-एलिना दुलाल-
यसै साता नेपाली कथानक चलचित्र ‘भोर’ को विशेष शो मैले पनि हेर्ने अवसर पाएँ । नेपालका वरिष्ठ साहित्यकार, कलाकार र राजनीतिक वृतका विशिष्ट व्यक्तित्वको भव्य उपस्थितीले खचाखच हल चलचित्र शुरु भएदेखि अन्त्यसम्म ‘पिन ड्रप साइलेन्स’ थियो । कारण कथाको मार्मिकताले यसरी छोप्यो की, चलचित्रको समय सकिएको पत्तो नै भएन ।
बरिष्ठ साहित्यकार कृष्ण धरावासीको कथा र यादवकुमार भट्राईको निर्देशनमा बनेको चलचित्रमा न त गित चाहियो, न त एक्सन । मात्रै कथावस्तु बगिरहयो निरन्तर…..।
कल्पना गर्दा समेत कहाली लाग्ने नेपालको तराई क्षेत्रमा व्याप्त दाइजो प्रथा र त्यसको परिणामलाई देखाइएको चलचित्रले मानव अधिकारको महायुगमा हामी कहाँ छौ ? भन्ने तस्विर देखाएको छ ।
भनेजति दाइजो माइतीबाट ल्याउन नसक्दा एउटी नारीले भोग्नु परेको कारुणिक कथा हेरिरहँदा यही समाजकी छोरी भएका कारण मैले आँसु थाम्न सकिन । हलमा रहनु भएका अरुको अवस्था पनि मेरो भन्दा फरक त कहाँ थियो र !
तराई क्षेत्रको जनकपुर आसपासको क्षेत्रमा छायांकन गरिएको चलचित्रले तराई क्षेत्रको अनि समग्र देशकै इज्जतमा प्रश्न उठाएको छ । हरेक दिन देवी मानेर पुजिने नारीले यस्तो नारकीय जीवन विताउनु पर्दा हामी कति कृतिम समाजमा बाँचिरहेका छौँ भन्ने आभास हुन्छ ।
अधिकारका नाममा गरिने ठूलाठूला कुराहरूले के वास्तविक पीडितलाई समेटेको छ त ? हामी कता जादैछौं ? के छोरी भएर जन्मिनु पाप हो ? खोइ मानव अधिकार ? नेपाल पक्ष राष्ट्र बनेका २४ मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धिको औचित्य के हो ? यस्ता कैयौँ प्रश्नहरूले चलचित्र हेरिसकेपछि मनको चैन खोसेर लगे ।
एउटी नारीले दाइजोको कारण भोग्नु परेको यातनाबाट कसरी पारिवारिक विखण्डन हुन सक्छ भन्ने उदाहरण चलचित्रले प्रष्ट्याएको छ । त्यसैले दाइजो महिलासँग सम्बन्धित विषय मात्रै हैन, यो मानव अधिकारको विषय हो ।
चलचित्रको कथा सारांश
चलचित्र तराइको ग्रामीण गरिव किसान परिवारमा छोरीको विवाहको प्रसंगबाट शुरु हुन्छ । विवाहको कुरा अघि बढेसँगै दाइजोको मोल मोलाई हुन्छ । यस्तो लाग्छ की त्यहाँ कुनै सामानको बार्गेनिङ चलिरहेको छ । ५ छोरीका पिता ती गरिव किसानले छोरीको सुन्दर भविष्यको सपनादेखि साहुको ऋण लिएर भए पनि रकम जोहो गर्ने निधो गरे ।
विवाहको तिथि, मिति टुङ्गो लगाइन्छ । छोरी विदाइ गर्ने दिन केही रकम दिन्छन् र बाँकी बडो विन्तीपूर्वक पछि दिने सर्तमा निश्चित समयको भाका राखिन्छ । उता दुलही भित्र्याएको केही दिनमा दुलाहा परदेश लाग्छन् । सोही दिनबाट सासूको यातना शुरु हुन्छ । सासू पटकपटक दाइजो पुरा नल्याएको भन्दै कुटपिट समेत गरी छुद्र बचन दिन रात प्रहार गरिरहन्छिन् । त्यसैमा देवरको अर्कै किसिमको यातना ।
शुरुमा बुहारीप्रति केही उद्दार हुन् की जस्तो लाग्ने ससुराको चरित्र त्यतिबेला उदाङ्गो हुन्छ, जब उनी बुहारीको बलात्कार गरी निर्ममतापूर्वक हत्या गर्छन् ।
पारिवारिक पीडालाई विछ्यौनाबाट नियालीरहेकी पीडितकी अपाङ्गता भएकी बहिनीले वकिलको सहायताले मुद्धा दर्ता गरि पिडकलाई कारवाही र मृतक दिदीलाई न्याय दिलाउँछिन् ।
चलचित्रमा पात्रको भुमिका
– चलचित्रको कथा अनुसार सुहाउँदा पात्रहरू र उनीहरूको प्रस्तुती निक्कै प्रशंसयोग्य छ ।
– पीडित युवतीका बुबाको भुमिका निर्वाह गर्ने पात्र नारी प्रति संवेदनशिलनै रहेको पाइए पनि सामाजिक परिवन्धका कारण दाइजोलाई समर्थन गर्नु परेको देखिन्छ । युवतीकी आमाले श्रीमानको निर्णयमा कुनै प्रतिकृया जनाउन सक्दिनन्, जुन आम नेपाली महिलाको विवशता हो । दाइजोलाई चुपचाप स्वीकार गरि छोरी विदाइ गरे पनि कथाको अन्त्य तर्फ पुग्दा सानी छोरीको अपहरण भएपछि मुद्धा फिर्ता लिन चौतर्फि आएको दबाब र श्रीमानको कडा निर्देशनको भने उनी कडासँग विरोध गर्छिन् । बरु आफू समेत ज्यान दिन तयार रहेको भन्दै मुद्धा फिर्ता नलिने निर्णय सुनाउँदै आफ्नी अपाङ्गता भएकी छोरीको पक्षमा उभिन्छिन् । उनको चरित्रले परि आएको खण्डमा नारी कोमल मात्रै होइनन्, कठोर भन्दा कठोर निर्णय समेत लिन सक्छे भन्ने चित्र देखाएको छ । उनले छोरीप्रति गरेको विश्वासले आत्मविश्वास पनि बलियो देखाएको छ ।
-युवतीकी सासूको चरित्र निक्कै घृणा योग्य छ । उनको चरित्रले आफू स्वयम् नारी र छोरीकी आमा भएर पनि बुहारीलाई त्यतिसम्मको यातना दिन कसरी सकेको होला ? भन्ने प्रश्न खडा हुन्छ । आफूलाई थाहा हुँदाहुँदै बुहारीको बलात्कार र त्यसपछि हत्या गर्ने श्रीमानको पक्षमा छिन् उनी । बलात्कारी, हत्यारा ससुराको चरित्रको जति निन्दा गरे पनि कमै हुन्छ ।
– चलचित्रको सुन्दर पक्ष के देखियो भने शारिरीक रुपमा अपाङ्गतामा रहेकी पीडित बहिनीले न्याय पाउँन गरेको संघर्षले तमाम नेपाली छोरीहरूलाई साहस प्रदान गर्छ ।
-हिम्मत गरेर घरबाट निस्किए पछि धेरै असहयोगी भेटिए पनि केही सहयोगी पनि अवश्य भेटिन्छन् । वास्तवमा तिनीहरू भगवानकै रुप हुन् भन्ने आभास पीडित परिवारलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने वकिलले देखाएकी छिन् ।
-न्यायका लागि विभिन्न ठाउँमा चहार्दा एक पुरुष वकिलले मोटो रकम लगानी गर्न सक्ने भए मात्रै केस लड्ने बताएको सुन्दा समाजमा पहुँचवाला पुरुष महिला मुद्धामा उदासिन देखिएका हुन् की भन्ने लाग्छ । तर फेरि एक पुरुषले नै ती महिला वकिलकोमा पुर्याएर उनलाई कन्भीन्स गरेको देख्दा भने सबै महिला र सबै पुरुषको मन एउटै हुन्न भन्ने प्रष्ट पार्छ ।
– युवतीकी नन्दको भूमिका पनि निक्कै महत्वपूर्ण देखियो । अदालतमा उनले आफ्नो बुवाको कुकृत्य र भाउजुले भोगेको यातनाबारे बोल्नुले नयाँ पुस्ताका नारीमा चेतना र आत्मविश्वास बढिरहेको आभास हुन्छ । यसले भोलीको सुन्दर विहानीलाई संकेत गर्दछ ।
खड्कीएको कुरा
समग्रमा चलचित्र अत्यन्तै राम्रो भए पनि केही पक्ष कता कता रित्तो जस्तो महसुस गरियो । केही प्राविधिक त्रुटीहरू सामान्य देखिए, यद्यपि त्यो ठूलो विषय भएन । चलचित्रको अन्त्य चाहिँ अलि खड्कीने विषय बन्यो । न्याय पाए पछि पीडित परिवारको अवस्था के भयो ? र त्यो गाउँले के फरक महसुस गर्यो भन्ने कुराको परिणाम हेर्न आखाँहरू लालाहित नै रहे ।
मुख्य सन्देश
समाजमा व्याप्त कुसंस्कारलाई चिर्नका लागि महिला स्वयंम्ले पाइला चाल्नु पर्छ । सबै भन्दा ठूलो कुरा नारी शिक्षा अनिवार्य गरिनु पर्दछ । र महिलाको आर्थिक सशक्तिरण अनिवार्य सर्त हो । अन्यायको विरुद्धमा लड्ने साहस कोही न कोहीले गर्नै पर्छ ।
अन्त्यमा
अहिले पनि समाजमा छोरी जन्मिदा अध्याँरोे मुख लगाउने धेरै अविभावक छन् । लिङ्ग पहिचान गरि भु्रणमै हत्या गर्ने घृणित कार्य आजको नियति बनेको छ ।
यसको पछाडि तपसिलका अन्य कारणहरू होलान् । तर प्रमुख कारण संस्कारका नाममा समाजमा व्याप्त विकृतिमा आफ्नो सन्तान बलिको बोको बन्नु नपरोस् भन्ने चाहनानै हो ।
त्यसैले संस्कारका नाउँमा व्याप्त यस्ता विकृतिहरूको जरैबाट अन्त्य गर्न सरकार, समाज र व्यक्ति व्यक्तिको तहबाट प्रयास हुन जरुरी छ । ‘भोर’ चलचित्र नेपालका हरेक घरमा पुगोस्, प्रत्येक छोरीले हेरुन, छोरीका अविभावकले हेरुन् । अझ चलचित्रको कथा उनिएको क्षेत्र (तराइ)का बस्ती बस्तीमा हेराइयोस् ।
दाइजो मानव हिंसा हो, यसको जरैदेखि अन्त्य होस् ।
Comment Here!