–महिला खबर–
बाँके । बाँकेको नेपालगञ्जमा जबरजस्ती करणीका घट्ना बढ्दै गएपछि रोकथामका लागि अभियान चलाइने भएको छ । दिनहँु बलात्कारका घटना बढ्दै गएको र पीडितले न्याय पाउन नसकेका कुरा सार्वजनिक हुन थाले पछि प्रहरीको पहलमा सरोकारवालाहरुले अभियान थाल्ने भएका हुन् ।
जिल्लामा जवरजस्ती करणीका घटना बढ्दै गएको र पीडितले न्याय नपाएको जिल्ला समन्वय समितीका संयोजक अजय श्रीवास्तबले बताए ।
‘जनप्रतिनिधीकै संलग्नतामा बलात्कारका घटना मिलापत्र गरेको खबर आइरहेकाले यस्ता गलत क्रियाकलाप रोक्नका लागि अभियान नै सञ्चालन गर्न लागेका हौँ’ श्रीवास्तबले भने ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहले छोरीहरु आाफ्नै घरमा असुरक्षित रहेको बताइन् । बुबाबाटै छोरी बलात्कृत हुनुपर्ने बाध्यता भएकाले जनचेतनाको लागि यो अभियान शुरु गर्नु परेको उनको भनाइ छ ।
प्रहरी उपरीक्षक टेकबहादुर तामाङले अभिभावकबाटै हुने बलात्कारका घटनाले प्रहरीलाई थप चुनौती दिएको बताए ।
उनले पीडितले बयान फेरिदिए पछि प्रहरी समस्यामा पर्ने गरेको भन्दै पीडितलाई बयान नफेर्न अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीय तह तथा संघ संस्थाको समन्वयमा एक महिने अभियान सञ्चालन गर्न लागेको हो । अभियान बैशाख ३० देखि जेठ ३० गतेसम्म सञ्चालन गरिने बाँके प्रहरीले जनाएको छ ।
अभियानमा बाल क्लव, किशोरी सञ्जाल विद्यार्थीलाई परिचालन गरिने छ । अभियानमा बलात्कार विरुद्ध पर्चा, पम्प्लेट वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम संचलन गरिने छ ।
Comment Here!