रक्तअल्पता : तराईका महिलालाई किन ?


प्रकाशित मिति :2018-05-02 16:02:34

–हेमलता जिसी–

सर्लाही । ईश्वरपुर ६, सर्लाहीकी सुनैना साह ३६ वर्षकी भईन् । उनको अनुहार चाउरिएको छ । छालाको रङ्ग फुस्रो छ । गाला र आँखा भित्र गडेका छन् । शारीरिक अवस्था देख्दा लाग्छ, ५० वर्ष पार भइन् ।

सुनैनाका ५ छोराछोरी छन् । सन्तान कति वर्षको फरकमा जन्माउनुपर्छ उनलाई ज्ञान छैन । वर्षैपिच्छे सन्तान जन्माएकी उनको गर्भमा छैटौं सन्तान छ ।

गर्भ जँचाउन स्वास्थ्य चौकी पुगेकी उनलाई डाक्टरले रगतको कमी छ भने । उनको शरीरमा रगत एकदमै कम भएकोले डाक्टरले आमा र बच्चा दुबै जोखिममा रहेको बताए ।

सर्लाहीकै खोरिया– २ की २४ वर्षीया रुपा दास दुई सन्तानकी आमा हुन् । अर्को सन्तान पाउन इच्छा नभएका कारण रुपाले स्वयसेविका कै सल्लाहमा गर्भ निरोधक साधन प्रयोग गरिन् ।

साधन प्रयोग गरेको दुई महिनाबाटै रगत बग्न थाल्यो । गर्भ निरोधक साधन डिपो प्रयोगपछि उनलाई महिनावारी हुँदा सामान्य अवस्थामा भन्दा बढि रगत बग्छ ।

महिनै पिच्छे रगत बग्ने भएपछि जँचाउदा रुपालाई पनि डाक्टरले रक्तअल्पता भएको बताए । स्वास्थ्य मन्त्रालयको सर्वेक्षण अनुसार महिलाले गर्भ निरोधको लागि डिपो, पिल्स, फेमिली मिनी ल्याब जस्ता गर्भ निरोधक साधन प्रयोग गरेको पाईन्छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलामा रक्तअल्पता भएको देखिएको छ । सर्वेक्षणका अनुसार ग्रामीण भेगका ४२.७ र सहरी क्षेत्रमा ३९.६ प्रतिशत महिला रक्तअल्पताबाट पीडित छन् । भने, तराई क्षेत्रका ५१.९, पहाडी क्षेत्रका २८.९ र हिमाली क्षेत्रमा ३५.४ प्रतिशत महिलामा रक्तअल्पता पाईएको छ । सबैभन्दा धेरै प्रदेश नं. २ का ५८ प्रतिशत महिलालाई रक्तअल्पता भएको तथ्याङ्कले देखाउँछ ।

सोही सर्वेक्षण अनुसार ७ वर्ष भित्रको अवधिमा नेपालमा प्रति एक लाख जीवित जन्ममा २ सय ३९ मातृ–मृत्यु भएको पाईएको छ । नेपालमा स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धान अनुसार मातृमृत्युदर मध्ये प्रत्यक्ष रुपमा १० प्रतिशत रक्तअल्पताको कारणले हुन्छ ।

रक्तअल्पता भएका महिलालाई रक्तस्राब हुने सम्भावना बढी हुने भएकाले २० प्रतिशत महिलाको अप्रत्यक्ष रुपमा मृत्यु हुन्छ । विश्व स्वास्थ्य संगठनले कुल जनसंख्यामा २० प्रतिशत भन्दा माथिलाई रक्तअल्पता हुनुलाई जनस्वास्थ्यको प्रमुख समस्या मानेको छ ।

नेपालको तराई क्षेत्रका गर्भवती महिलामा गरिएको अनुसन्धानपछि डा. अरुणा उप्रेतीले प्रकाशन गरेको पुस्तक ‘एक खाना खानु भयो’मा उल्लेख गरिएको छ – तराई क्षेत्रका ८० प्रतिशत महिलामा रक्तअल्पता भएको पाईएको थियो । हिमाली क्षेत्रमा ७७ प्रतिशत र पहाडी क्षेत्रमा ६० प्रतिशत गर्भवतीलाई रक्तअल्पता भएको पाईएको थियो ।

तराईका महिलाहरूमा हुने रक्तअल्पताको अर्को मुख्य कारण जुकाको टोकाइ समेत रहेको उक्त पुस्तकमा पनि उल्लेख छ । जुकाकै टोकाइका कारण रक्तअल्पताले थला परेकी छिन्–ईश्वरपूर ६ की २५ वर्षीया गौरी यादव । ‘पानी नउमाली खाँदा पानीमा भएको जुका शरीरमा जाने रहेछ ।’ गौरीले भनिन्, ‘डाक्टरले जुकाको कारण रगतको कमी भएको भन्नुभएको छ ।’

फोहोर पानीमा विभिन्न प्रकारका जुका हुने र त्यही पानी पिउँदा शरीरमा जुका पर्न सक्छ । जुकाले शरीरमा भएको रगत खाई दिन्छ अनि रक्तअल्पता हुने खतरा हुन्छ । रगत कम भएपछि हातखुट्टा नचल्ने, शरीरले राम्रोसँग काम नगर्ने समस्या भयो । त्यसपछि मात्रै गौरी स्वास्थ्य चौकी पुगेकी थिईन् । आफूलाई जस्तै गाउँका अन्य महिलाहरूमा पनि रगतको कमी देखिएको गौरीले बताईन् ।

आफूमा रक्तअल्पता भए नभएको कुरा महिलाहरूले स्वास्थ्य चौकीमा गर्भवती चेकजाँच गर्ने समयमा मात्र थाहा पाउने गरेका छन् । सुन्दरपूर –७ की ४० वर्षीया विमलादेवीले लामो समयसम्म पाठेघरको दुखाई सहिन् । उनको पाठेघरमा मासु पलाएका कारण महिनावारी भएको बेलामा धेरै नै रगत बग्यो ।

उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सुन्दपुर गईन् । तर, स्वास्थ्य चौकीमा औषधी र उपकरणको अभावका कारण थप उपचारको लागि स्वास्थ्य चौकीले जिल्ला अस्पताल जनकपुर सिफारिस गरेको उनले बताईन् ।

लगातारको रक्तश्रावले विमलादेवीलाई रक्तअल्पता भएको रहेछ । अहिले सरसफाई र नियमित औषधी सेवनले स्वास्थ्यमा क्रमशः सुधार भइरहेको विमलाले बताईन् ।

स्वास्थ्य चौकी सुन्दरपूरकी हेल्थ असिस्टेन्ट ज्योति श्रेष्ठ भन्छिन्, ‘महिलाहरूले कामको चापका कारण आफ्नो स्वास्थ्य उपचार प्रति ध्यान दिँदैनन् । उनले महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन नसकेका कारणले रक्तअल्पता रोगका बारेमा लक्षण पनि स्वास्थ्य चौकीमा आएपछि मात्र थाहा पाउने गरेका बताईन् ।

उनका अनुसार रक्तअल्पताको मुख्य कारण पोषणयुक्त खानाको कमी र जन्मान्तर सम्बन्धी ज्ञानको अभाव नै हो । गाउँमै रक्तअल्पता परीक्षण कै लागि ८ किलोमिटर टाढा सदरमुकाम मलङ्गवा जानु पर्ने भएकोले रोग लाग्ने बित्तिकै महिलाहरू जँचाउन जाँदैनन् । उनीहरू अन्तिम अवस्थामा मात्रै स्वास्थ्य चौकी पुग्ने गरेको उनले बताईन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३-०७४ मा जिल्लामा ७ जना महिलाले प्रसवको समयमा ज्यान गुमाएका छन् । तिमध्ये २ जनाको ज्यान रगतको कमीको कारण गएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका सहायक प्रमुख राम कैलाश राय भन्छन्, ‘केही महिलाहरूमा गर्भनिरोधक साधन प्रयोगको अज्ञानता, जन्मान्तरको कमी र व्यक्तिगत सरसफाईमा ध्यान नदिँदा महिलाहरूमा रक्तअल्पता देखापर्ने गरेको छ ।’

उनी जिल्लामा रक्तअल्पता कम गर्न विशेष कार्यक्रम नभएको बताउँछन् । यद्यपि गर्भवतीलाई आइरन चक्की वितरण तथा पोषणयुक्त खानाबारे जनचेतना भने जनस्वास्थ्यले गर्दै आएको छ ।

रक्तअल्पताको कारण

कान्ति बाल अस्पतालका सिनियर कनसलटेन्ट डा. प्रकाशनिधि तिवारीले रक्तअल्पताको कारण एक मात्रै नहुने बताए । उनका अनुसार रगत आवश्यक मात्रामा बन्न नसक्दा र बढी मात्रामा शरीरबाट रगत बग्नाले पनि रक्तअल्पता हुने गरेको छ ।

त्यसैगरी उनले शरीरमा भएको रगतले राम्रो काम गर्न नसक्ने र रक्तअल्पता भएपछि शरीरको अन्य रोगसँग लड्ने क्षमता समेत ह्रास हुने बताए । गर्भवती महिलामा हेमोग्लोबिनको कमीले गर्भपतन हुने, गर्भको बच्चा रोगी हुने, सानो तौलको शिशु जन्मने हुन सक्छ । त्यसैले चिकित्सकको सल्लाह बिना बजारमा उपलब्ध विभिन्न गर्भनिरोधक प्रयोगले पनि रक्तश्राव भई रक्तअल्पताको शिकार हुने गरेको डाक्टर तिवारी बताए ।

डा. तिवारीका अनुसार रक्तअल्पताका थप कारण निम्न छन् :

– सन्तुलित र पौष्टिक खानाको कमी ।
– शरीरमा रगतको कमी
– बढी मात्रमा रक्तश्राव
– हेमोग्लोबिनको मात्रामा कमी
– खानामा लौहतत्वको कमी ।

कस्तो अवस्थालाई रक्तअल्पता भनिन्छ ?

सामान्यतया महिलामा रगत १२ देखि १५ ग्राम पर डिसेलेटर हुनुपर्छ । रगतमा हेमोग्लोबिनको मात्रा ९ भन्दा कम भए रक्तअल्पताको कारण पत्ता लगाएर उपचार गर्नुपर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मधु श्रेष्ठ बताउँछिन् ।

गर्भवती महिलामा हेमोग्लोबिन ७ भन्दा पनि तल पुगे यसलाई रक्तअल्पताको गम्भीर अवस्था मानिन्छ । अस्पतालमा हेमोग्लोबिनको मात्रा २ मात्र भएका गर्भवती महिला समेत उपचारका लागि आएको उनले बताईन् ।

रक्तअल्पताका लक्षणः

– शरीरमा आलस्यपन आउने, अल्छी लाग्ने, छिटो थकाई लाग्ने
– कमजोरी महसुस हुने, टाउको दुख्ने, रिंगटा लाग्ने,
– स्याँ स्याँ हुने, मुटुको धड्कन बढ्ने
– मुख, ओठ, जिब्रोमा घाउ खटिरा धेरै आउने
– नङ सेतो, सुख्खा हुने
– हातखुट्टा सुनिने, झम्झमाउने
– छाती दुख्ने र अप्ठ्यारो महसुस गर्नु

रक्तअल्पताबाट बच्न के गर्ने ?
– शरीरलाई चाहिने सन्तुलित र पोषणयुक्त खाना खाने ।
– व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
– बेला बेला रगतको परीक्षण गर्ने ।
– लौहतत्व भएको खाना खाने ।

(हेमलता जिसी स्वतन्त्र पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: