–महिला खबर–
ललितपुर । रौतहटमा दाईजोको प्रचलन बढ्न थालेपछि करिब डेढ वर्षअघि शुरु भएको अभियान अहिले पनि जारी छ । अन्य समुदायमा जस्तै मुस्लिम समुदायमा समेत दाईजो व्याप्त छ । विवाहमा दुलाहा पक्षले दुलही पक्षलाई दाईजोको माग गर्ने परम्परा छ । यस्तो मागमा दुलाहा पक्षले सुनचाँदी, जमिन, नगद, गाडी लगायतका सामानहरु माग्ने गर्दछन् ।
यही परम्परालाई तोड्न मुस्लिम पुरुषहरुले शुरु गरेको अभियान अहिले पनि जारी छ । रौतहट परोहा नगरपालिकाको ४ लौकाहामा २२ जना पुरुषले २०७३ साल कार्तिक २० गतेदेखि समिति नै बनाएर दहेज बन्द अभियान नै सञ्चालन गरे । अभियानको संयोजक थिए, वयोवृद्ध शेख अव्दुल अजिज सिद्धिकी । उनी अहिले १ सय वर्ष पुगे । डेढ वर्ष अघिदेखि शुरु भएको अभियानमा अहिले जिल्ला प्रशासनदेखि गाउँ समाजको समेत साथ र सहयोग छ ।
तिलक, दहेज बन्द अभियान समितिको सदस्य मोहम्मद मकसुद राँकी भन्छन्, ‘अहिलेसम्म ७२ भन्दा बढी विवाहमा दहेज रोक्यौ । त्यसमा एक करोड भन्दा बढी दहेज (भौतिक सम्पत्ति) समेत फिर्ता गरिसक्यौं ।’ २२ जना पुरुष मात्रै रहेको अभियानमा अहिले महिला पुरुष दुवैको साथ र सहयोग छ । अभियानको सचेतनामूलक कार्यक्रममा महिलालाई पनि सहभागि गराइएको छ ।
धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको राँकी बताउँछन् । गाउँमा विवाहमा दाईजो लिएको थाहा भएमा समितिका पदाधिकारी र बुद्धिजिवि सर्कल नै विवाह मण्डप पुग्ने गर्दछन् । सदस्य राँकी भन्छन्, ‘हामीले विवाहमा दाईजो लिएको थाहा पाएमा मस्जिदमा लगेर आस्था विसर्जन अर्थात् दाईजो लिएको छैन्, बेहुलीलाई दाईजोको निहुँमा हेला गर्ने छैन भनेर कसम खान लगाउँछौं ।’ मुस्लिम समाजमा विवाहका लागि मौलानाले निकाह गरिदिने प्रचलन छ । दाइजो लिएर दिएर गरेको विवाह मौलानाले निकाह नगरीदिने व्यवस्था समेत समितिले गरेको छ । दाईजो नलिई गरेको विवाहमा मस्जिदले विवाह प्रमाणपत्र समेत दिने गरेका छ ।
‘अभियानमा साथ दिन इच्छुक’
उनीहरुलाई आफ्नो समुदायमा मात्र नभई अन्य समुदायका व्यक्तिले समेत साथ दिन खोजेका छन् ।
राँकी भन्छन्, ‘दहेज प्रथा मुस्लिममा मात्र नभई अन्य धर्ममा समेत छ । त्यसैले हामीले यो अभियानमा अन्य समुदायका व्यक्तिलाई समेत सहभागि गराउने प्रयास गरेका छौं । हाम्रो अभियानमा गाउँपालिकादेखि प्रशासनकाे समेत साथ छ ।’
अर्का सदस्य जमिल अक्तर यो अभियान अन्तरगत महिला हिंसा विरुद्धका अन्य कार्यक्रम समेत सञ्चालन गर्न चाहेको बताउँछन् ।
उनी भन्छन्, ‘हाम्रो अभियानमा रकमको अभाव छ । महिला हिंसा अन्त्य गर्न धेरै इच्छा थियो । तर सकिराखेका छैनौं ।’
दाईजो नपाउने भएकै कारण डरले छोरी माग्न आउने क्रम समेत घटेको उनी बताउँछन् । दहेज विरुद्धको अभियानले गाउँमा वालविवाहमा समेत कमि आएको उनको अनुभव छ ।
Comment Here!