-महिला खबर-
ललितपुर । बजेट अभावमा बन्द हुन लागेका सेवा केन्द्रहरु सञ्चालनको लागि बजेट विनियोजन गर्न सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ ।
अर्थ मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबीच समन्वय अभावले १७ सेवा केन्द्रको बजेट सबै स्थानीय तहमा गएको थियो ।
१७ वटामा मात्रै जानुपर्ने बजेट अर्थ मन्त्रालयले दामासाहीमा सबै स्थानीय तहलाई विनियोजित गरिदिँदा बजेट अभावले सेवा केन्दहरु बन्द हुने अवस्थामा पुगेको थियो । विभागको सो बजेट अर्थ मन्त्रालयले स्थानीय निकायलाई निशर्त अनुदानमा पठाएको थियो ।
उक्त समाचार महिलाखबर डटकममा प्रकाशित भएपछि बजेट विनियोजन गरिदिन मन्त्रालयले स्थानीय निकायलाई परिपत्र गरेको हो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मातहत १७ जिल्लामा महिला सेवा केन्द्र सञ्चालनमा छन् । केन्द्रमा हिंसा प्रभावित महिलाहरुले आश्रय लिने गरेका छन् ।
सेवा बन्द हुने अवस्थामा पुगेपछि महिला मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले स्थानीय तहबाट बजेट छुट्याउनका लागि सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयलाई पत्र लेखेको थियो ।
सेवा केन्द्रको लागि स्थानीय तहबाट बजेट छुट्टाउने तयारी भएको महिला तथा बालबालिका विभागकी योजना तथा कार्यक्रम शाखा निर्देशक विजयाकुमारी प्रसाइले महिला खबरलाई बताइन । १७ सेवा केन्द्रको वार्षिक बजेट २ करोड ८० लाख रुपैयाँ रहेको छ ।
Comment Here!