– महिला खबर–
ललितपुर । सहज र सरल तरिकाले रक्सीको बिक्री वितरण बढेपछि अछामका महिलाहरु हिंसामा पर्ने क्रम पनि बढेको छ । जतिसुकै बेला पनि नागरिकले सहजै किन्न र सेवन गर्न पाउने रक्सीका कारण आएको विकृतिको मारमा भने महिला परेका हुन् ।
रक्सी खाएको सुरमा श्रीमानले कुट्पिट गर्दा गएको माघ २८ गते कमलबजार नगरपालिकामा २८ वर्षकी पवित्रा खड्काको ज्यान गयो । श्रीमान केशब खड्का अहिले हत्या अभियोगमा जेलमा छन् ।
२०६९ सालअघिको २४ वर्ष अछाममा रक्सीको विक्री वितरण पूर्ण रुपमा बन्द थियो । तर २०६९ साल चैत्रमा स्थानीय उद्योग वाणिज्य संघले गरेको आन्दोलन पछि रक्सीको खुल्ला विक्री वितरणले मान्यता पायो ।
त्यसयता रक्सीको बिक्री वितरण सहज भयो । आर्थिक वर्ष २०७३\०७४ मा कोष तथा लेखा नियन्त्रण कार्यलय अछामबाट १ हजार १ सय ६९ जनाले मदिरा बिक्रीका लागि इजाजत लिएका थिए । आर्थिक वर्ष २०७४\०७५ को फागुन १५ सम्म १ हजार २ सय ५८ जनाले मदिरा बिक्रीको इजाजत लिएका छन् ।
स्थानीय स्तरमा आयआर्जनको मुख्य पेशा रक्सी बन्न थालेको कोष तथा लेखा नियन्त्रण कार्यलय अछामको तथ्यांकबाट देखिन्छ । घरेलु उद्योग अन्तर्गत अहिलेसम्म ८ सय ३५ उद्योगले रक्सी उत्पादनको लागि इजाजत लिएका छन् ।
वर्षेनी बढ्दै गएको रक्सीको उत्पादन र बिक्री पछि रक्सी सेवन गर्ने पुरुषको संख्या पनि बढ्दै गएको छ । जसका कारण महिलाहरु श्रीमान्, छिमेकी वा नातेदारबाटै कुटपिटमा परेका छन् ।
हामीले यसपटकको समकोणमा अछाममा बढ्दै गएको रक्सीको बिक्री वितरणका कारण बढ्दै गएको महिला हिंसाका विषयमा छलफल गरेका छौँ ।
कार्यक्रममा प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी, साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर र पञ्चदेवल नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने मुख्य वक्ता रहेका छन् ।
आज शुक्रबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम समकोणको प्रोमो यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
Comment Here!