सस्तोमा प्याड पाउन सकिदैन सरकार !


प्रकाशित मिति :2018-05-09 13:53:53

–सन्दिप वि.क–

ललितपुर । आफू महिनावारी पीडित महिला भन्दै केही दिनअघि नुमा शाहले हेलो सरकारलाई रि टुइट गर्दै आफ्नो समस्या यसरी राखिन् । ‘संक्रमणबाट बच्नका लागि महिनावारीको समयमा गुणस्तरीय स्यानिटरी प्याड अनिवार्य छ ।

यसको मूल्य यती चर्को छ कि, १ पटक महिनावारी हुँदा ३-४ सय रुपैयाँ प्याडमा खर्च हुन्छ ।

के सस्तोमा राम्रो गुणस्तरको प्याडको व्यवस्था गर्न सकिन्न सरकार ?’

उही, महिनावारी पीडित महिला ।

हेलो सरकार !

प्रतिउत्तरमा हेलो सरकारले यो समस्या समाधानका लागि तत्काल आवश्यक अध्ययन गर्ने र सस्तोमा वा निःशुल्क वितरणको व्यवस्थाका लागि आवश्यक कार्य गर्ने भनी स्वास्थ्य र अर्थ मन्त्रालयहरूमा पत्रचार गरेको जानकारी गराएको थियो ।

हुन पनि नेपालमा महिनावारी हुँदा सुरक्षित प्याड उपलब्ध हुन नसक्दा कैयौँ महिला प्रजनन स्वास्थ्य समस्याबाट पीडित छन् ।महिनावारीको समयमा एउटा महिलाको करिब ५ दिन रगत बग्छ । जसको लागि मध्यम तहको स्यानिटरी प्याड प्रयोग गर्दा करिब ४ चार सय मूल्य बराबर प्रत्येक महिना महिलाले पैसा खर्च गर्नुपर्छ । जुन अत्यन्त महँगो हो ।

स्यानिटरी प्याडको चर्को बजार मूल्यका कारण गरिब परिवारका महिलाले आर्थिक अभावका कारण प्याड प्रयोग गर्नबाट समेत वञ्चित हुनुपरेको अवस्था छ ।

यस्तो अवस्थामा भन्सार छुट गर्न सके धेरै महिलाहरूले स्यानिटरी प्याड प्रयोग गर्न सक्ने सरोकारवालाहरू बताउँछन् ।

नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल जनसंख्याको ४६.७९ प्रतिशत प्रजनन् उमेर समूहका महिला छन् । यस उमेर समूहका हरेक महिला मासिक रुपमा महिनावारी हुन्छन् । महिनावारी हुनु प्राकृतिक कुरा हो जुन महिलाको प्रजनन् प्रक्रियासँग जोडिएको हुन्छ ।

‘यो समस्याबारे कहिल्यै सोचेका छौँ’

केही महिनाअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्यानिटरी प्याड सम्बन्धी विचार राख्दै ध्यानाकर्षण गराए । फेसबुक र ट्वीट गर्दै उनले यो समस्याबारे सोच्नुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याडबारे देशको एउटा पूर्व प्रधान मन्त्रीले फेसबूक मार्फत चर्चा गर्दा तपाईंलाई आश्चर्य लाग्ला, रिस उठ्ला । एक छिन पर्खनोस् ।

भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतीय राजनीतिबारे बुझ्ने मनसायले टिभी च्यानल चाहार्दै जाँदा जिन्यूजको एउटा कार्यक्रमले मनमस्तिकमा नराम्रो झट्का दियो । भारतका ४० करोडमध्ये १ सय २५ महिलाले मात्र महिनावारी भएका बेला सुरक्षित स्यानिटरी प्याड प्रयोग गर्दा रहेछन् ।

बाँकी ८ सय ८५ ले फोहोर कपडा, पराल, खरानी आदि प्रयोग गर्दा रहेछन् । जसका कारणले ७ सय ५ लाई विभिन्न यौनजन्य रोग लाग्दोरहेछ । २ सय ४५ किशोरी महिनावारी भएका बेला स्कूल नजाँदा रहेछन् ।

यसका विरूद्ध जनस्तरमा अभियान चलाउने र स्यानिटरी प्याड सर्वसुलभ रूपमा उपलव्ध गराउन सिर्जनात्मक आविष्कार गर्ने १६ जनालाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सम्मान दिइँदैरहेछ । यसै विषयमा केन्द्रीत एउटा फिल्म ‘प्याड म्यान’ पनि बनेको रहेछ ।

के तपाईं हामीले हाम्रो देशमा यो समस्याबारे कहिल्यै सोचेका छौँ ? कहिलेकाहीँ हामी मध्ये र सुदूर–पश्चिमका विकट पहाडी जिल्लामा छाउपडी प्रथाद्वारा महिलाहरूको मृत्यु भएको समाचार सुन्छौं र केही दिन उदासिन हुन्छौं ।

तर गरिबी, अशिक्षा, अन्धविश्वासबाट ग्रसित हाम्रो समाजमा हाम्रा महिलाहरू सुरक्षित स्यानिटरी प्याडको अभावमा कति पीडाबाट गुज्रीरहेका होलान् र अकालमै मरिरहेका होलान् भन्ने कहिल्यै सोचेका छौं ?

अब सोच्न ढिलो र आलटाल नगरौं । क्रान्ति, परिवर्तन, समृद्धि यस्तै ‘झिनामसिना’ र ‘अप्रिय’ कुराबाटै शुरू हुन्छन् भन्ने नभुलौं । आगे जो मर्जी ।’

उनको ट्वीटले सामाजिक सञ्जालमा चर्चा कमाए पनि राज्यको ध्यान भने जान सकेको छैन । नेपालमा पनि कैयौं महिलाहरू गुणस्तरहिन स्यानिटरी प्याड प्रयोग गर्न बाध्य छन् । नेपालमा भने १५ प्रतिशतले मात्रै स्यानिटरी प्याट प्रयोग गर्ने गरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयको सन् २०१२ को सर्वेक्षण अनुसार नेपालमा १० देखि २४ वर्ष उमेर समूहका १५ प्रतिशत किशोरी एवम् महिलाले स्यानिटरी प्याड प्रयोग गर्ने गरेको पाइएको थियो भने ८४ प्रतिशतले कपडा प्रयोग गरेको पाइएको थियो । यस्तै सर्वेक्षणका क्रममा महिनावारीमा सुरक्षित प्याडको प्रयोग नहुँदा महिलाहरूमा विभिन्न रोगहरू, व्याक्टेरीयाहरूको समस्या देखिएको थियो ।

यस्तै यूनिसेफले सन् २०१७ मा गरेको सर्वेक्षण क्रममा नेपालमा हरेक महिना ७० लाख स्यानिटरी प्याड बिक्री हुने गरेका पाइएको थियो । तर नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल जनसंख्याको ४६.७९ प्रतिशत प्रजनन् उमेर समूहका महिलाहरू छन् ।

महिनावारीका बखत रगत निस्किने क्रम ३ देखि ७ दिनसम्म चल्न सक्छ । महिनावारी एक मासिक चक्र हो जुन सामान्यतया २८ दिनको हुने गर्दछ । तर कसै–कसैमा वा कहिलेकाहीँ २१ देखि ३५ दिनको अन्तरमा पनि हुन सक्छ ।

किशोरीहरू किशोरावस्थामा प्रवेश गरेपछि महिनावारी शुरू हुन थाल्छ । शारीरिक विकासक्रममा परिवर्तन हुने हर्मोनहरूको कारणले महिनावारी हुने गर्दछ । सामान्यतः ९ देखि १६ वर्षको उमेर बीच किशोरीहरूमा महिनावारी शुरु भई ४५ देखि ५० वर्ष उमेर भित्रमा सकिन्छ ।

स्त्री रोग विशेषज्ञ डा. मधु श्रेष्ठ भन्छिन्, ‘सुरक्षित प्याड प्रयोग नगर्दा महिलाहरूमा इन्फेक्सन (संक्रमण) हुने गर्दछ । अझ ग्रामीण भेगमा महिलाहरू लामो समयसम्म कपडा परिवर्तन नगर्दा झन् समस्या हुने गर्दछ ।

यसले महिलाहरूमा गन्हाउने पानी बग्ने समस्या हुन्छ । महिनावारीको समयमा नाइनल भन्दा सुतीको कपडा प्रयोग गर्दा राम्रो हुने उनी बताउँछिन् । प्रयोग गर्ने कपडा ३-४ घण्टामा परिवर्तन गर्न समेत उनी सुझाब दिन्छिन् ।

अर्थ मन्त्रालयसँग समन्वय गर्दैछौ : स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल 

                  पद्मा अर्याल 

मन्त्रालयले महिलाहरूलाई सुरक्षित प्याड सर्वसुलभ उपलव्ध गराउन के गर्दैछ ?
यसलाई नयाँ कार्यक्रममा समावेश गर्न छलफल गरेका छौँ । सकिन्छ भने हामी आफैले उत्पादन गर्ने भन्ने पनि छ ।

आर्थिक अभावकै कारण स्यानिटरी प्याड प्रयोग गर्न नसक्ने धेरै महिला छन् नि ?

नेपालमै गुणस्तरीय प्याड बनाउने भन्ने कि भन्ने पनि छ । प्लाष्टिकको प्याड फोहोर व्यवस्थापमा समस्या हुने गरेको भन्ने गुनासो छ । त्यसले गर्दा प्लाष्टिकको भन्दा कपडाको धेरै पटक प्रयोग गर्न सकिने, सस्तोमा उपलब्ध गराउन सकिने भएका कारण त्यसमा प्राथमिकता दिन खोजेका छौँ । प्याड उत्पादन गर्ने जुन संस्था छ, त्यससँग छलफल गरिराखेका छौँ ।

मन्त्रालयको योजनामा सुरक्षित प्याडका विषयमा कुनै योजना परेको छैन ?

स्वास्थ्य मन्त्रालयले बनाएको छैन । बनायो भने महिला मन्त्रालयले बनाउने हो ।

भन्सारमा छुट गर्दा धेरै महिलाले सर्वसुलभ प्याड उपलब्ध गराउन सक्छन् भन्ने छ । अर्थमन्त्रालयसँग समन्वय गर्नुभएको छैन ?

कर छुटका लागि हामीले माग गरेका छौँ । हामी निर्णय गरी चिट्ठी बनाउँदैछौं । व्यक्तिगत रुपमा हाम्रा कुराहरू भइराखेको छ । मन्त्रीसँग, सचिव स्तरमा हामीले कुरा गरिराखेका छौँ । लिखित रुपमा अनुरोध गर्ने कुरा हामी गर्दैछाै‌ । अहिले अर्थमन्त्रालयसँग कुरा भइरहेको छ । कार्यान्वय हुन्छ । यो विषयमा अर्थमन्त्रालय पोजेटिभ छ ।

अहिल्यै भन्न सक्ने स्थिति छैन  : अर्थमन्त्रालय
अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव किशोरजंग कार्की भन्छन्, ‘स्यानिटरी प्याडको सहुलियतका विषयमा अहिले भन्न सक्ने अवस्था छैन । अहिले बजेटका विषयमा सरोकारवालासँग सुझाव लिने र छलफल गर्ने काम भइरहेको छ ।’
सहुलियत घटाउने, बढाउने भन्ने विषयमा माग आए त्यस विषयमा छलफल गर्न सकिने कार्कीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: