छोरा नजन्माएकाे निहुँमा श्रीमानबाट हँसिया प्रहार
न्याय माग्न जाँदा प्रहरी गर्छ मिलापत्र
ललितपुर । छोरा नजन्माएको निहुँमा श्रीमान्ले हँसिया प्रहार गरि घाइते बनाएकी महिलालाई न्याय दिनुको सट्टा प्रहरीले मिलापत्र गरि पठाएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिका ७, जुफालका कुमार शाहीले श्रीमती बिसरा रोकायालाई छोरा नजन्माएको आरोप लगाएर हँसियाले हानेका थिए । बैशाख २१ गते घाइते भएपछि न्याय पाउँ भनी रोकायले इलाका प्रहरी कार्यालय जुफालमा उजुरी गरेकी थिईन् ।
तर, प्रहरीले न्यायिक प्रकृयामा लैजानुको सट्टा वडा अध्यक्ष डिलकम शाहीको रोहबारमा मिलापत्र गरि घरमा नै पठाएको हो । पहिलो सन्तान छोरी जन्माएकी बिसराले ६ महिना अघि दोस्रो सन्तान पनि छोरी जन्माएपछि श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । दोस्रो सन्तानको रुपमा महिना नपुग्दै मृत छोरी जन्मिएकी थिईन् ।
दुई सन्तान जन्माउँदा पनि छोरो नजन्मेको भन्दै उनका श्रीमान कुमार शाहीले हँसियाले हानेका हुन् । श्रीमानले प्रहार गरेको हँसियाबाट बिसराको आँखा, टाउको, निधारमा चोट लागेको छ ।
श्रीमानकोे कुटपिटबाट बेहोस भएकी रोकायको जुफाल स्थित मेडिकलमा उपचार पश्चात होस खुलेको डोल्पाका पत्रकार टेक शाहीले बताए । दाँया आँखामा लागेको घाउमा तीनवटा टाँका लगाईएको छ ।
उता प्रहरी चौकी जुफालका असइ चन्द्रबहादुर शाहीले श्रीमान श्रीमती दुबैको सहमतिमा घटना मिलापत्र गरेको बताए । भन्छन, ‘वडा अध्यक्ष घरपरिवार सबै प्रहरी कार्यलयमै आएर मिलापत्र गराउनु पर्छ भनेपछि घटनाको मिलापत्र गरेको हो । श्रीमानले पनि आईन्दा नपिट्ने भन्दै दुबैले मिल्छु भनेपछि हामीले मिलापत्र गराएका हौँ ।’
Comment Here!