २–३ किलो लोक्ता निस्किन्छ ।

जिल्लामा थुप्रै हाते कागजका उद्योगहरू स्थापना भए पनि कतिपय बन्द अवस्थामा छन् । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको तथ्याङ्क अनुसार पाँचथरमा काम गर्ने गरी १९ उद्योगहरू स्थापना भएका र जस्को वार्षिक उत्पादन क्षमता ७४ लाख ४० हजार कागज उत्पादन रहेकोे छ ।

कार्यालयका उद्योग अधिकृत इश्वरीप्रसाद अधिकारीका अनुसार जिल्लामा हाते कागजको सम्भावना राम्रो छ । यसको दिगोपन र बजारीकरणमा सरोकारवालाहरूको ध्यान जानुपर्ने उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: