देवता रिसाएको बहानामा छाउ बार्न शुरु


प्रकाशित मिति :2018-04-24 16:26:45

–महिला खबर–
ललितपुर । अछाममा छाउ प्रथा अन्त्यका लागि विभिन्न कार्यक्रम भइरहँदा मेल्लेख गाउँपालिकामा भने पहिले छाउ प्रथा नमान्ने महिलाहरू यतिबेला भने छाउ बार्न थालेका छन् । महिनावारीको बेला घर भित्रै बस्दा देवता रिसाएर अनिस्ट भएकाले फेरि छाउ बार्न थालेको मेल्लेख गाउँपालिका वडा नम्बर ६ की मन्सरा खड्काले बताइन् ।

बिहे गरेदेखि नै महिनावारी नबारेकी उनी एक वर्षयता भने महिनावारी बार्न थालेकी हुन् । उनी अहिले महिनावारीका बेला घरसँगै छोडिएको नाले (सानो कोठा भएको घर) मा बस्छिन् । खाद्यान्न, लत्ताकपडा, सरसामान केहि छुदिनन् ।

गाउँका अरु महिला महिनावारी हुँदा गोठमा बस्थे । तर उनी पहिलेदेखि नै महिनावारी हुँदा पनि घर भित्रै बस्थिन् । खाना पकाउने, घाँस काट्ने, गाई बाँध्ने सबै काम आफै गर्थिन् ।

घरमै बसेर दही दूध खाने गरेकी मन्सराले देवता रिसाएर घरमा अनिष्ट गरेको भन्दै देवतासँग माफी मागिन् । देउतालाई बोका काटेर चढाइन् । अनि महिनावारीको बेला नालेमा बस्न थालेको बताइन् ।
आफू मात्रै नभएर छोरीलाई समेत महिनावारीका बेला गोठमा बस्न नदिएकी मन्सरा आफै नालेमा बस्न थालेपछि छिमेकीसमेत देवताको त्रासमा नालेमा बस्न थालेका छन् ।

दुई वर्षअघि मन्सराकी सासूको मृत्यु भयोे । अहिले ससुरा बिरामी छन् । धामीलाई देखाउँदा देउता रिसाएर सासूको मृत्यु भएको र ससुरा बिरामी भएको भनेपछि आफूले महिनावारी बार्न थालेको उनले महिला खबरलाई बताइन् ।

६ वर्ष पहिले सम विकास नेपालले साविकको षोडसादेवी गाविसको ६ र ८ वडालाई छाउपडी गोठमुक्त घोषणा गरेको थियो । गाउँमा बनाइएका छाउ गोठ पनि भत्काएको थियो ।

तर अहिले महिलाहरू फेरि अलग्गै बस्न थालेका छन् । कोही घरसँगैको नालेमा बस्छन् त कोही घरभित्रै केही नछोएर अलग्गै बस्छन् । यद्यपि गाउँका सबै गोठहरू भत्काइएका कारण गोठ भने निर्माण गरिएका छैनन् ।

सोहि ठाउँकी रामदेवी खड्का पनि लामो समयदेखि महिनावारी हुँदा घर भित्रै बस्ने गर्थिन् । अहिले उनी पनि महिनावारी हुँदा अलग बस्न थालेकी छिन् । मन्सरा र रामदेवी महिनावारी नबार्ने गाउँका उदाहरण थिए । उनीहरूले महिनावारी नबार्ने भएकोले गाउँलेले धारामा समेत गहुँत छर्केर पानी भर्थे ।
उनीहरू कहिले महिनावारी हुन्छन् भन्ने समेत कसैलाई थाहा हुन्थेन । गाउँका धामी झाँक्री लगायत पाका पुरुषहरू उनीहरू हिँडेको बाटो समेत हिँड्दैनथे ।

अहिले तिनीहरू नै महिनावारी भएको बेला अलग बस्न थालेपछि गाउँका अरु महिला महिनावारीका बेला छुवाछुत बढी गर्न थालेका छन् ।
महिनावारी नबार्ने महिलाहरू नै देवताको डर मान्न थालेपछि छाउपडी कुप्रथा हटाउन समस्या हुन थालेको अछामका सरोकावालाहरू बताउँछन् ।

छाउ भएको बेलामा अरुलाइ छोए, घरभित्रै बसे आगलागी हुन्छ । घरमा बाघ आउँछ । देवता रिसाउँछ भन्ने गलत मान्यताका कारण छाउमुक्त अभियान प्रभावकारी नभएको अधिकारकर्मी बिन्दु रावलले बताइन् । पहिलेको भन्दा आजभोली महिलामा धेरै परिर्वतन आए पनि अझैं सोचे जति परिर्वतन नआएको उनको भनाइ छ ।

राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर छाउ नबार्दा देउता रिसाउने कुरा अन्धविश्वास हो भन्छन् । मान्छे मरेको, बिरामी भएको, गाइवस्तु बिरामी भएको, कुनै दुर्घटना भएको कुरालाई छाउ बार्नु र नबार्नुसँग जोड्नु मुर्खता हो भन्छन् उनी ।

१० स्थानीय तह रहेको अछाममा छाउ प्रथा अन्त्यका लागि लागिपर्ने जनप्रतिनिधीहरूले बताउँदै आएका छन् । पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले छाउ अन्त्यका लागि सक्रिय हुने बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: