एकै जुनीमा दुई जिन्दगी : चक्रबाट चञ्चला


प्रकाशित मिति :2018-04-30 15:01:41

–कल्पना भट्टराई–

ललितपुर । ३० वर्षअघि मोरङको रंगेली नगरपालिका बबियाविर्ताको एक परिवारमा छोराको जन्म भयो । तीन छोरीपछि जन्मिएको छोरा । आमाबुवा खुसीले उन्मूक्त भए ।

उनीहरुले आफुलाई संसारकै भाग्यमानी ठाने । घरको एक्ला छोरा । सबैको प्यारो । तर, उमेर बढ्दै जाँदा उनलाई भने आफू छोरा होइन झैं लाग्न थाल्यो । केटा प्रति आकर्षित हुन थाले । अन्तस्करणबाट ‘म केटी हुँ’ झैं हुन थाल्यो ।

केटीकै पहिरन र श्रृंगारमा सजिएर हिँड्ने चाहना जाग्थ्यो । तर त्यो चाहना सहजै पुरा हुनेवाला थिएन । साथीहरु सबै केटा थिए । उनीहरु सबै उनलाई छोरा नै ठान्थे । हुन त उनको स्वरुप पनि केटा कै न थियो ।

विस्तारै केटा साथीहरुको सर्कलबाट टाढा हुँदै गए । संगतमा केटीहरु बढ्न थाले । विस्तारै उनी केटीकै शौचालय प्रयोग गर्न थालिन् । आफ्नो पुरुष यौनाङ्ग घाँडो लाग्न थाल्यो उनलाई ।

उनले केटी देखिन धेरै मिहेनत गर्नुपर्‍यो । पहिरन महिलाको लगाए । नाम फेरेर चञ्चला राखे । तर, नागरिकतामा भने नाम चक्र लिम्वु छ । उनी ३० बर्षकी भए । भन्छिन्, ‘नागरिकतामा भएको नामले महिला हुने चाहाना भने परिवर्तन भएन ।’

शरीरलाई महिलाको स्वरुपमा परिवर्तन गर्न उनले उपाय खोज्न थाले । उपाय सुझ्यो परिवार नियोजनको अस्थायी साधनको प्रयोग ।

‘साधन प्रयोग गर्न थालेपछि दाह्रीजुँगा कम आउने, स्तन बढ्ने, हातगोडाका रौं झर्दै जाने र नसा कम देखिन थाल्यो’ उनले भनिन्, ‘अनि मेकअपमा ठाँटिएर हिंडे ।’

तर परिवारको वंश धान्ने छोरो त उनी नै थिए । ‘हुलिया नै परिवर्तन भएपछि परिवारले स्वीकार्ने अवस्था रहेन । विस्तारै घरबाट टाढिन थालें’ उनले भनिन् ।

परिवारबाट टाढिएपनि उनी निलहिरा समाजमा पुगिन् । निलहिरामा आफूजस्तै तेस्रो लिङ्गीहरूसँग भेट भएपछि आत्मविश्वास बढेको उनले बताइन् ।

बाल्यकालमै आमा बुवा गुमाए

१२ वर्ष पुग्दा उनको बुवाको मृत्यु भयो । उनका बुवा भारतीय आर्मी थिए । बुवा वितेको एक महिनापछि आमा पनि बित्नुभयो । चञ्चला भन्छिन्, ‘माया गर्ने मान्छे नै गुमाएँ ।’ आमाबुवाको मुत्यु भएपछि दिदीको रेखदेखमा हुर्किएको बताईन् ।

उमेर बढ्दै गएपछि उनलाई छोरीको जस्तै हुन मन लाग्यो । त्यस्तै बनेर हिँड्दा आफन्तबाट अपमानित हुनुपर्‍यो । उनलाई आफन्त र साथीहरुले ‘छक्का’ उपनामले अपमानित गर्थे । निकै पीडा हुन्थ्यो उनलाई ।

कपाल काट्न भनेपछि क्याम्पस छाडे

चञ्चलालाई पढ्न निकै मन लाग्थ्यो । गाँउकै जनप्रिय माविबाट एसएलसी पास गरिन । २०६६ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि विराटनगर गइन् । बिराटनगरको कोशी क्याम्पसबाट उनले प्लस टु पास गरिन् ।

उनी कक्षा कोठामा केटीको लाइनामा बस्थिन् । केटीकै कपडा लगाएर हिँड्थिन् । उनको कपाल सिल्की र लामो थियो । ‘मेरो हुलिया देखेर क्याम्पसमा पनि सर र साथीहरुले जिस्काउँथे’ उनले भनिन् ।

उनी सोही क्याम्पसमा स्नातक पढ्दै थिईन् । एक दिन क्याम्पस प्रमुखले कपाल काटेर केटा जस्तै बनेर पढ्न आउनु भनेपछि उनी पढ्न जानै छाडिदिइन । उनी भन्छिन्,‘सरको त्यो कुराले मन भित्रै पोल्यो र क्याम्पस जान छाडें ।’

सिडिओले गरे दुर्व्यवहार

आफू तेस्रोलिङ्गी हो भन्ने थाहा पाएपछि उनी निलहिरा समाजमा नामक संस्थामा जोडिन पुगिन् । त्यस संस्थामा जागिर पनि पाइन ।

सन् २००८ बाट उनी निलहिरा समाजमा सामुदायिक स्वयंसेवक भएर काम शुरु गरिन । उनी जागिरकै लागि विराटनगरबाट झापा आइन ।
त्यहाँ पनि सामुदायिक स्वयंसेवक भएर काम गर्दा समाजका व्यक्तिहरुबाट धेरै अपमान र दुर्व्यवहार सहनुपर्‍यो ।

प्रमुख जिल्ला अधिकारीले एउटा कार्यक्रममा तिमिले छातीमा लगाएको कपडा कस्तो रहेछ खोलेर हेर्नुपर्‍यो भनी सबैका सामु अपमानित गरेका थिए । उनी भन्छिन्,‘त्यो कुरा सम्झिँदा अहिले पनि मन पोल्छ ।’

बसमा यात्रा गर्दा र बाटो हिँड्दा पनि यौन दुव्र्यवहारमा पर्ने गरेको उनले सुनाइन् । सन् २००९ मा झापामा जिल्ला संयोजक भएर काम गर्न थालिन् । दमक ५ मा बसोबास गर्दै आएकी उनी तेस्रोलिङ्गीहरुका पुर्वी नेपालकै अगुवा हुन् । उनी अहिले निलहिरा समाजका पूर्वाञ्चल संयोजक छिन् ।

चक्रबाट जब चञ्चला बनिन्

उमेर बढ्दै जाँदा केटी बन्ने चाहाना पनि बढ्दै गयो । केटा भएर केटी जस्तै बनेर हिँड्दा समाजको हाँसोको पात्र बनिन् उनी । पाइलै पिच्छे अपमान सहनु पर्‍यो । त्यसपछि उनलाई आभास भयो तेस्रोलिङ्गी भएर समाजमा बाँच्न निकै कठिन छ ।

‘शल्यक्रिया गरि लिङ्ग परिवर्तन गर्ने निर्णयमा पुगें, उनले भनिन् । अनि परिवार र आफन्तहरुलाई थाहै नदिई सुटुक्क बैंकक गइन् ।
२२ फागुन २०७३ साँझ ५ बजे थाइल्याण्डको राजधानी बैंककमा रहेको प्रतुनामा पोलिक्लिनिकमा पुगिन् । उनी भन्छिन्,—‘शल्यक्रियाबाट लिङ्ग परिवर्तन गर्न गइरहेकी थिएँ, यही चाहनाले मलाई झापाको दमकबाट बैंकक पुर्‍यायो ।’

मानसिक रुपमा उनी महिला थिइन् । तर शरीर पुरुषको । शरीरको पुरुष यौनाङ्गलाई शल्यक्रिया गरि महिलाको यौनाङ्ग राख्नुपर्ने थियो । यो शल्यक्रिया निकै जोखिमपूर्ण हुने र ज्यान जाने सक्ने डाक्टरले उनलाई जानकारी गराइसकेका थिए ।

थप्छिन्, ‘जुनसुकै जोखिम मोलेर पनि अङ्ग परिवर्तन गर्ने निर्णयमा पुगें ।’ एक वर्षअघि पनि बैंककमै छातीको शल्यक्रिया गरी स्तन बढाएकी थिईन् । ‘स्तन शल्यक्रियाले मलाई लिंग परिवर्तन गर्ने आँट दिएको थियो’,उनले भनिन् ।

‘शल्यक्रिया कक्षमा जानु अघि निकै डर लाग्यो’,उनी सम्झिन्छिन्, ‘स्ट्रेचरमा थिएँ, अचानक मनमा अनेक कुरा खेल्न थाल्यो, परिवारका सबैलाई एक एक गर्दै सम्झिएँ । यो सम्झना अन्तिम पनि हुनसक्छ भन्ने लागेर मन भारी भएर आयो ।’

थपिन्, ‘पाँच घण्टापछि होशमा आउँदा चिकित्सकहरूबाट घेरिएकी थिएँ । बल्ल म बाँचेछु भन्ने लाग्यो ।’ शल्यक्रियापछिको केही दिनसम्म उनको रक्तस्राव रोकिएन । शल्यक्रियाको एकसाता जति अस्पतालमै बसिन् । उनी भन्छिन्, ‘दुई सातापछि भने ठिक हुन थाल्यो ।’

एकै जुनीमा दुई जिन्दगी बाँच्न पाउदा आफुलाई भाग्यमानी ठान्छिन् । धेरैका लागि यो सोच्नसम्म नसकिने कुरा हो । लिङ्ग परिवर्तन गराउनमात्रै १७ लाख रुपैयाँ खर्च लागेको उनले बताइन् ।

२९ वर्षको उमेरमा शारिर परिवर्तन गरेर चक्रबाट चञ्चालामा परिवर्तन भईन् । अब समाजले उनलाई चक्र देख्दैन । चञ्चला नै देख्छ । तर, दुःखको कुरा राज्यले अझै चक्रको रुपमा नै चिनेको छ । उनको नागरिकता र राहदानीमा भने पुरुषकै नाम र लिङ्ग छ । शैक्षिक योग्यताका कागजातमा पनि त्यस्तै छ ।

उनी भन्छिन् ‘नागरिकता बनाउँदा तेस्रोलिंगीको फरक पहिचानको कुरै थिएन । अबका तेस्रोलिंगीले फरक पहिचानका आधारमा नागरिकता लिन सक्छन् ।’  अब उनको एउटा मात्रै धोको छ । भन्छिन्, ‘पुर्ण रुपमा महिला बनिसकें । अब महिलाको नामबाटै नागरिकता लिने धोको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: