ललितपुर । चीनमा ठूला प्राविधिक कम्पनीहरुले रोजगारीको विज्ञापनमा देखिएको लैंगिक विभेदलाई हटाउने प्रतिवद्धता जाहेर गरेका छन् । ह्युमन राइट्स वाच नामक अभियन्ता समूहले यो विभेदबारे आफ्नो प्रतिवेदनमा औंल्याएको थियो ।
कर्मचारी नियुक्ति अभ्यास र प्रक्रियामा लैंगिक विभेद हावी हुँदा कामकाजी महिलाको संख्यामा कमी आएको देखिएको छ, मानव अधिकारवादी संस्थाले जनाएको छ ।
ठूला प्राविधिक संस्थाहरु र सरकारी निकायहरुले ‘पुरुषलाई मात्र’ भन्ने विज्ञापनहरु प्रकाशित गरेका थिए ।
अरु निकायहरुले महिला आकंक्षीहरु ‘सलक्क, चिटिक्क र आकर्षक’ हुनुपर्ने सर्त राखेर आवेदनको मौका दिने गरेका थिए ।
यो प्रतिवेदन सार्वजनिक भएपछि अलिबाबा नामक विश्व प्रसिद्ध ई–वाणिज्य कम्पनीले ‘आफ्ना लैंगिक पद्धतीहरु कडाइका साथ पुनरावलोकन’ गर्ने बताएको छ । यसैगरी टेनसेट नामक कम्पनीले माफी मागेको छ ।
अलिबाबालाई पटकपटक कर्मचारी र कामदार भर्ना अभियानमा लैंगिक समानतालाई नकरात्मक असर पर्ने र महिलाको आत्मसम्मानमा ठेस पुर्याउने खालका शब्दहरु (जस्तै ‘अलिबाबा सुन्दरी’ र ‘भगवती’) महिला सहकर्मीहरुमाथि सामाजिक सञ्जालमा प्रयोग गरेर आवेदकहरुलाई कम्पनीप्रति आकर्षित गर्न खोजेको आरोप लागेको थियो ।
यस्तै प्रकृतिकोे आरोप लागेका अरु ठूला कम्पनीहरु चीनमा लोकप्रिय मेसेन्जर एप वीच्याट संचालन गर्ने टेनसेट, इन्टरनेट कम्पनी बैडु र दूरसंचार कम्पनी हुवावे हुन् । ती उदाहरणहरुले कम्पनीका प्रचलित मूल्य र मान्यताहरुलाई प्रतिनिधित्व नगरेको र रोजगारी आह्वानको सन्दर्भमा भएका कमजोरीहरुलाई सुधारको बाटोमा ल्याइने उनीहरुले बताएका छन् ।
‘चीनमा सन् २०१८ को राष्ट्रिय निजामती सेवाका लागि प्रकाशित विज्ञापनहरुमा प्रत्येक पाँचवटा रोजगारीका विज्ञापनहरु मध्ये करिब एउटामा ‘पुरुषलाई मात्र’ वा ‘पुरुषलाई प्रथमिकता’ भनेर जनाइएको थियो’ ह्युमन राइट्स वाच संस्थाकी चीन निर्देशक सोफी रिजर्डसनले भनिन् ।
‘चिनियाँ अधिकारीहरुले तत्काल प्रचलित कानूनहरुको कार्यान्वन गरेर सरकारी र निजी क्षेत्रका नियुक्ति अभ्यासहरुमा टड्कारो रुपमा महिलामाथि हुने गरेका विभेदहरु रोक्नु आवश्यक छ’ उनले भनिन् ।
उनान्सय पृष्ठको उक्त प्रतिवेदनमा सन् २०१३ देखि २०१८ सम्ममा चीनका विभिन्न वेवसाइटहरु र सामाजिक सञ्चार माध्यममा प्रकाशित ३६ हजार भन्दा धेरै रोजगारीका विज्ञापनहरुको विश्लेषण गरिएको उल्लेख छ ।
साभारः– बीबीसी
Comment Here!