-महिला खबर
ललितपुर । नेपालका अदालतहरु मात्रै होइन न्यायिक निकायमा नै पछिल्ला केही वर्षयता सम्बन्ध बिच्छेदका उजुरी बढ्दै गएको देखिन्छ ।
काठमाडौं महानगपालिकाको तथ्याङ्कले पनि उक्त तथ्यको पुष्टि गर्छ । महानगरपालिकाको न्यायिक समितिले हालसम्म आएकामध्ये २७ वटा उजुरीमा सम्बन्ध विच्छेदको लागि जिल्ला अदालतमा सिफारिस गरेको छ ।
सिफारिस गरिएका उजुरी मेलमिलाप हुन नसकेका हुन् । समितिमा अझै ३४ वटा सम्बन्ध विच्छेदका उजुरी चालु अवस्थामा रहेको छ । न्यायिक समितिमा श्रीमान/ श्रीमतीबीचको सम्बन्ध बिच्छेदका साथै लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता उजुरी आउने गरेका छन् ।
समितिमा दैनिक सरदर पाँचदेखि सातवटासम्म उजुरी पर्दछन् । जसमध्ये अधिकांश सम्वन्ध विच्छेदका रहेको न्यायिक समितिका कानून अधिकृत हरिमाया घिमिरेले बताईन् ।
उनका अनुसार सम्बन्ध विच्छेदका अधिककांश उनुरी पुरुषले दिने गरेका छन् । कानून अधिकृत घिमिरेका अनुसार न्यायिक समितिमा आएका उजुरीमा सबैभन्दा बढी पुरुषले उजुरी दिएका हुन् ।
सम्बन्ध विच्छेदका उजुरीमा एक÷दुई जना महिलाले दिएपनि अरु सबै पुरुषको उजुरी आउने गरेको उनले बताइन् ।
‘सम्बन्ध विच्छेदमा विवाद नमिलेर आएका हुन्छन् । हामीले मिलाउने कोशिस गर्ने हो ।’ घिमिरे भन्छिन्, ‘महिलाहरु सम्बन्ध विच्छेद नहोस् भन्ने चाहन्छन् । महिलाको इच्छा भने घरमै बस्न पाउँ, श्रीमानसँगै बस्न पाउँ, लिखित जवाफ र सम्बन्ध कायम होओस् भन्ने हुन्छ ।’
‘सम्बन्ध विच्छेदमा मिलाउने कोसिस गर्छौ’
न्यायिक समितिकी संयोजक उपमेयर हरिप्रभा खड्गी भन्छिन्, ‘न्यायिक समितिमा बसेर काम गर्न सजिलो छैन् । मान्छेलाई न्याय दिने कुरा गाह्रो छ । सम्झाउनु पर्छ । दुई पक्ष हुन्छ । एक पक्ष त सधै चित्त दुखाएरै गएको हुन्छ ।’
समितिमा आएका सम्बन्ध विच्देदका उजुरीमा विवेक पुर्याएर निर्णय गर्ने गरेको खड्की बताउँछिन् । उनी भन्छिन्, ‘सम्बन्ध बिच्छेदको उजुरीमा के कारण छुट्न खोजेका छन्, श्रीमान श्रीमतीलाई सँगै राखेर सम्झाउँछौं । तारिख दिन्छौं । तीन पटकसम्म पनि मिल्न नसकेमा अदालतका लागि सिफारिस गर्छौ ।’
उपप्रमुख खड्गीको संयोजकत्वमा गत असारमा गठन भएको समितिको सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ का दलित महिला सदस्य बबी परियार रहेका छन् । गतवर्ष वैशाखमा स्थानीय तहको निर्वचनपछि मात्र न्यायिक समिति गठन भएको हो ।
Comment Here!