चेपाङ समुदायमा बालविवाह: १३ वर्षमै बिहे, ४२ मा वृद्ध


प्रकाशित मिति :2018-05-10 10:20:21

-प्रताप विष्ट-

हेटौंडा — १७ वर्षमात्र टेकेकी राक्सिराङ ७ काँकडाकी सेतीमाया चेपाङ पाँचौं बच्चाकी आमा बन्ने तर्खरमा छिन् । एक वर्षदेखि साढे ३ वर्षसम्मका २ छोरा र २ छोरी दुब्ला, पातला र अर्धनग्न अवस्थामा छन् ।

उमेरले किशोरी तर २५–३० वर्षको जस्तो देखिने उनको अनुहारमा रगत छैन । ६ महिनाकी गर्भवती उनी दुब्लाउँदै गएकी छन्, ठमठमी हिँड्न पनि नसक्ने अवस्था छ।

१३ वर्षको उमेरमा गाउँकै १५ वर्षीय शिवमान चेपाङसँग बाबुआमाले उनलाई ४ वर्षअघि विवाह गरिदिएका थिए । विवाह गरेको १० महिनापछि बच्चा जन्माउन सुरु गरेकी थिइन् । बालिकाबाट किशोरी हुन नपाई आमा बन्न पुगेकी सेतीमायाको काखमा अहिले पौष्टिक आहार खान नपाएर सुकेनाश लागेको ११ महिनाको छोरा छ । उता डेढ वर्षकी छोरी र काखको छोरा आमाका दुवैतिरका स्तनमा मुख लगाएर दूध चुस्ने गर्छन् । ओठमा हाँसो पनि नभएकी सिन्काझैं सुकेकी सेतीमाया आफ्नो कुरा खुलस्तसँग भन्न पनि लजाउँछिन् । उनको १९ वर्षीय पतिका अधिकांश दिन कन्दमूल खोज्न जंगलमा बित्ने गर्छन् । खोरिया बारीमा उत्पादन भएको मकै र कोदोले २ महिना पनि उनको परिवारलाई खान पुग्दैन । जंगली कन्दमूलमा नै उनीहरूको जीवन धानिएको छ । उनका कुनै पनि बच्चा स्कुल जाँदैनन् । सेतीमायाले लजाउँदै भनिन्, ‘बाबुआमाले चाँडै नै विवाह गरिदिएपछि जानु परिगो, चाँडै विवाह गरेपछि बच्चा धेरै जन्मिन्छन् ।’

राक्सिराङ गाउँपालिका–६ की वृषामाया चेपाङ पनि १५ वर्षको उमेरमै २ बच्चाकी आमा बनेकी छन् । १३ वर्षको उमेरमा उनले छिमेकी १४ वर्षको किशोरसँग भागी विवाह गरेकी थिइन् । स्थानीय स्कुलमा चार कक्षामा पढ्दापढ्दै मन परेको केटासँग विवाह गरिन् उनले । बाबु आमाले अर्कैै केटासँग विवाह गरिदिन लागेको थाहा पाएर मन परेको केटासँग भागी विवाह गरेको उनले बताइन् । अधिकांश चेपाङ समुदाय बसोबास गर्ने कैलाश गाउँपालिकाको भार्ता डाँडागाउँका १५ वर्षीया राममाया चेपाङ र १६ वर्षीय रामकृष्ण चेपाङले मंसिर १ गते हैसियतअनुसार मागी विवाह गरे । उक्त विवाहमा गाउँका अगुवाका रूपमा चिनिने शिक्षक र राजनीतिक दलका नेताहरू नै सहभागी थिए । त्यति मात्र होइन, भार्ताकै धनीराङका १४ वर्षीया सुन्तली चेपाङ र १५ वर्षीय एकराज चेपाङले परम्पराअनुसार नै बालविवाह गरे । यसैगरी भार्ता रतुवाका १३ वर्षीया सनीमाया चेपाङको १५ वर्षीय सोमबहादुर चेपाङसँग मंसिर २ गते विवाह भयो । ‘यो वर्ष भार्ताको १० जोडीभन्दा बढीको बालविवाह भयो,’ स्थानीयवासी महेश चेपाङले भने । मंसिरदेखि फागुनको अन्तिमसम्ममा चेपाङ समुदायले बिहे गर्ने गर्छन् । उक्त गाउँमा बालिकाहरूको १२ वर्षदेखि १५ वर्ष उमेरसम्ममा विवाह हुने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले चेपाङ महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी गरेको अध्ययन प्रतिवेदनअनुसार जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने भार्तामा ८६ प्रतिशत बालिकाको १२ वर्षदेखि १५ वर्षसम्म विवाह हुने गरेको छ । अधिकांश बालिकाहरूले १३ वर्षदेखि नै बच्चा जन्माउन सुरु गर्छन् । मकवानपुरको काँकडा र भार्ता मात्र होइन बालविवाह प्रथा राक्सिराङ, कालिकाटार, काँकडा, खैराङ, डाँडाखर्क र सरिखेतमा पनि कायमै छ । बालविवाह प्रथा चेपाङ समुदायमा बाक्लो छ । राक्सिराङको खैराङमा मात्र गत वर्ष १५ जोडी चेपाङ बालबालिकाको विवाह भएको थियो ।

‘उमेर नपुगीकन विवाह गर्नु हुँदैन भनेर अभिभावकलाई सम्झाउँदा पनि लुकीलुकी विवाह गराउँछन्,’ राक्सिराङ गाउँपालिका ९ खैराङका वडाध्यक्ष रामकुमार थिङले भने, ‘अशिक्षाका कारणले चेपाङ समुदायमा बालविवाह प्रथा अझै कायम छ ।’

‘छोराको चाँडै विवाह गर्‍यो भने बुहारीको काम खान पाइने र छोरालाई मजदुरी गराउन अन्यत्र पठाउन पाउने भएकाले चाँडै विवाह गर्ने गरिएको भार्ता धनीराङका ६६ वर्षीय आइतराम चेपाङ बताउँछन्। उनले भने, ‘घर नजिकको केटा उम्केला भनेर छोरीको चाँडै बिहे गर्ने चलन छ ।’ खैराङ अठारेस्थित माविका प्रअ दीपेन्द्र झाका अनुसार ४/५ कक्षामा पढ्दापढ्दै विवाह गर्ने चलन यहाँ व्याप्त छ। चेपाङ समुदायमा बालविवाह गर्ने चलन नियन्त्रण हुन सकेको छैन । विवाह गरेपछि उनीहरू पढ्न पनि स्कुल आउँदैनन् ।

२० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने कानुनका बारेमा चेपाङ समुदायलाई थाहा छैन । सरकारी तथा गैरसरकारी संस्थाहरूले मकवानपुरका चेपाङ क्षेत्रमा बालविवाह विरुद्ध जनचेतनामूलक कार्यक्रम पनि चलाएका छैनन् । ‘सहर र बजार वरिपरिका क्षेत्रमा मात्र बालविवाहका विरुद्धमा सरकारी तथा गैरसरकारी कार्यालयले आफ्नो कार्यक्रमलाई सीमित राखेकाले बालविवाह प्रथा नियन्त्रण हुन नसकेको हो,’ चेपाङ संघका पूर्वसचिव महेश चेपाङले भने, ‘गैरसरकारी संस्थाहरूले चेपाङ क्षेत्रलाई आफ्नो कार्य क्षेत्र बनाउनुपर्‍यो ।’

सानै उमेरमा विवाह गर्‍यो भने छोरी रोगी हुन्छे भन्ने ज्ञान पनि उनीहरूमा छैन । बर्सेनि मकवानपुरका चेपाङ समुदायमा सयभन्दा बढी जोडीको बालविवाह हुने गर्छ तर प्रहरीमा कसैको विरुद्धमा उजुरी परेको छैन । बालविवाह गर्ने/गराउने र जन्ती जानेहरूलाई हालसम्म पनि मकवानपुरमा कारबाही गरेको घटना सार्वजनिक भएको छैन । ‘बालविवाहविरुद्ध प्रहरीमा उजुरी नपरेकाले कारबाही नभएको हो,’ प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दिलीपराज झाले भने, ‘उजुरी पर्नेबित्तिकै कानुनविपरीत कार्य गर्नेहरूलाई कारबाही गरिन्छ ।’ सञ्चारको पहुँच, आधुनिकता र परम्परागत चिन्तनका कारणले बालविवाह हुने गरेको छ ।

मोबाइलले बालविवाह
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा विगतमा खासै बालविवाह हुँदैनथ्यो। अहिले मोबाइलका कारणले गर्दा बालविवाह हुने गरेको स्थानीयको अनुभव छ । ‘मोबाइलको टावरसँगै फाखेलमा बालविवाह बढ्यो,’ स्थानीयवासी धनबहादुर तामाङले भने, ‘टावर हटयो भने बालविवाह हट्छ नत्र हट्दैन ।’ मोबाइलमा कुरा गरेर बालबालिकाहरू भागी विवाह गर्ने गरेका छन् । गत वर्ष फाखेलमा ७ जोडीको बालविवाह भएको छ ।

कानुनी व्यवस्था
मुलुकी ऐनअनुसार १० वर्षमुनिका बालबालिकाको विवाह गरेमा ६ महिनादेखि ३ वर्षसम्म कैद गर्ने कानुनी व्यवस्था छ भने १० वर्षदेखि १३ वर्षसम्म विवाह गरेमा ३ महिनासम्म कैद र ५ हजार जरिवानाको व्यवस्था छ । त्यसैगरी १४ वर्षदेखि १७ वर्षसम्म विवाह गरेमा ६ महिना कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । ‘पुरोहित, लमी र जन्ती समेतलाई १ महिनासम्म कैद र एक हजार रुपैयाँ जरिवाना गर्न सक्ने कानुनी प्रावधान छ,’ अधिवक्ता ईश्वर ढकालले भने । बालविवाहविरुद्ध प्रहरीमा उजुरी नै नपरेका कारणले बालविवाह गर्नेहरू कानुनको दायरामा आउन सकेका छैनन् ।

चेपाङ जातिमा रहेको बालविवाह, परिवार नियोजनको बारेमा भ्रम, प्रजनन स्वास्थ्यका बारेमा अनभिज्ञता, अनिच्छामा गर्भधारण र सरसरफाइ तथा स्वास्थ्यसम्बन्धी ज्ञानको अभाव तथा खाद्य असुरक्षाका कारण महिला र बालबालिकाको अवस्था अत्यन्त नाजुक रहेको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीले जनाएको छ ।

चेपाङ समुदायका महिलाको सरदर आयु ४५ वर्ष मात्र छ । चेपाङ गाउँमा ५० वर्ष पुगेका महिलाहरूको संख्या अत्यन्त न्यून छ । विभिन्न रोगका कारण ४०, ४२ वर्षकै उमेरमा वृद्धा भएर मर्ने गरेका छन् । ‘विशेष गरी चेपाङ समुदायमा रहेको बालविवाह सामाजिक समस्या हो,’ समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साहले भने, ‘बालविवाहलाई निरुत्साहित गर्न समाजका सबै पक्ष सक्रिय र सजग हुन जरुरी छ ।’

साभार : कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: