–महिला खबर–
ललितपुर । अशिक्षित आमाले जन्माएका बच्चाहरुमा बढी रक्तअल्पता हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा यस्तो तथ्य पाइएको हो ।
सर्वेक्षणका क्रममा ६ देखि ५९ महिनाका बालबालिकाहरु र १५–४९ बर्षका महिलाहरुको रक्तअल्पता परीक्षण गरिएको थियो । नेपालमा ६–५९ महिनाका आधा भन्दा बढी (५३ प्रतिशत) बालबालिकाहरुमा रक्तअल्पता भएको पाईएको छ । ग्रामीण क्षेत्रका बालबालिका (५६प्रतिशत) तथा शिक्षा हासिल नगरेका आमाहरुको बच्चाहरुमा (५७ प्रतिशत) रक्तअल्पता बढी भएको पाईएको थियो ।
बालबालिकाहरुमा रक्तअल्पताको स्थिति प्रदेश अनुसार हेर्दा, सबै भन्दा कम (४३ प्रतिशत) प्रदेश ३ मा रहेको देखिन्छ भने सबैभन्दा बढी (५९प्रतिशत) प्रदेश २ मा देखिएको छ ।
सन् २०११ यता बालबालिकाहरुमा रक्तअल्पताको दर वृद्धि भएर हाल ४६ प्रतिशत पुग्न गएको छ । नेपालमा १५–४९ वर्षका दशमध्ये चार महिलामा रक्तअल्पता भएको पाईएको छ ।
प्रदेश ४ मा सबैभन्दा कम (२८ प्रतिशत) महिलाहरुमा मात्र रक्तअल्पता देखिएको छ भने प्रदेश २ मा ५८ प्रतिशत महिलाहरुमा रक्तअल्पता भएको पाईएको छ । २००६ को तुलनामा महिलाहरुमा रक्तअल्पता ३६ प्रतिशतबाट बढेर २०१६ मा ४१ प्रतिशतमा पुगेको छ ।
रक्तअल्पतालाई एक प्रकारको रोगको लक्षणको रुपमा लिइन्छ । यो लक्षणमा रगतद्वारा अक्सिजन बोक्न सक्ने क्षमतामा ह्रास हुन्छ । रक्तअल्पता साधारण रगतको कमी भन्ने बुझिन्छ ।
रक्तअल्पता हुँदा थकान या कमजोरी अनुभव गर्ने, छाला, आँखा, नङ र हातहरु पहेलो हुने, रिङ्गटा लाग्नु या बेहोश हुने, स्याँ स्याँ हुनु वा छाती दुख्ने, मुटुको धडकनहरू तिब्र हुने, बच्चाहरूको सुस्त विकास हुने लगायतको लक्षण देखिने स्वास्थ्यकर्मीहरु बताउँछन् । रक्तअल्पता भएमा हरियो सागपात, माछा, मासुु, अण्डा, दुध सेवन गर्न स्वास्थ्यकर्मीहरु सुझाव दिन्छन् ।
Comment Here!